आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

दुई किलो चिनी किन्न धादिङका जनता काठमाडौँका सुपथ मूल्य पसलमा

बिहीबार, ०२ कात्तिक २०८०, १६ : १३
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । बजारमा चिनी अभाव भएपछि  धादिङदेखि मानिसहरु दुई किलो चिनी किन्नका लागि काठमाडौँको सुपथ मूल्य पसलमा आएका छन् । नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौँको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका हुन् । 

दसैँ, तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निभाउन नसकेको भट्टराईले बताए । उनले मुख्य चाडपर्वको समयमा २ किलो चिनी खरिद गर्न धादिङदेखि काठमाडौँ आउनुपर्ने बाध्यता सरकारको लापरवाहीकै कारण भएको भन्दै आक्रोश व्यक्त गरे । उनले चिनीलगायत दैनिक उपभोग्य वस्तुको उपलब्धता सयमा नै गराउनु राज्यको दायित्व भएको भन्दै राज्यले जनताप्रतिको दायित्व बिर्सेको आरोप लगाए । 

भट्टराईले धादिङका खाद्यान्न पसलहरुमा चिनी नपाएको पाएपनि किलोको १६० रुपैयाँसम्म पर्ने गरेको बताए । उनले जन्मेदेखि पहिलो पटक धादिङबाट २ किलो चिनी किन्न काठमाडौँमा आउनु परेको बताए । 

त्यस्तै, सहुलियत पसलमा चिनी किन्न लाइनमा बसेकी सावित्रा उप्रेतीले चिनी किन्न दुई घण्टा लाइन लाग्नुपरेका बताइन् ।  उनले नेपालीको मुख्य चाड दसैँ, तिहार र छठ आउने समयमा सरकारले आवश्यकतालाई हेरेर समयमा नै उपलब्धता गराउन नसक्नु जनतालाई दुःख दिएको बताइन् । 

उनले सरकारले सञ्चालन गरेको सहुलियत पसलभन्दा बाहिरका पसलहरुमा चिनी नपाएको भन्दै २ किलो भएपनि लाइन बसेर लिन आएको बताइन् । उनले सरकार जनताप्रति उत्तरदायी नहुँदा हरेक वर्ष ग्यास, चिनी, नुनलगायत अन्य खाद्यन्नको अभाव झेल्दै आएको भन्दै जनतालाई सधैँ सास्ती मात्रै दिएको बताइन् । 

त्यस्तै, कीर्तिपुरबाट चिनी किन्नको लागि सहुलियत पसल आएकी पवित्रा थापाको पनि उस्तै गुनासो रहेको छ । उनले बजारमा चिनी नै नपाएकाले सहुलियत पसलमा चिनी किन्न आएको बताइन् । उनले २ किलो चिनी किन्न लामो लाइन बस्नुपर्दा दुःख लागेको बताइन्  । उनले सरकारले राम्रो काम गर्न नसक्दा चाडपर्वको मुखमा जनताले दुःख पाएको भन्दै जनताप्रति सरकार उत्तरदायी बन्न नसकेको उल्लेख गरिन् ।

यता साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई २ केजी उपलब्ध गराउने बताए । उनले सरकारले चाडपर्व लक्षित सञ्चालनमा आएका सहुलियत पसलमा लाइनमा बस्ने उपभोक्ताहरुलाई खाली हात पठाउने बताए । उनले लाइनमा बस्ने उपभोक्ताहरुले अनिवार्य २ केजी चिनी पाउने बताए । उनले चिनी अभावको कारणले सहुलियत पसलहरुमा चिनी किन्न आउने उपभोक्ताहरुको भीड रहेको बताए । उनले चिनी अभाव हुने विषयमा गत जेठ महिनामा नेपाल सरकारसँग आग्रह गरेपनि सरकारले तत्कालीन समय स्वीकृति नदिँदा चिनीमा समस्या आएको बताए ।

निर्देशक ब्रजेशकुमार झाले सरकारले समयमा नै स्वीकृत दिएको भए समयमा चिनी आयात भएको भए अभाव नहुने बताए । उनले सरकारले भदौ २७ गते निर्णय गरेर १० हजार मेट्रिक टन साल्ट ट्रेडिङ कर्पोरेसन र १० हजार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई स्वीकृत दिएपनि भारतमा चिनी निर्यातमा रोक लगाएको कारण समस्या भएको बताए । उनले चिनी खरिद प्रक्रिया अगाडि बढाएपनि चाडपर्वमा ल्याउन नसकिएको बताए । उनले सरकारले आन्तरिक बजारबाट तत्कालको ७० टन चिनी २ केजीको दरले उपभोक्तालाई दिन उपलब्ध गएर ९७ रुपैयाँ प्रतिकेजीको दरले काठमाडौँका ८ वटै आउटलेटबाट बिक्री गरिरहेको बताए । उनले विगतका वर्षहरुको भन्दा यो वर्ष सरकारले सञ्चालन गरेको सहुलियत पसलहरुको व्यापार कमी आएको बताए ।  

निर्देशक झाले दसैँ, तिहार र छठमा चिनी अभाव हुन नदिन साल्ट ट्रेडिङ लिमिटेडले सरकारसँग समन्वय गरेपनि सरकारको निर्णयमा ढिलाइ हुँदा समस्या भएको बताए । आन्तरिक रूपमा उत्पादन भएको चिनी ‘स्टक’ सकिएपछि अहिले बजारमा चिनी मूल्य ह्वात्तै बढेको छ । 

साल्ट ट्रेडिङ र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले अहिले विभागले उपलब्ध गराएको ७० हजार किलो चिनी उपभोक्तालाई प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरिरहेको छ । चाडपर्वमा जनताले २ किलो चिनी पाउन समेत विभिन्न समस्या झेल्नुपर्ने बाध्यता सरकारको लाचारीपनको कारण भएको हो । हरेक वर्ष चाडपर्वमा नागरिकहरुले मूल्य वृद्धि र सामान अभाव झेल्नुपर्ने समस्या समाधानको लागि सरकारले समयमा नै सोच्नुपर्ने अवस्था आएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप