शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चोभार सुख्खा बन्दरगाहमा विद्युतीय गाडी पनि आउन थाल्यो, तीन महिनामा ८७ वटा गाडी भित्रिए

सोमबार, २२ असोज २०८०, १६ : ४५
सोमबार, २२ असोज २०८०

काठमाडौँ । राजधानीमा नै रहेको चोभार सुख्खा बन्दरगाहमा सवारी आयात तथा भन्सार जाँचपासको फ्लो बढेको छ । २०७८ चैत २२ गतेदेखि सञ्चालन आएको बन्दरगाहमा पछिल्लो तीन महिनामा मात्र ८७ वटा सवारी साधनहरु भित्रिएका छन् । 

२०८० असार १४ गतेदेखि असोज २२ गतेसम्ममा ८७ वटा गाडी (४ वटा इलेक्ट्रिक र ८३ वटा पेट्रोलियम गाडी) भन्सार जाँचपासका लागि चोभार सुख्खा बन्दरगाह आएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । उक्त गाडीहरु भन्सार जाँचपासको लागि वीरगञ्ज नाकाबाट सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो । 

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि आउने मालवाहक सावरी साधन एवं नयाँ सवारी साधनहरुको लागि प्रबेश शुल्क निःशुल्क गर्नुका साथै पार्किङ्ग तथा गोदाम शुल्क समेत न्यूनतम गरिएको छ । जसले गर्दा पछिल्लो समय अन्य मालवस्तुसँगै सवारी साधनको भन्सार जाँचपासका लागि समेत सुख्खा बन्दगाहमा फ्लो बढेको कार्यकारी निर्देशक गजुरेलले रातोपाटीसँग बताए । 

सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि कन्टेनराइज्ड मालवस्तु एवं नयाँ सवारी साधनहरु चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि ल्याउन आयातकर्ताहरुसँग पटक पटक छलफल भएको र चाँडै अरु आयातर निर्यातकर्ताहरुसँग समेत छलफल गरिने उनले बताए ।

यसअघि सांग्रिला मोटर्स प्रा.लि, जि.ओ अटोमोवाइल्स प्रा.लि. लगायत अन्य कम्पनीहरुका पेट्रोलबाट चल्ने ८३ वटा गाडी चोभार भन्सार कार्यालयमा भन्सार जाँचपास आइसकेकोमा पछिल्लो पटक असोज २० गते ईभी नेपाल मोटर्स प्रा.लि.ले समेत ४ वटा इलेक्ट्रिक(विद्युतीय) गाडी समेत आयात गरी भन्सार जाँचपास गर्न लागेको उनले जानकारी दिए ।

चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन लागिएकोमाहाल कम्पनी छनौट प्रकृया भैरहेको छ । निकट भविष्यमा नै यस सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई हस्तान्तरण हुनेछ । निजी क्षेत्रबाट यस सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन शुरु भएपछि यस बन्दरगाहबाट व्यापारिक कारोवारमा अझै वृद्धि हुने विश्वास इन्टरमोड यातायात विकास समितिले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप