शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंक तथ्याङ्क

जीडीपीको आकारभन्दा ठुलो निक्षेप होल्ड गर्दै बैंकहरु, कर्जा लगानी ५० अर्बले वृद्धि

बिहीबार, ०२ कात्तिक २०८०, १३ : ३२
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । पछिल्लो महिना बैंकहरुमा निक्षेपसँगै कर्जा लगानी समेत बढ्न पुगेको छ । आर्थिक मन्दीको प्रभाव केही समय यता बैंकहरुमा निक्षेप बढे पनि कर्जा लगानी भने बढ्न सकेको थिएन । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूमा ५ खर्ब भन्दा बढी तरलता थुप्रिन पुगेको थियो । 

तर, चालू आर्थिक वर्षको भदौ महिनामा भने निक्षेपसँगै कर्जा लगानी समेत बढेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ । बैंकका अनुसार यस अवधिमा १ खर्ब ३२ अर्बले बढ्दै बैंकहरुको कूल निक्षेप ५७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो महिना अर्थात् साउनमा यस्तो निक्षेप १ खर्ब ५९ अर्बले घट्दै ५६ खर्ब १२ अर्ब रुपैयाँ संकलन भएको थियो । 

यस्तै भदौ महिनामा यता कर्जा लगानी समेत ५० अर्बले बढ्दै बैंकहरुको कूल लगानी ४९ खर्ब १२ अर्ब रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो महिना १६ अर्ब रुपैयाँले घट्दै बैंक तथा वित्तीय संस्थाहरूले कूल ४८ खर्ब ६२ अर्ब रुपैयाँ लगानी गरेका थिए । 

निक्षेप संकलनसँगै यता कर्जा लगानी समेत बढ्नुले पछिल्लो समय वित्तीय क्षेत्र सुधारोन्मुख रहेको केन्द्रीय बैंकले जनाएको छ । समग्रमा बैंक तथा वित्तीय संस्थामा जम्ममा भएको निक्षेप मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा १०६.७३ प्रतिशत र कर्जा लगानीको हिस्सा ९१.२८ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार हाल नेपालको कूल जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ हाराहारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप