शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
कोशीमा किचलो

मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दाबी, राप्रपाले सहयोग गर्ने

मध्यावधि रोक्न माओवादीको नेतृत्वमा सरकार बन्नुपर्छ : आङ्बो, गठबन्धनले गर्ने निर्णय मान्य हुन्छ : थापा
शनिबार, २० असोज २०८०, १७ : ५५
शनिबार, २० असोज २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै संविधानको धारा १६८ (५) अनुसार अबको मुख्यमन्त्रीमा कांग्रेस र माओवादीले दाबी गरेका छन् । एमाले दलका नेतासमेत रहेको मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभामा राजीनामा घोषणा गरेका थिए । 

उनको राजीनामा आएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कांग्रेसको दाबी स्वाभाविक हिसाबले रहने बताए । ‘दाबी मेरो छ तर, नेतृत्व कसले गर्ने भन्ने विषयमा शीर्ष नेताहरूले गर्नुहुन्छ । गठबन्धनको निर्णयलाई हामीले कार्यान्वयन गर्छौँ,’ थापाले भने, ‘दलको नेता बाहेक मुख्यमन्त्री बनाउने विषयमा किन तयार हुने ? दलभित्र अनुशासन हुन्छ । विधान अनुसार दल चल्छ ।’ उनले आफू मुख्यमन्त्री बन्दा सङ्ख्या पुर्‍याएको भए पनि काम गर्ने अवसर नपाएको बताए । ‘अब मुख्यमन्त्री बन्नलाई दलको नेता जरुरी नभए पनि दल त छ । पार्टी त छ,’ थापाले भने । 

थापाले गठबन्धनलाई छोडेर एमालेसँग सत्ताको सहकार्य गर्न नैतिकताले पनि नदिने बताए । ‘गठबन्धन तोडेर कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी वा जसपा जाँदैछ,’ थापाले भने, ‘माओवादी दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने विषयमा गठबन्धन दलले निर्णय गरेको खण्डमा त्यसलाई मानेर सफल बनाउन लाग्छौं ।’

यसअघि गठबन्धनबाटै आफू मुख्यमन्त्री बनिसकेको बताउँदै पहिलो दाबी नरहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईले बताए । उनले प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेपछि गठबन्धन दलबिच छलफल गरेर मुख्यमन्त्रीको उम्मेदवार टुङ्गो लगाउने बताए ।

उता, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अब आफ्नो दलको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताए । ‘मध्यावधि रोक्न र सहमतिको स्थायी सरकार बनाउन हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्नुपर्छ,’ उनले भने, ‘अब फेरि विश्वासको मत प्राप्त नगर्ने गरी सरकारको नेतृत्व दाबी गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष छ ।’ आङ्बोले यसअघि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि माओवादीले एमालेसँगको सहकार्य तोडेको, सभामुखलाई राजीनामा गराएर त्याग गरेको पनि बताए । ‘मध्यावधिलाई रोक्न र प्रदेशलाई राजनीतिक स्थायित्व दिन गठबन्धनसँग सहकार्य गर्न राप्रपा अलिकति नजिक छ,’ उनले भने । 

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सल्लाह गरेर अगाडि बढ्ने बताए । राप्रपाले सहमतिका लागि मुख्य भूमिका खेल्ने उनले बताए । ‘राप्रपाले अब माओवादी, एमाले, कांग्रेसलाई जोड्ने काम गर्छ,’ उनले भने, ‘६ वटा पार्टीलाई बोकेर मलाई मुख्यमन्त्री देऊ भन्न मिल्दैन ।’ मध्यावधिमा जाने अवस्था नबन्ने बताउँदै उनले राप्रपाले समन्वय, सहयोग गर्ने भूमिकामा रहने र अघिल्लो पटक जस्तो उपसभामुख बिरामी हुने वा ज्येष्ठ सदस्यहरू अनुपस्थिति हुने खालको परिस्थिति भने नबन्ने दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप