बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा

मङ्गलबार, ०५ साउन २०८३, २२ : २८
मङ्गलबार, ०५ साउन २०८३

नयाँ दिल्ली । भारतीय कंग्रेसका नेता तथा लोकसभाका विपक्षी दलका नेता राहुल गान्धी हिरासतबाट मुक्त भएका छन् । 

राजधानी नयाँ दिल्लीस्थित प्रधानमन्त्री नरेन्द्र मोदीको निवास नजिकै विरोध प्रदर्शन गर्ने क्रममा नियन्त्रणमा लिइएका गान्धीलाई प्रहरीले पछि छाडिदिएको हो ।

निट–युजी २०२६ को प्रश्नपत्र बाहिरिएको घटनाको जवाफदेहिता माग्दै र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै राहुल गान्धी र कंग्रेस सांसद प्रियंका गान्धी वाड्रासहितका नेताहरूले मंगलबार प्रदर्शन गरेका थिए । 

यसअघि लोक कल्याण मार्गस्थित प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासतर्फ विरोध र्‍यालीको नेतृत्व गरिरहेका बेला दिल्ली प्रहरीले राहुल र कंग्रेस सांसद प्रियंका गान्धी वाड्रालाई नियन्त्रणमा लिएको थियो । 

प्रहरीले राहुल गान्धीलाई विरोध स्थलबाट हटाउने प्रयास गर्दै बोकेर बसमा राखेको देखिएको थियो । राजाजी मार्गबाट लोक कल्याण मार्गतर्फ बढेका प्रदर्शनकारीहरूलाई सुरक्षाकर्मीले तितरबितर पार्ने क्रममा धेरै कंग्रेस नेता तथा कार्यकर्ताहरूलाई पनि नियन्त्रणमा लिएको थियो । 

प्रदर्शनकारीहरूले अघिल्लो दिन प्रश्नपत्र बाहिरिएको विरोधमा उत्रिएका विद्यार्थीहरूमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप