शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न सकिँदैन : एनआरएनए असन्तुष्ट पक्ष

शनिबार, ०४ कात्तिक २०८०, २० : ४९
शनिबार, ०४ कात्तिक २०८०

काठमाडौँ । ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्याशी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका छन् । शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो बताएका हुन् । 

उनीहरूले मत परिणाममा भएको त्रुटिबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको बताए । सहमति विपरीत आजै शपथग्रहण गर्नुले धाँधली भएको पुष्टि हुने उनीहरूको आरोप छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार शर्माले आइटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँधली भएको स्पष्ट हुने बताए । उनले धाँधली नभएको भए रातारात शपथ खानुपर्ने अवस्था नरहेको बताए । उनले गैर आवासीय नेपाली संघ निष्पक्ष, साझा र सबल हुनुपर्ने बताए ।

उनले भने, ‘आइटी विज्ञ राखेर निर्णय गरौँला भन्नुभएको थियो, त्यो नभइसकेपछि उहाँहरूले धाँधली गरेर जितेको स्पष्ट हुन्छ । आजै शपथ खानुपर्ने र दुई हप्तापछि खानुपर्नेमा मलाई लाग्दैन दुई हप्तामा ठुलै पहाड पल्टिन्छ । धाँधली नभएको भए रातारात शपथ खानुपर्ने थिएन । उहाँहरू सच्चा हुनुहुँदो रहेनछ । गैर आवासीय नेपाली संघ निष्पक्ष हुनुपर्छ, साझा हुनुपर्छ । सबल हुनुपर्छ ।’

अध्यक्षका अर्का प्रत्याशी महेशकुमार श्रेष्ठले सीमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाए । उनले सीमित समूहले केही पनि गर्न नसक्ने भन्दै उहाँले गैर आवासीय संघ झनै नराम्रो भएको बताए ।

उनले भने, ‘उहाँहरूले सीमित समूहलाई आधिकारिकता दिन गर्नुभएको प्रयत्न हो । यो सामाजिक संस्थामा सबैलाई समेट्नुपर्छ । त्यो प्रयत्न उहाँहरूले गर्नुपर्दथ्यो । सीमित समूहले के गर्न खोज्नुभएको हो ? अध्यक्ष भएर पनि के गर्न सक्नुहुन्छ ? यसले नराम्रो असर पर्छ । यसै पनि अविश्वास थियो । अहिले झनै नराम्रो भएको छ ।’ अध्यक्षका प्रत्याशी श्रेष्ठले पदकै लागि जे पनि गर्न नहुने जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप