बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

अन्य दलका नेताहरू धमाधम भित्र्याउँदै जनमत

शनिबार, २० असोज २०८०, १५ : ५९
शनिबार, २० असोज २०८०

काठमाडौँ । ‘मिसन २०८४’ अभियान चलाइरहेको जनमत पार्टीले केही दिनदेखि विभिन्न पार्टीका नेताहरूलाई आफ्नो पार्टीमा प्रवेश गराइरहेको छ । जनमतले पार्टी प्रवेशको लहर नै चलाएको हो । 

पार्टीले जसपा, माओवादी, एमाले, कांग्रेसका नेताहरूलाई धमाधम भित्र्याइरहेको छ । त्यसमध्ये मधेसमा सबैभन्दा बढी ‘टार्गेट’ मा जसपा रहेको छ । मधेसमा जसपासँग नै प्रतिस्पर्धा हुने देखिएपछि सो दलका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा तान्ने रणनीतिमा जनमत लागेको देखिन्छ । 

असोज १६ गते मात्र जसपाका तीन केन्द्रीय नेतासहित कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन् । जसपाका केन्द्रीय सदस्य एवं राजनीतिक समिति सदस्य उदय नारायण यादव, केन्द्रीय सदस्य नथुनी यादव र कार्यकारिणी सदस्य कुलानन्द झा जनमतमा प्रवेश गरेका हुन् । 

यस्तै जसपाका सिराहा जिल्ला सदस्य मो.झबु राइन, जसपा मधेस प्रदेश सदस्य मो.हमजा राइनलाई पनि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले प्रवेश गराएका छन् । 

केही दिन पहिले जसपा कपिलवस्तुका पूर्व इन्चार्ज मोहम्मद तौफिक खान पनि सो पार्टी छाडेर जनमत पार्टीमा प्रवेश गरेका छन् । बुद्धनगरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष राउतले प्रवेश गराएका छन् । 

पर्साका एमाले नेता प्रकाश पाण्डे पनि सो पार्टी छाडेर जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमतकी नेतृ करिमा बेगमको पहलमा पाण्डेले जनमत पार्टीमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रका विद्यार्थी संगठनका सिराहा जिल्ला अध्यक्ष गजेन्द्र ठाकुर लगायतका नेताहरू पनि जनमतमा प्रवेश गरेका छन् । उनीहरूलाई बुद्धनगरस्थित पार्टी कार्यालयमा प्रवेश गरेका हुन् । 

हिजो मात्र सर्लाहीकी समाजसेवी अनिता सिंह जनमतमा प्रवेश गरेकी छिन् । पार्टीका कार्यालयमा अध्यक्ष राउतले उनलाई टिका लगाएर पार्टीमा प्रवेश गराएका हुन् । 

जनमत पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य डा.शरतसिंह यादवले जनमतप्रति आकर्षण बढेको दाबी गरे । उनले भने, ‘अझै विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरू पार्टी प्रवेश गर्न तयार छन्, तर हामीले समय व्यवस्थापन गर्न सकेका छैनौँ ।’

जनमतले जनताका सरोकारका कुरा उठाउँदै आएका कारण यस पार्टीप्रति आकर्षण बढेको जिकिर गर्दै उनले अरू पार्टीभन्दा जनमत भिन्न रहेका कारण पनि आकर्षण बढेको बताए । जनमत पार्टी संघ तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशको सरकारमा सहभागी छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप