मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनलाई करिब ५० युरोपेली नेताको समर्थन

बिहीबार, १८ असोज २०८०, १६ : ४५
बिहीबार, १८ असोज २०८०

ग्रानाडा (स्पेन) । पश्चिमी प्रतिबद्धता केही कमजोर भएका बेला युक्रेनको पक्षमा उभिन बिहीबार दक्षिणी स्पेनको ग्रानाडामा युरोपेली युनियनका करिब ५० नेताहरू भेला हुँदैछन् ।  युरोपेली राजनीतिक सामुदायिक मञ्चको बैठकमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी हुनेछन् ।

उक्त मञ्च सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि रुसले गरेको आक्रमणको परिप्रेक्ष्यमा गठन भएको थियो । उक्त आक्रमणसँगै युरोपको राजनीतिक एजेन्डालाई धेरै हदमा फरकरूपमा स्थापित गर्यो र यस महादेशमा शान्ति र स्थायित्वमा लामो समयदेखि कायम विश्वासलाई मूलभूतरूपमा कमजोर बनायो । 

राजनीतिक, आर्थिक र सैन्य सहयोगका बावजुद युक्रेनी क्षेत्रमा रुसी आक्रमणबाट मुक्त बनाउने दिशामा गतिरोध कायमै छ ।  यद्यपि ग्रानाडामा युरोपेली नेताहरू युक्रेनको पक्षमा एकजुट भएको कुरामा जोड दिन इच्छुक छन् । “जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट हुने खतराको सामना गर्ने कुरा आउँछ, एकतामा शक्ति हुन्छ”, बेलायती प्रधानमन्त्री ऋषि सुनकले भनेका छन् ।

बिहीबार जेलेन्स्की ग्रानाडामा आइपुग्दा युरोपेली नेताहरूले यस्तो सन्देश दिनेछन् । यसै वर्षको सुरुमा जेलेन्स्की मल्दोभामा भएको इपीसीको दोस्रो बैठकमा पनि उपस्थित भएका थिए ।  जेलेन्स्कीले सबै सहयोगीहरूलाई थप सहयोग र सैन्य सहायता उपलब्ध गराउन अगाडि आउन आग्रह गर्ने अपेक्षा गरिएको छ ।

 “जाडो याम नजिकिँदै गर्दा युक्रेनको मुख्य प्राथमिकता भनेको हवाई प्रतिरक्षालाई सुदृढ गर्नु हो, हामीले पहिला नै साझेदारहरूसँग नयाँ सम्झौताहरूको आधार तयार गरिसकेका छौँ र अब उनीहरूको अनुमोदन र कार्यान्वयनका लागि तत्पर छौँ”, जेलेन्स्कीले एक विज्ञप्तिमा भनेका छन्, “यो युक्रेन र समग्र युरोपका लागि फलदायी दिन हुनुपर्छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप