मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

पहिलो पटक ५० ओभरमा खेलाइएको भारत र पाकिस्तानमा आयोजित चौथो विश्वकप

सोमबार, १५ असोज २०८०, १५ : २५
सोमबार, १५ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको चौथो संस्करणले धेरै अर्थमा नयाँपन ल्याएको थियो । पहिलो पटक एकदिवसीय विश्वकप एसियाली महादेशमा आयोजना भएको थियो । भारत र पाकिस्तानले विश्वकपको यो संस्करण संयुक्त रुपमा आयोजना गरेका थिए । 

विश्वकपको चौथो संस्करण सन् १९८७ को अक्टोबर ८ देखि नोभेम्बर ८ तारिखसम्म आयोजना भएको थियो । यसअघिको विश्वकप प्रुडेसिन्यल इन्सोरेन्सले प्रायोजन गर्दै आएको थियो । चौथो संस्करण भने रिलायन्स कम्पनीले मुख्य प्रायोजन गरेको थियो ।

त्यसैले विश्वकपको चौथो संस्करणलाई ‘रिलायन्स कप—८७’ नाम दिइएको थियो । विश्वकपको चौथो संस्करणमा पनि आठवटा टोलीले नै सहभागिता जनाएका थिए । यसअघिको विश्वकप ६० ओभरमा खेलाइँदै आएकोमा चौथो संस्करण भने ५०—५० ओभरमा खेलाइएको थियो ।

त्यसैलाई निरन्तरता दिँदै अहिलेसम्म पनि एकदिवसीय प्रतियोगिता ५० ओभरमै खेलाइन्छ । विश्वकपको चौथो संस्करण आयोजना हुँदा क्रिकेटको नेतृत्वदायी निकायको नाम परिवर्तन गरेर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) राखिसकिएको थियो । 

चौथो संस्करणमा आयोजक भारत र पाकिस्तानका अतिरिक्त इङ्ल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, श्रीलङ्का, वेस्ट इन्डिज र जिम्बाबेले भाग लिएका थिए । प्रतियोगिता खेलहरू भारतका १४ र पाकिस्तानका सातवटा रंगशालामा खेलाइएको थियो ।

Geoff-Marsh-Steve-Waugh-and-Allan-Border-celebrate-Australia-s-final-win

प्रतियोगिताका सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड र जिम्बाबे रहेका थिए । समूह ‘बी’ मा भने पाकिस्तान, इङ्ल्यान्ड, वेस्ट इन्डिज र श्रीलङ्का परेका थिए । 

आफ्नो समूहका टोलीले लिग चरणमा एकअर्कासँग दुई—दुई खेल खेलेका थिए । त्यसपछि अंक तालिकाको सबैभन्दा माथि रहने दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुगेका थिए । समूह ‘ए’ बाट २० अंकसहित भारत पहिलो र समान अंक भएको अस्ट्रेलिया दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेका थिए ।

यसैगरी समूह ‘बी’ बाट भने २० अंकसहित पाकिस्तान पहिलो र १६ अंकसहित इङ्ल्यान्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई १८ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । अर्को सेमिफाइनलमा इङ्ल्यान्डले भारतलाई ३५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । 

Allan-Border-became-the-first-Australian-captain-to-lift-the-trophy

प्रतियोगिताको फाइनलमा भने अस्ट्रेलियाले इङ्ल्यान्डमाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो । प्रतियोगिताको फाइनल खेल भारतको कोलकातास्थित इडेन गार्डेन्स क्रिकेट स्टेडियममा खेलिएको थियो । अस्ट्रेलियाले पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । 

उक्त विश्वकपमा कुल २७ वटा खेल खेलिएको थियो । इङ्ल्यान्डका ग्राहम गुच सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले आठ खेल खेल्दै कुल चार सय ७१ रन बनाएका थिए । दोस्रो स्थानमा रहेको अस्ट्रेलियाका डेविड बुनले आठ खेलमा चार सय ४७ रन बनाएका थिए ।

David-Boon-top-scored-for-Australia-in-the-final-with-75

यसैगरी तेस्रो स्थानमा रहेका अस्ट्रेलियाका जियोफ मार्सले आठ खेलमा कुल चार सय २८ रन बनाएका थिए । चौथो स्थानमा रहेको वेस्ट इन्डिजका भीम रिचर्डसले कुल तीन सय ९१ रन बनाएका थिए । पाँचौँ स्थानमा आसिन इङ्ल्यान्डका माइक गेटिङले तीन सय ५४ रन जोडेका थिए ।

यसैगरी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा अस्ट्रेलियाका क्रेग म्याकडर्मोट पहिलो स्थानमा थिए । उनले प्रतियोगिता अवधिभर कुल १८ विकेट लिएका थिए । पाकिस्तानका इमरान खान १७ विकेटसहित दोस्रो स्थानमा थिए । वेस्ट इन्डिजका प्याट्रिक पाटर्सन १४ विकेटसहित तेस्रो, भारतका मनिन्दर सिंह १४ विकेटसहित चौथो र इङ्ल्यान्डका एडी हेमिङ्स १३ विकेटसहित पाँचौँ स्थानमा रहेका थिए ।

यही विश्वकपमा कुनै पनि बलरले पहिलो पटक ह्याट्रिक विकेट लिएका थिए । उनी थिए, भारतका चेतन शर्मा । उनले समूहगत चरणको न्युजिल्यान्डविरुद्धको खेलमा लगातार तीन विकेट हात पारेका थिए । उनले न्युजिल्यान्डका केन रुथरफोर्ड, इयान स्मिथ र एवेन च्याटफिल्डको विकेट लिएका थिए । उनले ४२औँ ओभरको लगातार तीन बलमा विकेट लिएका थिए ।

यो विश्वकपमा सहभागी राष्ट्रमध्ये सातवटा राष्ट्रलाई आईसीसीले टेस्ट मान्यता प्रदान गरेको थिए । त्यसैले ती राष्ट्र स्वतः विश्वकपमा छनोट भएका थिए । जिम्बाबे भने सन् १९८६ को आईसीसी ट्रफी विजेताका रुपमा विश्वकपमा सहभागी भएको थियो । जिम्बाबेले आईसीसी ट्रफीको फाइनलमा नेदरल्याण्ड्सलाई हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप