शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
संरचना

कोरला नाका : चीनतर्फ भव्य भवन, नेपालतर्फ  राष्ट्रिय झण्डा मात्र

बिहीबार, ०९ कात्तिक २०८०, ०९ : ४३
बिहीबार, ०९ कात्तिक २०८०

पोखरा । चीनले कोरला नाकाको दशगजा कट्ने बित्तिकै भन्सारका भव्य संरचना बनाएको छ । नाका खोल्ने तयारी साथ यहाँ बीओपी र क्वारेनटिन पनि बनिसकेको छ । केही समयभित्रै यी संरचनाको उद्घाटन गरेर नाका खोल्ने तयारी चीन पक्षको छ । नेपालतिर भने कुनै तयारी छैन । नाकाभन्दा १८ किलोमिटर वर नेचुङमा थोत्रो घरभित्र भन्सार र क्वारेनटिन छ । 

अहिले वीओपी पनि नेचुङमै बनाइएको छ । नेपालको तर्फबाट नाकाको उच्च प्रयोगको कुनै मोडालिटी तयार भएको छैन । यद्यपि चीन र नेपाल आउजाउ गर्ने स्थानीयलाई सरकारी पास वितरण गरिएको छ । १ हजार भन्दा बढी पास लोमान्थाङ र लो घेकर दामोदर कुण्ड गाउँपालिकाका नागरिकलाई वितरण गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । 

उनका अनुसार नाका सञ्चालनका लागि सुरक्षा समन्वय समितिको बैठक पनि पटक पटक बसिसकेको छ । नाका खुलेपछि उपल्लो मुस्ताङका बासिन्दा चीनको सीमावर्ती ३० किलोमिटर भित्र निर्बाध आउजाउ गर्न पाउँछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नाकाको निरीक्षण गरेर फर्किएका छन् । 

नाकामा कुनै पूर्वाधार नभए पनि नेपाल पक्षले चन्द्र सूर्य अङ्कित तीनकुने झण्डा फहराएको छ । लोमन्थाङ गाउँपालिकाले नाकामा राष्ट्रिय झण्डा गाडेको हो । जिल्ला प्रशासन कार्यालय र वीओपीको समन्वयमा झण्डा गाडिएको पालिका अध्यक्ष टसी न्हुर्वु गुरुङले जानकारी दिए । २० फुट अग्लो फलामे रड गाडेर जस्तापातामा झण्डाको आकार दिएर टाँगिएको उनले बताए ।

कोरला नाका नेपालचीन सिमानाको २४ नम्बर पिलरमा पर्छ । ‘परतिर ठूल्ठूला भवन छन् । नेपालपट्टि पिलर बाहेक केही छैन,’ गुरुङले भने, ‘कमसेकम नाकामा पुग्ने नेपालीलाई झण्डा देखेर गर्व होस् भन्ने लागेर राखेका हौँ ।’ 

आन्तरिक पर्यटकका लागि कोरला आकर्षण बन्दै गएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले नागरिकलाई राष्ट्रियतासँग जोड्न झण्डा गाडिएको बताए । ‘हामीसँग नाकामा केही छैन भनेर निराश हुँदै फर्किन्छन् त्यहाँ पुग्नेहरू । देशका भीआइपीहरु पनि निरीक्षणका लागि आइरहनुहुन्छ,’ उनले भने, ‘झण्डा भनेको पूरा देश रहेछ । स्वाभिमान रहेछ । आत्मीयता जोड्नका लागि हामीले संरचना बनाउन नसके पनि झण्डा गाड्यौं ।’ 

कोरला लोमान्थाङ गाउँपालिकाभित्र पर्छ । झण्डासँगै पर्यटकको बिश्रामस्थल, रेस्टुरेन्ट र शौचालय लगायत संरचना निर्माण गर्न पालिकाले यो वर्ष बजेट विनियोजन गरेको छ । १५ लाख रुपैयाँ खर्च गरेर यी संरचना बनाइने उपाध्यायले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप