सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘पार्टीहरुको आन्तरिक लोकतन्त्र नै असाध्यै कमजोर छ’

बालुवाटारमा बैठक बस्दा मोही र मकै खाजा खाने गरेका छौँ : अग्नि सापकोटा
बिहीबार, ०२ कात्तिक २०८०

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान गठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन् । कोशी प्रदेशमा गठबन्धनको निर्णयलाई कांग्रेसकै एउटा समूहले चुनौती दिए पनि त्यसको प्रभाव थप विस्तार नहुने उनको भनाइ छ ।

उनले देशमा लामो समयदेखि जकडिएका समस्या समाधानमा सरकार केन्द्रित रहेको जिकिर गर्दै तुलनात्मक रुपमा थोरै भए पनि केही राम्रा काम भइरहेको पनि दाबी गरे । समसामयिक राजनीतिक परिस्थिति, सत्तारुढ गठबन्धन र नेकपा माओवादी केन्द्रसँग सम्बन्धित विभिन्न विषयमा केन्द्रित रहेर रातोपाटीले पूर्व सभामुखसमेत रहेका सापकोटासँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

तपाईंले अब संसदीय राजनीति छाड्नुभएको हो ?

म अब चुनाव लड्ने कुरा अन्त्य भयो । किनभने म तीन पटक चुनाव लडेँ । अरु पार्टी र हाम्रो पार्टीमा अलि भिन्न छ । अरुको चाहिँ चुनावदेखि चुनावसम्म छ । हाम्रोमा त्यस्तो छैन । अरुकोमा आफू एक पटक नेता भएपछि बाँकीचाहिँ कार्यकर्ता नै बनिरहने हुन्छ । हाम्रोमा अलि भिन्न छ ।

‘हाम्रो’ भनेको माओवादी केन्द्रको भन्नुभएको किअग्नि सापकोटाको कुरा गर्नु भएको हो ?

होइन, मैले माओवादी केन्द्रको कुरा गरेको हो ।

त्यसो भए अध्यक्ष प्रचण्डलाई व्यङ्ग्य गर्नुभएको ?

सबैको निरपेक्ष समानता त हुँदैन नि । प्रचण्डको नेतृत्व त आवश्यक नै छ नि ।

प्रचण्डको मात्र कुरा कहाँ हो र ? चुनाव आयो कि लडिहाल्ने, सरकार बन्यो कि मन्त्री बनिहाल्ने नेता कति छन् कति, होइन र ?

यसले छलफलको वातावरण बनाएको छ भन्नुस् न ।

संसदीय राजनीति छाड्नु भनेको मन्त्री, सांसद नबन्ने कुरा हो । यसको मतलब राष्ट्रपतिको पर्खाइ होला होइन ?

अहिले त्यसको सन्दर्भ नै छैन । सन्दर्भ आएपछि छलफल गरौँला नि ।

माओवादी पार्टी बनाउँदा होस्, जनयुद्ध गर्दा होस्, जे उद्देश्य राख्नुभएको थियो, माओवादी त्यही दिशामा अघि बढिरहेको छ ?

सम्झौताबाट बनेको संविधानको कार्यान्वयनमा छौँ । त्यसका नकारात्मक पक्षहरुले हामीलाई कति पनि प्रभावित पारेको छैन भन्ने कुरा होइन । हामी रुपान्तरण हुनैपर्छ । ‘तँ रुपान्तरण हो’ भन्ने होइन कि ‘म रुपान्तरण हुन्छु’ भन्नेचाहिँ क्रान्ति हो । अहिले त्यसकै आवश्यकता छ ।

agniprasad-sapkota

माओवादी अध्यक्षको नेतृत्वमा सरकार छ । महँगीले जनताको ढाड सेकिरहेको छ । माओवादीका गिनेका नेता र तिनका परिवार भ्रष्टाचार काण्डमा मुछिन थालेका छन् । तिनलाई जोगाउन सरकार लागिपरेको छ भन्ने छ । पार्टी सुध्रिनेभन्दा सक्किने बाटोतिर अग्रसर देखिन्छ । यो सारा हेर्दा तपाईजस्तो नेतालाई धुरुधुरु रुन मन लाग्दैन ?

विकृति र विसङ्गति देख्दा चिन्ता लाग्छ । तर पनि अहिलेको सरकारले जनताको हितमा काम पनि गरिरहेको छ । मिटरब्याजीविरुद्ध कानुन बनेको छ, नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा लगायतका प्रकरणमा सरकारले दृढतापूर्वक काम गरिरहेको छ । शक्तिशाली सन्देश दिएको छ । नेताहरु जोगाउन लागेको भन्ने कुरा सत्य होइन ।

त्यसो हो भने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउन माओवादीकै नेता किन लागिरहेका छन् त ?

यसमा बिल्कुल सत्यता छैन । यो प्रचारबाजी मात्र हो । उहाँलाई हटाउन खोजिएको पनि छैन र पार्टीमा यस्तो छलफल कहिल्यै भएको पनि छैन । म दृढतापूर्वक भन्न सक्छु कि त्यस्तो खालको खेलमा कमसे कम हाम्रो पार्टीका नेताहरु लागेका छैनन् ।

तपाईंले पो केही नगरेकोले भन्नुभएको होला त, कसैको त छात्ती भतभती पोलेको होला नि त डरले ?

हामीले नै शक्तिशाली आयोग गठन गरिसकेपछि अब आशंका धेरै किन गर्ने ?

माओवादी केन्द्र मुलुकका लागि समस्या भयो, यो अब सुध्रिँदैन बरु सकिएको राम्रो भन्ने तहबाट बहस सुरु भएको सुनिन्छ नि ?

माओवादी नै यस्तो पार्टी हो जसले यो धर्ती कै ध्यानाकर्षित गर्यो कुनै बेला । त्यस्तो शक्तिशाली साइरन बजाएको थियो, जसले गर्दा विश्वभरका उत्पीडित जनसमुदाय नै आकर्षित भए । यसकारण यो प्रश्नले तपाईलाई छुन्छ र ? मलाई त छोएन ।

आशा त जगायो, तर त्यसलाई पूरा गर्यो त ?

जुन आँधीबेहरी सृष्टि गरेर व्यवस्था परिवर्तन भयो, तर जनताको अवस्थामा परिवर्तन गर्न बाँकी छ । कहिलेकाहीँ चिल सतहमा उड्छ तर आवश्यक पर्यो भने त्यो चिल वेग मारेर आकाशमा उड्छ । माओवादी पार्टीलाई त्यही सम्झिनुस् ।

प्रचण्डको कार्यशैली नै परिवर्तन भएको छैन भने उहाँबाट परिवर्तनको आशा के गर्ने ? महँगीले जनता दसैँ मान्न नसक्ने अवस्थामा छन् तर देशमा माओवादीको नेतृत्वमा  सरकार मुक दर्शक छ, होइन र ?

एक लिटर पेट्रोलमा ११ रुपैयाँ घटेको, राहदानी बनाउन लाइन बस्नु पर्न छाडेको, प्रवासी नेपालीले नागरिकता प्राप्त गरेको, भ्रष्टाचारविरुद्ध अभियान छेडेको कुरा पनि गर्नुस् न । धेरै बिग्रिएको परिस्थितिमा राम्रो कामको सुरुवात हुँदैछ । कार्यशैलीको कुरा गर्दा सानो कुरा हो तर कहिलेकाहीँ बालुवाटारमा पदाधिकारीको बैठक बस्दा मोही र मकै खाजा खाने गरेका छौँ ।

माओवादी नेतृत्वको सरकार हुँदा मुलुकमा धार्मिक द्वन्द्व बढेर जाने हो कि भन्ने चिन्ता बढेर गएको छ । यस्तो किन भयो ?

यसमा धमिलो पानीमा माछा मार्ने उद्देश्य निहित छ र राजनीति पनि छ । तर यसमा त्यस्ता तत्त्व सफल हुँदैनन् । यसमा योभन्दा बढी धेरै व्याख्या नगरौँ ।

हिजो तपाईंहरुले नै रोपेको बिउ फैलिएको भनिन्छ नि ।

यो आरोपलाई म सरासर खारेज गर्छु । हामीले त पहिचानको कुरा गरेको हो । हामीले जातीय, धार्मिक राज्यको कुरा कहिल्यै गरेनौँ । हामीले संघीयताको कुरा गर्यौँ, समानताको कुरा गर्‍यौँ ।

agni sapkota

प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति पनि समाजमा तिक्तता बढाउने खालका छन्, उहाँ किन यसरी बोलिरहनु भएको छ ?

बोलेका कुरालाई थोरै बङ्ग्याउँदा पनि अर्थको अनर्थ हुँदो रहेछ । उहाँको मनसाय त्यस्तो भड्काउने चाहिँ होइन । सार कुरा चाहिँ जनताप्रति, देशप्रति समर्पित हुनुबाहेक मेरो अर्को कुनै उद्देश्य छैन भनेको पो लाग्छ मलाई त ।

प्रचण्ड त प्रधानमन्त्री हुनुहुन्छ अर्थात् काम गर्ने ठाउँमा पो हुनुहुन्छ त, कामले जवाफ दिए हुँदैन ?

कामले नै जवाफ दिनुचाहिँ राम्रो हो । उहाँ माओवादी केन्द्रको अध्यक्ष पनि हो । त्यसकारण अन्य दलका नेताहरुले उठाएका प्रश्नको जवाफ दिएको रुपमा बुझ्नु पर्छ ।

कोशी प्रदेशको डढेलो सिंहदरबारसम्म आउँछ भनिदैछ, प्रचण्ड नेतृत्वको सरकार कति टिक्छ अब ?

मेरो सूचनामा यो गठबन्धन पाँचै वर्ष टिक्छ । कोशीमा अलिकति अपरिपक्वता र दुवैतर्फबाट संवैधानिक नैतिकताको प्रश्न उठाउने काम भयो । त्यसैको परिणामको रुपमा लिनुपर्छ ।

हिजो एमालेभित्र तपाईंले विद्रोह गराउन सहयोग गर्नुभयो, अहिले शेखर कोइराला तपाईंले सिकाएकै बाटोमा गएर विद्रोह गरे भन्ने छ नि ?

म यसलाई सरासर खारेज गर्छु ।

तपाईंले सिकाएको होइन त ?

सभामुख हुँदा मैले जे गरेँ, मलाई गौरव छ । किनकि मैले संविधान, नियम, ऐन र प्रतिनिधि सभा नियमावलीअनुसार गरेको छु ।

अहिलेको संसदले कामै गर्न सकेन भन्ने छ, पूर्व सभामुखको हैसियतले के भन्नुहुन्छ ?

मूल कारणचाहिँ पार्टीहरुको आन्तरिक लोकतन्त्रनै असाध्यै कमजोर छ । पार्टीका नेताहरु लोकतन्त्रका मूल्य, मान्यता, आदर्शप्रति प्रतिबद्ध छैनन्, इमानदार छैनन् । त्यसकारण यो समस्या आएको हो ।

अहिलेको सभामुखको भूमिकालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? उहाँले कतिपय सन्दर्भमा निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको कुरा आइरहेका छन् नि ?

म त्यसरी टिप्पणी त गर्न चाहन्नँ । तर सभामुख पद भनेको धेरै महत्त्वपूर्ण पद हो । त्यो उचाइका साथ आफूलाई तयार पार्दै समन्वय गर्ने कामचाहिँ सभामुखको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया