सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

याक चौँरी कृषक महासङ्घको औपचारिक गठन, दुई वर्षे कार्ययोजना प्रस्तुत

बिहीबार, १८ असोज २०८०, ०८ : ३१
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । याक चौँरी कृषक महासङ्घ, नेपाल औपचारिक रूपमा गठन भएको छ । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागसँगको सहकार्यमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले काठमाडौँमा दुई दिने कार्यक्रम गरी महासङ्घको विधान २०८० जारी गर्दै संस्था गठन प्रक्रियालाई औपचारिकता दिएको हो । 

नेपाल तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव रेवती रमण पौडेल एवं सह(सचिव सूर्य प्रसाद पौडेल, पशु सेवा विभागका उपमहानिर्देशक सुलोचना श्रेष्ठ, याक चौँरी कृषक महासङ्घ, नेपालका अध्यक्ष दावा साङ्ग्बु शेर्पा, इसिमोडका महानिर्देशक पेमा ज्याम्शोले संयुक्त रूपमा महासङ्घको विधानलाई सार्वजनिक गरेका हुन् । 

नवगठित महासङ्घका अध्यक्ष दावा साङ्ग्बु शेर्पाले महासङ्घको घोषणा तथा कार्यसमितिको परिचय प्रस्तुत गर्दै नवगठित कार्यसमितिका सदस्यलाई शपथ ग्रहण गराएका थिए । शेर्पाले पशु चरणमा आबद्ध कृषकको संस्कृतिको पुस्तान्तरण महासङ्घको उद्देश्य रहेको बताउँदै शेर्पाले संस्थाको उद्देश्य तथा संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरूबारे जानकारी गराएका थिए ।

शेर्पाले महासङ्घको विगत र संस्था स्थापनाकालको चुनौतीहरूबारे प्रकाश पार्दै भौगोलिक विकटता र राज्यको नीति नियम पार गर्दै महासङ्घ यहाँ आइपुगेकोमा सम्पूर्णलाई धन्यवाद एवं बधाई समेत दिएका थिए । 

शेर्पाले पूर्वी नेपालको याक चौँरी र पश्चिम नेपालको याक चौँरी आ(आफ्नै तरिकाले चलिरहेको र चरिचरण क्षेत्र, एवं याक, नाक चौँरीको विविध सम्भाव्यता र चुनौतीबारे अध्ययन यद्यपि कायम रहेको र त्यसप्रति महासङ्घ सचेत रहेको बताए । 

इसिमोडको कैलाश हलमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य दिँदै इसिमोडका महानिर्देशक पेमा ज्याम्शोले महासङ्घको औपचारिक गठन हुनु उच्च हिमाली क्षेत्रमा प्रतिकुल मौसमसँग जुधिरहेको याक, नाक तथा चौँरी र सम्बन्धित कृषकहरूका लागि ऐतिहासिक उपलब्धि रहेको बताए । 

इसिमोडकी इकोसिस्टम स्पेसलासिस्ट सिर्जना जोशीले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै याक महासङ्घको स्थापना याक तथा चौँरी पालनसँग जोडिएका कृषकहरूका लागि कोशेढुंगा साबित भएको बताइन् । 

यसै गरी, कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव रेवती रमण पौडेलले  ढिला भएपनि कामको थालनी भएको खुसी व्यक्त गर्दै सफलताको शुभकामना समेत दिए । नेपालमा २९ जिल्लामा याक चौँरी पालन हुँदै आधिकारिक तथ्याङ्कलाई स्मरण गर्दै उनले प्रस्तुत विधानले सबै जिल्लाका कृषकहरूलाई समेट्ने विश्वास समेत व्यक्त गरे । 

मन्त्रालयका सचिव पौडेलले याक चौँरीको सङ्ख्या वृद्धि, दुग्धजन्य पदार्थको उत्पादन वृद्धि एवं परिकारको विविधीकरण  र समग्र व्यवसायको मुनाफा वृद्धिमा केन्द्रित हुनुपर्ने बताए ।

यसै गरी, सामुदायिक उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) की महासचिव पार्वता गौतमले याक( चौँरीपालक कृषक समुदाय र सामुदायिक वनको सम्बन्धलाई प्रस्टाउँदै पशुपालन, चरिचरण क्षेत्र र सामुदायिक वन एकापसमा जोडिएको विषय भएकाले मिलीजुली काम गर्नु आवश्यक रहेको बताइन् । 

यसै गरी, याक, चौँरी महासङ्घका उपाध्यक्ष लाल कुमार केसीले लुम्बिनी र मधेस प्रदेश बाहेक अन्य पाँच प्रदेशमा चौँरी पालन हुने बताउँदै महासङ्घमार्फत याक चौँरीको विकास र विस्तारमार्फत मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

यसै गरी, जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रमुख जिल्ल अधिकारीले संस्था दर्ता तथा नवीकरण एवं महासङ्घ सञ्चालन तथा सुशासन सम्बन्धका नीतिगत कार्यहरूबारे जानकारी गराएका थिए । 

कार्यक्रम सञ्चालन इसिमोडका टासी दोर्जी र रमेश तिमिल्सिना गरेका थिए । कार्यक्रममा गोरखाको उत्तरी भेगस्थित चुमनुव्री गाउँपालिकाका कलाकारहरूले हिमाली भेगको परम्परामा आधारित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उच्च हिमाली क्षेत्रबाट उपस्थिति कृषक एवं प्रतिनिधिहरू आ(आफ्नो सांस्कृतिक एवं जातीय पोसाकमा देखिएका थिए । तिमिल्सिनाले याक तथा भैँसी सम्बन्धमा दन्त्यकथा स्मरण गर्दै पहिलो दिनको सारांश र दोस्रो दिनको कार्यक्रमको उद्देश्य र परिचय प्रस्तुत गरी कार्यक्रम समापन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप