शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा चार क्विन्टलभन्दा बढी गाँजा बरामद

बिहीबार, २५ असोज २०८०, १६ : ४८
बिहीबार, २५ असोज २०८०

जनकपुरधाम । महोत्तरीमा प्रहरीले चार क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले २७ पोकामा रहेको ४ क्विन्टल ५ किलो गाँजा बरामद गरेको हो । 

प्रहरीले ना.६ख ७३७४ नम्बर को ट्रकमा लुकाएर राखेको अवस्थामा सो परिमाणको गाँजा बरामद गरेको जनाएको छ । गाँजासहित प्रहरीले एकजना युवकलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलीपकुमार गिरीले बताए । पक्राउ पर्नेमा मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. २ निवासी सहचालक २२ वर्षीय विशाल थिङ छन् । 

बुधबार राति जलेश्वर नगरपालिका वडा नं. १ क्याम्पस रोडमा खाली ट्रक लिएर घुमिरहेको अवस्थामा अस्थायी प्रहरी पोस्ट नगरपालिकाबाट खटिएको प्रहरी टोलीले गाडी चेकजाँच गर्दा मालसामान राख्ने स्थानमा फल्स बटम बनाई लुकाइछिपाई राखेको अवस्थामा गाँजा फेला पारेको थियो । ट्रक चालक भने त्यहाँबाट भाग्न सफल भएका थिए । पक्राउ परेका थिङसँग थप अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी दिए । 

उनले महोत्तरी प्रहरीले गाँजा नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको बताए । महोत्तरीमा विभिन्न जिल्लाबाट गाँजा आयात भई दशगजा हुँदै भारत प्रवेश गर्ने र स्थानीय बजारमा समेत बेचबिखन हुने जानकारीअनुसार पछिल्लो समय यस्ता गतिविधि उपर महोत्तरी प्रहरीले विशेष निगरानी बढाएको छ ।

गाँजा नेपालबाट भारततर्फ ओसारपसार गर्ने महोत्तरीको अजमरपटीलाई ट्रान्जिट प्वाइन्ट बनाई ओसारपसार हुने गरेको बुझिन्छ । जहाँ हतियारसहित तस्करले गाँजा तस्करी गरिरहेका हुन्छन् । 

स्रोतका अनुसार नेपालको जुनसुकै ठाउँबाट आएको गाँजा अजमरपटी हुँदै ओसारपसार हुने गर्छ । यहाँबाट गाँजा गएमा किलोको कम्तीमा पाँच हजार महँगाे बेचिन्छ । अर्थात् भारतमा महोत्तरीको अजमरपटीकाे गाँजालाई अजमेरी गाँजा भनेर चिनिन्छ । गाँजा तस्करले यो जिल्लासँग जोडिएको मरूवाही, सक्र, नैन्ही नाका हुँदै भारततर्फ लग्ने गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप