मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पकेट क्षेत्रको मोडल अपनाउने सरकारको तयारी छ : मुख्यमन्त्री जम्कट्टेल

सोमबार, १५ असोज २०८०, १९ : ४५
सोमबार, १५ असोज २०८०

हटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारले आफ्नो काम कारबाहीलाई फरक शैलीबाट अघि बढेको बताएका छन् । सोमबार बसेको बागमती प्रदेशसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री जम्मकट्टेलले सरकारले नयाँ सोच र शैलीबाट आफ्ना कामहरु अघि बढाएको बताए ।

पुरानै शैलीले काम गर्दा नतिजा प्राप्त हुन नसकेको र लक्ष्य भेट्न मुस्किल देखिएकाले नयाँ ढंगबाट काम अघि बढाएको उनले बताए । प्रदेश सरकारले दीर्घकाल रुपमा प्रभाव पार्ने प्रकृतिका बहुवर्षे योजना कार्यान्वयनमा सरकारले काम गरिरहेको उनले बताए । नयाँ मोड विकास गरेर सरकारले नागरिकहरुलाई सेवा प्रवाह र उत्पादनमा जोड्ने योजना बनाएको उनको भनाई छ ।

‘हामी नयाँ मोडमा जाँदैछौ । पुरानो शैलीबाट काम गर्दा नतिजा प्राप्त गर्न सकिएन । त्यसैले ३/४ वटा याेजनामा हामीले फरक शैली अपनाएका छौँ,’ उनले भने, ‘विशेष गरेर कृषि क्षेत्रको विकासमा अनुदानको मेडल फेरेका छौँ । व्यक्ति फेरेर वितरण हुँदै आएको अनुदान बन्द गरेका छौँ । समुदायमा आधारित उत्पादनको मेडलमा हामी अघि बढ्ने तयारीमा छौँ । पकेट क्षेत्रको मोडल अबको आवश्यकता हो । यसले धेरै कृषकहरुलाई समेट्ने र दीर्घकालीन तथा बहुवर्षे योजना कार्यान्वयनको मोडल सरकारले बनाइरहेको छ ।’

युवाहरुलाई रोजगारीमा जोड्ने गरी तालिमको व्यवस्था गर्ने सरकारको तयारी रहेको मुख्यमन्त्री जम्कट्टेलले बताए । प्रदेश सरकारले संविधान, ऐन कानुनको परिधिभित्र रहेर सुशासन र जनतालाई अधारभूत विकासको लागि इमान्दारीपूर्वक काम गरिरहेको उनको भनाई छ ।

सरकारले आफ्नो सीमित स्रोतसाधन अनुसार सार्वजनिक खर्च कटौती गर्दै अघि बढेको उनले बताए । प्रदेश सरकारले बागमती प्रदेशको हेटौंडामा मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको विश्व विद्यालय बनाउने आवश्यक प्रक्रिया तयारी गरिएको  र प्राविधिक विषयहरु अध्यापनको योजना अनुसार सूचना जारी गरिएको उनले बताए । चिकित्सा शिक्षालाई गुणस्तरीय एवम् पारदर्शी ढंगबाट सबै विद्यार्थीको पहुँचमा प¥याउने उद्देश्यले सुलभ मूल्यमा विद्यार्थीहरुले चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था मिलाउने काम भइरहेको उनको भनाई छ ।

स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पतालहरुलाई स्तरोन्नति, चिकित्सकको दरबन्दी उपलब्ध गराउने र सर्वसाधारण जनताहरुलाई अब आ–आफ्नो जिल्लामा नै सेवा लिन पाउने व्यवस्था मिलाइएको उनले बताए । मुख्यमन्त्री जम्मकट्टेलले काठमाडौंबाट हेटौंडा जोड्ने मातातीर्थ, हुमाने भञ्ज्याङ र कुलेखानी फाखेल सडकखण्डलाई आगामी माघ मसान्तभित्रै स्तरोन्नति र कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।

प्रदेशमा तरकारी, फलफूल तथा मासुजन्य खाद्यान्न उत्पादन गरी सबै नागरिकहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित विशेष कार्यक्रम सञ्चालन गरिने र उत्पादन वृद्धि गर्नेतर्फ सरकारले काम गरिरहेको उनले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप