आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
कोशीमा किचलो

कोशी प्रदेशबारे के छ कांग्रेसको आन्तरिक रणनीति ?

उद्धवको पत्र बोकेर भूपेन्द्र काठमाडौँमा, दलको नेता दसैँपछि चयन गरिने
मङ्गलबार, ३० असोज २०८०, १६ : ३८
मङ्गलबार, ३० असोज २०८०

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । पार्टीका ८ सांसद बोकेर विद्रोह गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई कांग्रेस विश्वासको मत दिने भएको हो ।

सत्ता गठबन्धनको सहमतिअनुसार कोशी प्रदेशको नेतृत्व माओवादी केन्द्रले पाएपछि कार्कीले एमालेसँग मिलेर मुख्यमन्त्रीका लागि बहुमत जुटाएर दाबी पेस गरेका थिए ।

नेता शेखर कोइरालाको आडमा गठबन्धनको निर्णयविरुद्ध उभिएका कार्कीलाई गठबन्धनकै नेतृत्वकर्ता कांग्रेसले विश्वासको मत दिने आन्तरिक रणनीति बनाएको छ ।

सोमबार अपराह्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शीर्ष पदाधिकारीबिच मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने सहमति जुटेको थियो । सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग कोशी प्रदेशका सन्दर्भमा राय मागेका थिए । महामन्त्री शर्माले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिनुपर्ने मत आफूहरूले राखेको रातोपाटीलाई बताए । 

कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले आगामी भूमिकाबारे पार्टीको स्पष्ट निर्देशनका लागि केन्द्रीय कार्यसमितिलाई पत्र पठाएका थिए । थापाले रातोपाटीसँग भने, ‘कोशी प्रदेशमा पार्टीको आगामी भूमिकाबारे स्पष्ट निर्देशन पाउँ भनेर प्रदेश कार्यसमितिबाट सभापतिज्यूलाई परिपत्र गरेको छु ।’

सभापति थापाका अनुसार कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राई परिपत्र बोकेर काठमाडौँ आएका थिए । उनी अहिले पनि काठमाडौँमै छन् । कोशी प्रदेशमा कांग्रेसको आगामी भूमिकाबारे सभापति देउवाको निर्देशन लिएर विराटनगर फर्किने राईको योजना छ । ‘पत्र बोकेर प्रदेशका महामन्त्री (भूपेन्द्र राई) काठमाडौँ जानु भएको थियो । पार्टीले हिजो निर्णय नगरेपछि उहाँ फर्किनु भएको छैन । बिहान मेरो कुरा भएको थियो । आज साँझसम्म पार्टीले निर्णय दिन्छ,’ थापाले भने ।

उपसभापति र महामन्त्रीहरूले कार्कीलाई विश्वासको मत दिन सुझाएपछि देउवाले सोही अनुसारको निर्देशन दिने बुझिएको छ । महामन्त्री शर्माले भने, ‘हिजो कोशीका सन्दर्भमा हामीले छलफल गर्‍यौँ । आ–आफ्ना दृष्टिकोण राख्यौँ । कोशीमा विश्वासको मत दिन उपयुक्त हुन्छ भन्ने कुरा मैले पनि राखेँ ।’

उनका अनुसार आज पुनः छलफल बस्ने टुङ्गो नभएकाले सभापति देउवाको मौखिक निर्देशन अनुसार कोशीमा कांग्रेसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिनेछ ।

मुख्यमन्त्री कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । सभापति थापाले विश्वासको मत लिने सम्बन्धमा छलफलका लागि संसदीय दलको बैठक बोलाएका छन् ।

 माओवादीले पनि कार्कीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । सोमबारको बैठकले माओवादी प्रदेश कमिटीको विश्वासको मत दिने निर्णय गरेको थियो ।

उक्त निर्णयको अनुमोदन दलको बैठकले गराउने माओवादीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको भनाइ छ । यता नेकपा एकीकृत समाजवादीले पनि कार्कीलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्मा एमालेलाई पनि सहभागी गराएका छन् ।

मुख्यमन्त्री कार्कीले आइतबार एमाले संसदीय दलका उपनेता रामबहादुर मगर र कांग्रेसबाट विद्रोह गरेका सांसद शमशेर राईलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । कांग्रेस, माओवादी, एकीकृत समाजवादीले कार्कीलाई विश्वासको मत दिएर एमालेसँगको सहकार्य टुटाउन खोजेका छन् ।

मुख्यमन्त्री कार्कीमाथि सत्तारूढ गठबन्धनले सरकारमा एमालेलाई नल्याउन दबाब दिएको थियो । तर, गठबन्धनको दबाबलाई पर्वाह नगरी मुख्यमन्त्री कार्कीले एमालेलाई सरकारमा सहभागी गराएका थिए । विश्वासको मत दिएर एमालेसँगको सहकार्य तोड्न मुख्यमन्त्री कार्कीलाई नैतिक दबाब दिने गठबन्धनको रणनीति देखिन्छ ।

नेता शेखर कोइरालाले पनि मुख्यमन्त्री कार्कीलाई गठबन्धन कायम गरेर अगाडि बढ्न निर्देशन दिएका छन् । कोइरालाले रातोपाटीसँग भने, ‘अहिले हामीले गठबन्धन तोड्नुहुँदैन भनेर उहाँ (केदार कार्की)लाई मैले भनेको छु । तर, के गर्नुहुन्छ ? गर्ने त उहाँले हो नि । ३९ जना एमालेका सांसदले साथ दिनुभएको छ । मैले चाहिँ गठबन्धन नतोड भनेको छु ।’

कार्कीलाई साथ नदिएका कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउँदा राम्रो हुने कोइरालाको भनाइ छ । ‘उहाँलाई सरकारमा लिनुपर्छ । भोलि–पर्सि भए पनि गठबन्धनका सबैलाई सरकारमा सहभागी गराउँदा राम्रो हुन्छ । मैले सबैलाई समेटेर अगाडि बढ्नु भनेको छु,’ उनी भन्छन् ।

एमाले संसदीय दलको नेता हिक्मत कार्कीले मुख्यमन्त्रीले गठबन्धनलाई सरकारमा सहभागी गराए आफूले साथ दिन नसक्ने बताउँदै आएका छन् ।

दसैँपछि दलको नेता

कोशी प्रदेशमा नेता शेखर कोइराला पक्षीय कार्की विद्रोह गरेर मुख्यमन्त्री बनेपछि शनिबार उद्धव थापाले कांग्रेस संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।

कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने शुक्रबार नै राजीनामा बुझाएका थिए । अहिले कांग्रेस कोशी प्रदेश संसदीय दल पदाधिकारीविहीन अवस्थामा छ । संसदीय दलको नयाँ नेता चयन नभएसम्म निवर्तमान नेता थापाले जिम्मेवारी निर्वाह गर्ने छन् ।

‘हामी दसैँपछि संसदीय दलको नेताका सम्बन्धमा निर्णय गर्छौँ । अहिले मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि हामी माननीयहरू बैठक बस्छौँ । दलको नेता नयाँ नहुन्जेलसम्म कामकाजी भूमिका पूर्व दलको नेताका रूपमा मैले गर्छु,’ थापाले भने ।

मुख्यमन्त्री कार्कीलाई नै दलको नेता बनाउने सम्भावना बढी छ । गत वर्ष पुस १५ मा मुख्यमन्त्री कार्की प्रदेश सभापति थापासँग दलको नेतामा पराजित भएका थिए । थापाले १८ मत पाउँदा कार्कीले ९ र अमृत अर्यालले २ मत पाएका थिए । नयाँ दलको नेता सर्वसम्मत चयन गर्ने प्रयास गरिने प्रदेश सभापति थापाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप