मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
सर्वदलीय बैठक

सर्वदलीय बैठकमा दलहरुको एकै स्वर : संकटमा परेका नागरिकको उद्धारमा गम्भीर भएर लाग्न सरकारलाई सुझाव

सोमबार, २२ असोज २०८०, २० : २८
सोमबार, २२ असोज २०८०

काठमाडौँ । राजनीतिक दलहरुले इजरायलमा हमासले गरेको आक्रमणपछि संकटमा परेका नेपाली नागरिकहरुबारे सरकारले गरेको निर्णय कार्यान्वयनमा लैजान सरकारलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले इजरायल आक्रमणमा परेका नेपालीहरुको अवस्था र सरकारले गरेका प्रयासबारे जानकारी गराएका थिए । 

त्यसक्रममा सवै दलका नेताहरुले इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थलमा लैजाने गरी उद्धारमा गम्भीर भएर लाग्न सुझाव दिएका थिए । 

उनीहरुले स्वदेश फर्किन चाहानेहरुलाई तुरुन्तै जहाज पठाएर नेपाल ल्याउने प्रबन्ध गर्न पनि माग गर्दै सरकारले उद्धार गर्ने भनेपनि त्यसको कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउन सुझाव दिएका थिए । 

‘सरकारले इजरायल घटनाका बारेमा गरेका निर्णयहरुबारे प्रधानमन्त्रीले जानकारी गराउनुभयो । त्यसमा दलका नेताहरुले पनि सरकारले गरेको निर्णय कार्यान्वयनमा लैजानुपर्छ भनेर जोड दिनुभएको छ’, बैठकपछि नेकपा माओवादीका संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले भने, ‘दलका नेताहरुले आधिकारिक ठाउँबाट सही सूचना सम्प्रशेण गर्न अनुरोध गर्नुभयो ।’ उनले इजरायल घटनाका बारेमा समग्र देश एकै ठाउँमा छ भन्ने छलफलबाट निष्कर्ष निस्केको बताए । 

त्यस्तै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले इजरायल घटनामा परी नेपालीहरुले ज्यान गुमाउँदा राष्ट्रिय पीडाको अवस्थामा आएको भन्दै अब कसरी बढ्ने भन्नेबारे छलफल भएको जानकारी दिए ।

‘मुलत इजरायलमा हमासको आक्रमणबाट जुन स्थिति सिर्जना भयो र नेपालीहरुको मृत्यु भएको अवस्था, असुरक्षा पीडाबारे छलफल भयो । यसै विषयलाई लिएर सरकारले जे निर्णय गरेको छ ।त्यसबारे सरकारले जानकारी दिने काम भयो’, लेखकले भने, राष्ट्रिय पीडा भएको अवस्था छ । १० जना युवाहरुको मृत्यु भएको र त्रासमा भएको अवस्थालाई लिएर कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भयो ।’ उनले असुरक्षित अवस्थामा रहेकाहरुलाई सुरक्षित अवस्थामा लैजाने तथा मृत्यु भएकाहरुको शव देशमा झिकाएर परिवारको जिम्मा लगाउनेबारे पनि छलफल भएको बताए । 

‘नेपालीहरुको सुरक्षाको विषय, देशमा फर्कने चाहनेलाई फर्काउने कुरा गर्नुपर्छ भनेर सवैले सरकारलाई सुझाव दिनुभएको छ’,लेखकको भनाइ छ । 

लेखकले उद्धारमा ढिलाइ नगरी तदारुकताका साथ सरकारले काम गरेर सुरक्षित राख्ने भनेर भनेकाले दलहरु विश्वस्त भएको बताए । साथै इजरायलबाट नेपाल फर्कन चाहनेहरुका जहाज पठाएर फिर्ता गर्नुपर्नेबारे सर्वदलीय बैठकमा कुरा उठेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप