बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी महानिरीक्षक कुँवर गरे दसैँको मौलो पूजा

सोमबार, ०६ कात्तिक २०८०, १० : ३२
सोमबार, ०६ कात्तिक २०८०

काठमाडौँ ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बडा दसैँका अवसरमा सोमबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।

नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाए । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खा थारूलाई नगद पुरस्कार प्रदान गरे ।  

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।

maulo puja (2)

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रूपमा निशान झण्डालाई लिईन्छ । 

संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।

साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप