बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘कोशी’ नामविरुद्धको आन्दोलन विदेशीको पैसाले भएको ओलीको आरोप

बुधबार, १७ असोज २०८०, २३ : ०७
बुधबार, १७ असोज २०८०

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोशी प्रदेश’ नामकरणको विरुद्धमा भएको आन्दोलन विदेशीको पैसाले चलेको आरोप लगाएका छन् । 

एमालेको कोशी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित समितिको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । यस खालको आन्दोलनबाट नतर्सिन पनि उनले कार्यकर्तालाई आग्रह गरे । 

‘नेपालगन्जमा दङ्गा छ, मलंगवामा दङ्गा छ । शान्ति भड्काउने प्रयास भइरहेको छ । हामी यस्ता कुरामा अल्झिने होइन । नदीमा हाम्रो सभ्यता बनेको छ । दुनियाँका सभ्यता नदीबाटै बनेका छन् । त्यस कारण नदीको नामले सबैलाई एउटै सूत्रमा बाँधेको छ । त्यो कोशी नाम दृढताका साथमा लिएर अगाडि बढ्नुपर्छ,’ ओलीले भने, ‘कोशी प्रदेशसभालाई धन्यवाद दिनुपर्छ । यसले अत्यधिक मतका साथ कोशी प्रदेश नामकरण गर्‍यो । विदेशीले खर्च पेलेको भरमा दुई चार जना कराएर, चार जनाले ढुङ्गा हानेर केही फरक पर्दैन । बाहिरबाट खटाइएका मान्छेहरू... ।’

उनले कोशी प्रदेशको गौरवलाई एकताबद्ध ढङ्गले अगाडि बढाउन आग्रह गर्दै विकासमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो देशको विकास रोक्नका लागि कुनै षड्यन्त्र भइरहेको छ,’ ओलीले भने । 

कोशी प्रदेशमा २० गतेसम्ममा एमाले नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने प्रसङ्ग कोट्याउँदै ओलीले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी विरुद्ध घेराबन्दी र षड्यन्त्र भए पनि कोशी प्रदेशमा मध्यावधि भए अहिलेको भन्दा १५ सिट बढी जित्ने दाबी गरे ।

 ‘कोशी प्रदेशमा उनीहरूलाई पहिले सभामुख चाहियो । अहिले हाम्रा विरुद्ध पाए जति सबै प्रयोग गर्ने ? संविधानले नदिएको अधिकार प्रयोग गरेर सभामुखलाई भोट हलाउँछन् । राजीनामा दिन लगाउँछन् । प्रदेश प्रमुखलाई संविधान विपरीत जे भन्यो त्यही गर्नुपर्छ भनेजस्तो बनाएर कारिन्दा बनाएका छन्,’ ओलीले भने, ‘साथीहरूलाई मध्यावधि भइहाल्यो भने हाम्रो खराब हुन्छ भन्ने लागेको होला । मध्यावधि भयो भने ४० सिटको ठाउँमा ५५ सिट ल्याउँदा हुँदैन ?’ 

उनले थप व्याख्या गर्दै गठबन्धन भ्रष्टाचारमा डुबेको, नयाँ भन्नेको देशमा कुनै योगदान नभएको र पहिचानको आन्दोलनले पनि आफूलाई कुनै प्रभाव नपर्ने सन्देश दिए । ‘एमालेले नल्याए अरू कसले ल्याउँछ भोट ? भ्रष्टाचारको आहालमा डुबेको, कमिसनतन्त्र र तस्करीको घेराबन्दीमा फसेको यो गठबन्धनले बढी मत ल्याउँछ ? २÷४ जना नयाँ नयाँ नयाँ भन्छन्.. नयाँलाई अवसर भनेर । नयाँ भनेको के हो ? त्यसले के गरेको छ ? ७ सालको आन्दोलन गरेको हो ? ३६ सालमा आन्दोलन गरेको हो ? ३६ सालमा त तिनीहरू जन्मिएका पनि थिएनन् होला । ४६ सालको आन्दोलन गरेको हो ? केही केही जन्मिएका थिए होलान्,’ ओलीले भने, ‘अनि ०६२÷०६३ सालको आन्दोलन तिनीहरूले गरेका हुन् ? संविधान लेख्ने तिनीहरू हो ? उनीहरुले के गरे ? देशलाई के दिन्छु भन्छन् ? कुन परिवर्तनमा के गरे ? यो हिन्दी गीत त होइन नि तुम आए बहार आए भनेजस्तो... । २ जना केटाकेटी हिँडे बहार आयो ? २ जना केटाकेटी बसेर सिनेमा हेरेर आनन्द लिएजस्तो होइन देश बनाउने कुरा हो । कसले दिन्छ भोट ?’

एमालेले बाहेक देशमा कसैले केही नगरेको उनको दाबी थियो । ‘अहिले दुई वर्षमा १० किलोमिटर बाटो बनेको छैन । एमालेले दैनिक १० किलोमिटर बाटो बनाउँथ्यो,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप