सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
तस्करको रजगज

मधेसमा राजश्वको लगातार छापा, यस्तो छ तस्करको रुट र जालो

तस्करीमा स्थानीय प्रहरी प्रशासनको समेत मिलोमतो रहेको आरोप
शुक्रबार, १९ असोज २०८०, ०७ : ३४
शुक्रबार, १९ असोज २०८०

जनकपुरधाम ।  यही असोज १३ गते राजस्व अनुसन्धान कार्यालय इटहरीले सिरहाबाट झण्डै ५० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गर्यो । विशेष टोलीले सिरहास्थित माडर भन्सार कार्यालय नजिकै रहेको सिरहा नगरपालिका–१५ को सीमावर्ती बुधौरा गाउँस्थित चन्द्रनारायण यादव आधारभूत विद्यालय परिसरमा रहेको बगैँचाबाट लुकाएर राखेको लत्ताकपडा बरामद गरेको थियो ।
 
त्यसको भोलिपल्टै असोज १४ गते राजस्व अनुसन्धान कार्यालय इटहरीकै टोलीले लत्ताकपडा सहितको ट्रक नियन्त्रणमा लियो । अनुसन्धान टोलीले आइतबार दिउँसो चोहर्वातर्फ जाँदै गरेको भन्सार छली गरिएको लत्ताकपडासहित अन्य सामान बोकेको प्रदेश १–०२–००१ ख ९२३८ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।
 
राजस्वको टोलीले तेश्रो दिनसमेत छापा हानी अवैध कपडा बरामद गर्यो । असोज १५ गते सोमबार सिरहा नगरपालिका–१५ सुखचैनाबाट अवैध कपडा बरामद गर्यो । भन्सार छलेर भारतबाट ल्याएको करिब ३२ लाख मूल्य बराबरको १६ गाँठ लत्ताकपडा बरामद गरिएको थियो ।
 
लगत्तै असोज १६ गते मंगलबार विहान सशस्त्र प्रहरी बल सिरहाले पनि सिरहा नगरपालिका–१८ तारापट्टी टोलबाट लुकाई राखेको करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ७८ पोका लत्ताकपडा बरामद गर्यो । 

उक्त कपडा बरामद भएको स्थान भारतीय सीमाबाट करिब ६ किलोमिटर र सशस्त्र प्रहरी गण नम्बर–७ बाट ४ किलोमिटरको मात्र दूरीमा छ ।  

यस अघि मिर्चैयाको एक कपडा पसल तथा गोदाममा राजश्व अनुसन्धान कार्यालयले छापा मारेको थियो । त्यहाँबाट समेत अवैध लत्ताकपडा बरामद भयो ।
 
राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सिरहाबाट मात्रै करिव दुई करोड बढीको भन्सार छलेर ल्याएको लत्ताकपडा यसै साता बरामद गरेको राजश्व अनुसन्धान कार्यालय ईटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिएका छन् ।
 
राजस्व अनुसन्धान कार्यालयले मोरङ्ग र सुनसरीबाट हुने चोरी तस्करीमा निगरानी बढाएपछि त्यस क्षेत्रका तस्करहरु मधेस प्रदेशको सप्तरी, सिरहा र धनुषाका नाकाहरु प्रयोग गरेको देखिएको प्रमुख सुरेश आचार्यले बताए । 

‘सुनसरी, मोरङ्गमा हाम्रो उपस्थितिले गर्दा चोरी तस्करी नियन्त्रण भएपछि अहिले तस्करहरु पश्चिमतर्फ सर्दै आएको देखिएको छ,’ प्रमुख आचार्यले भने ।
 
‘कडाइ गरिएपछि अहिले तस्करहरुम्को भागाभाग छ,’ उनले भने, ‘हामीलाई प्राप्त जानकारी अनुसार अहिले उनीहरु पक्राउ पर्ने डरले अहिले भारततिर भागेको खबर छ । अनुसन्धान जारी छ, वारेन्ट जारी गरेर उनीहरुलाई पक्राउ गरिनेछ ।’
 
उनले सिरहामा भईरहेको संस्थागत तस्करीलाई नियन्त्रणमा लिएको बताए ।
 
यता प्रहरी प्रशासनकै मिलोमतोमा सिरहामा ठूलो परिमाणमा निर्वाध रुपमा तस्करी भईरहको देखिएको छ ।
 
आन्तरिक राजश्व कार्यालयले सिरहामा निरन्तर ठूलो परिमाणमा लत्ताकपडा बरामद गर्नुले प्रहरी, प्रशासन र भन्सारकै कर्मचारीको मिलोमतोमा व्यापक तस्करी भइरहेको देखिएको हो । 
सिरहासँग सीमा जोडिएको भारतको जयनगर, लदनिया लगायतको बजारबाट सिरहाका विभिन्न नाका भएर अवैध रूपमा तस्करी भइरहेको गुनासो बढेपछि माथिल्लो निकायले नै सक्रियता बढाएको छ । यसले अबैध समान पक्राउमा सफलता मिलेको छ ।
 
भन्सार कर्मचारी, स्थानीय स्तरदेखि जिल्लाका प्रहरी अधिकृतसँग महिनावारी रकम बुझाउने सर्तमा केही महिना यता तस्करी फस्टाएको छ । सिरहाको करिब ४६ किलोमिटर खुल्ला सीमा नाकामा दर्जनौँ स्थानमा प्रहरी विट राखी प्रहरी परिचालित छन् । तर, तस्करीको ग्राफ बढेको तथ्यहरुले देखाएको छ ।
 
पछिल्लो एक सातामा राजश्व अनुसन्धान कार्यालयले दिनहुँ कपडा बरामद गर्न थालेपछि सिरहाका प्रहरी अधिकारीहरु दबाब खेप्न नसकेर आफ्नो बचाउका लागि भएपनि केही सामान पक्राउ गरिरहेको स्रोतको दाबी छ ।
 
एसपी र डीएसपी तानिए
                                           
चोरी तस्करी गरि ल्याइएको करोडौंको सामान धमाधम राजश्वले बरामद गरेपछि सिरहाका सशस्त्र प्रहरीका एसपी र डीएसपी अनुसन्धानका लागि तानिएका छन् । 
प्रहरीकै मिलोमतोमा खुलेयाम तस्करी भइरहेको सूचना बाहिरिएपछि सिरहाका सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक एवम् प्रमुख प्रमोद भारती र सशस्त्र प्रहरी बल बोर्डर पोस्ट माडरका प्रमुख डीएसपी रामहरि खड्कालाई जिम्मेवारीबाट हटाएर प्रदेशले अनुसन्धान थालिसकेको छ ।
 
गत शनिबार ती दुईसहित २८ जना प्रहरी अधिकृत अनुसन्धानमा तानिएका छन् । तर सशस्त्र प्रहरी मधेस प्रदेशको डिआईजी दीपेन्द्र शाहले भने उनीहरुलाई तानिएको नभई सो विषयमा सत्यतथ्य जानकारी लिन बोलाइएको र जानकारी लिएर केही दिनमै फिर्ता पठाउने बताए ।
 
कहाँ कहाँबाट हुन्छ तस्करी ?

सप्तरीको कुनौली, तिलाठी, कोदरकट्टी, क्षुटकी, हनुमान नगर, साठी, सखडा तिलाठ्ठी र पोता नाकाबाट व्यापक मात्रामा तस्करी भइरहेको छ । यीमध्ये कुनौलीसहितका केही सीमा नाकाबाट ठुलो मात्रामा ट्रकमै सामानहरु सेटिङमा तस्करी हुने गरेको स्रोत बताउँछ ।
 
धनुषाको जयनगर नजिक पर्ने ईनर्वा, दुहवी, महिनाथपुर, जटही, मुखियापट्टि, खजुरी लगायतबाट व्यापक मात्रामा काजु र कपडाको लाइन चलिरहेको छ भने धनुषाको इनर्वाबाट दैनिक मदिरा तस्करी भइरहेको छ । 

उता, दुहबीमा पहिले स्टोर गरी खाद्यान्न र महिनाथपुर हुँदै नेपालबाट भारत गाई तस्करी हुने गरेको छ । दुहबी हुँदै धनुषाको बालगंगा नहर र सँगै रहेको बाटो हुँदै सबैलामा दोश्रो स्टोर गर्ने गरी तस्करी भईरहेको स्रोत बताउँछ ।

Taskari
 
यसैगरी, महोत्तरीको धीरापुर, बिर्तामोड, सम्सी, मटिहानी, रामगोपालपुर, खैरमणि, इटहर्वा, पोखर भिण्डा रघुनाथपुरबाट पनि तस्करीको लाइन चलिरहेको छ ।
 
महोत्तरीको अजमरपटी गाँजा तस्करीको ट्रान्जिट प्वाईन्ट रहेको छ । जहाँ हतियारसहित तस्करले गाजा तस्करी गर्छन् । २० किलोको एक पोका गाँजा सिमाना कटाउन तस्करहरुले १५ सय रुपैयाँ दिने गरेको पनि खुलेको छ । 
 
यस्तै, महोत्तरीकै सम्सी नाकालाई गाई तस्करीको तथा मटिहानी चाँदी तस्करीको ट्रान्जिट प्वाईन्ट भनेर चिनिन्छ ।  उता, सिरहाको माडर, ठाँडी बरियारपट्टी, सुखीपुर, झाझपट्टी नाकाबाट व्यापक मात्रामा तस्करी भइरहेको छ ।
  
अर्थविद् डा. भोगेन्द्र झा तस्करीले अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने बताउँछन् । तस्करी नरोकिए राज्यको अर्थतन्त्रमा दूरगामी असर पर्ने भएकाले यसमा सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ । उनले यस्तो गतिविधिले आन्तरिक व्यापारमा प्रतिकुल असर परी असल मनसायका व्यापारी पलायन भइरहेको बताए ।

taskari1
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप