भेडाच्याङ्ग्राको व्यापार घट्दा व्यवसायी चिन्तित
ढोरपाटन । रोल्पाका तिलु बुढा मगर भेडा व्यापारका लागि लेकबाट हिँडेको दुई साता भयो । चार हजार सात सय मिटरको उचाइमा रहेको नालीखोलाबाट बेँसी झर्न उनलाई दुई साता लाग्यो । आइतबार १४ दिनमा उनी बागलुङको गलकोट आइपुगेका थिए ।
हरेक वर्ष दसैँमा व्यापारका लागि बजार आउने तिलु यस वर्ष निकै निराश भएको बताए । व्यापारमा निस्केको दुई हप्तामा उनले नौवटा मात्रै भेडा व्यापार गरे । एक सय ५० भेडा लिएर बजार आउनुभएका बुढा मगर व्यापार नभएपछि चिन्तित भएका हुन् । परिवार र दसैँ खर्च चलाउनका लागि यो सिजनमा बजार झर्नु भएका उनी व्यापार नहुँदा घर खर्च कसरी चलाउने भन्ने पीरले सताइरहेको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष भेडाको मूल्य केही बढेको छ । बुढा मगरले साबिककै मूल्यमा बिक्री गर्दा पनि भेडा व्यापार निकै कम भएको बताए । उनका अनुसार अघिल्लो वर्षहरुमा घटस्थापनाको दिनसम्म बजार ल्याएका आधाभन्दा बढी व्यापार हुने गरेकामा यस पटक निकै कम भएका छन् ।
हरेक वर्ष पर्वतको कुश्मा र डिमुवासम्म पुगेर फर्किने गरेको भन्दै यस वर्ष व्यापार नहुँदा पोखरासम्म पुग्ने योजना रहेको बुढामगरले बताए । मध्यपहाडी लोकमार्गको पातीहाल्ने, सीप, निसीखोला, बुर्तिबाङ, बडिगाड हुँदै गलकोट आएका तिलुलाई भेडा व्यापार नभए फर्काउनुपर्छ कि भन्ने चिन्ताले सताइरहेको छ । वर्षभरि लेकबेँसी गरेर उत्पादन गरेको भेडाले बजार नपाउँदा निकै दुःख लागेको उनले बताए ।
पोहोर साल एउटा भेडालाई रू २८ हजारदेखि ४८ हजारसम्म पार्ने गरेको भन्दै यस वर्ष रू ५२ हजारसम्म पुगेको मगरको भनाइ थियो । पाहोर सालकै मूल्यमा व्यापार नभएपछि केही रकम घटाएर बिक्री गर्नु परेको उनले बताए । पहिले–पहिले बाटोमा भेडा आए भने व्यापारी बथानमै छिरेर मन परेको भेडा किन्ने गरेका भन्दै यसपालि घरै अगाडि लगेर किन्न आग्रह गर्दा पनि व्यापार नभएको तिलुले गुनासो गरे । पहिलेको तुलनामा यस वर्ष बजार पनि सुनसान पाएको उनले बताए ।
“यसपालि दसैँ ढिला आयो । ७ गतेको दिन टीका रैछ, ५ गते त घर फर्किसक्नुपर्छ । मेरो अरू केही व्यवसाय छैन । वर्षभरि यिनै भेडा पाल्छु । दसैँ त हामीजस्ता गोठालाको लागि व्यापार गर्ने ठूलो पर्व जस्तै हो । तर यस वर्ष पहिलाको जस्तो व्यापार भएन् । धेरैले पैसा छैन भेडा राख्न सकिँदैन भन्छन्”, बुढा मगरले भने, “बजारमा पहिलेको जस्तो चहलपहल पनि देखिएन । किन हो खै ? आर्थिक मन्दी भन्छन् । मैले भेडा पाल्न थालेको ३७–३८ वर्ष भयो अहिलेसम्म यस्तो अवस्था कहिले पनि आएको थिएन ।”
उनले रू २८ हजार पर्नेलाई रू २३ हजार र रू ५२ हजार पर्ने भेडालाई रू ४०/४५ हजारमा दिँदा पनि कसैले किन्न नमानेको गुनासो पोखे । भेडा व्यापार नभएपछि परिवार चलाउनै समस्या हुने उमगरको भनाइ छ । ५ गतेसम्म व्यापार नभए गाडीमा हालेर गाउँ फर्किने योजना रहेको उनले सुनाए ।
बुढा मगरको जस्तै मुस्ताङबाट आउने भेडाच्याङ्ग्रा पनि अघिल्लो वर्षको तुलनामा कम बिक्री भएको व्यापारीहरुले बताउने गरेका छन् । उपल्लो मुस्ताङदेखि भेडाच्याङ्ग्रा लिएर आउनुभएका प्रकाश गुरुङले यस वर्ष निकै कम व्यापार भएको बताए । असोज पहिलो साता नै भेडाच्याङ्ग्रा खरिदका लागि मुस्ताङ पुगेको पाँच सयको हाराहारीमा ल्याए पनि अहिलेसम्म ७० वटा मात्रै बिक्री भएको उनको भनाइ थियो ।
बागलुङ, पर्वत, पोखरा, तनहुँ हुँदै काठमाडौँसम्म पुर्याउने योजना रहेको भन्दै आर्थिक मन्दीले व्यापार कम भएको गुरुङले बताए । अघिल्लो वर्ष एक हजार दुई सयभन्दा बढी भेडाच्याङ्ग्रा बजार ल्याउने गरेकामा यस वर्ष घटाएको उनले सुनाए ।
“बजारमा सबै सामान महँगिएर आकाशिएको छ । भेडाच्याङ्ग्राको मूल्य पनि स्वाभाविक रुपमा बढ्ने नै भयो । पहिलेपहिले जति राम्रो व्यापार हुन्थ्यो अहिले छैन”, गुरुङले भने, “यसले गर्दा हामी जस्ता व्यापारी मर्कामा परेका छौँ । गोठमै पुगेर खरिद गरी ल्याउने गरेकामा अहिले किसानले गोठमै महँगोमा बेच्नु हुन्छ । हामीहरुले बजारसम्म ल्याउँदा थोरैमात्र नाफा राखेर बेच्दा पनि बिक्री गर्न मुस्किल पर्छ ।”
स्थानीय प्रेमप्रसाद शर्माले बजारमा अन्य सामान बिक्री नहुँदा यस वर्ष भेडाच्याङ्ग्रा किनेर दसैँ बनाउन सक्ने अवस्था नरहेको बताए । पहिलेको तुलनामा बजारमा हुने खाद्यान्न तथा फेन्सी सामानको मूल्य आकाशिएको र व्यापार कम हुँदा पोहोरपरार सालको जस्तो हर्षोल्लास नभएको उनको भनाइ थियो । महँगी र घट्दो व्यापारका कारण सामान्य परिवारले भेडाच्याङ्ग्रा किनेर दसैँ मनाउने अवस्था नरहेको उनले बताए ।
“तीन–चार वर्षअगाडि त बजारमा किनेमेल गर्ने मान्छेको भीड हुन्थ्यो । अहिले बजार सुनसान छ । बजारका सामान व्यापार भए पो किसानका भेडाच्याङ्ग्रा व्यापार हुन्छन्”, शर्माले भने, “बजार सुनसान भएपछि कसरी भेडच्याङ्गा किनमेल हुन्छ ?, आर्थिक मन्दीले धेरैतिर समस्या पुर्याएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण