मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
कृषि

स्वदेशी मात्रै १६ थरी आलु : कुन क्षेत्रमा के जात रोप्ने ?

बिहीबार, ०९ कात्तिक २०८०, १४ : ३८
बिहीबार, ०९ कात्तिक २०८०

काठमाडौँ । आलुको तरकारी मन नपराउने को पो नहोला र ? सबैको भान्सामा आलुको विभिन्न ‘भेराइटी’ पाक्छ । ठाउँअनुसार बाह्रै महिना उत्पादन हुने १६ थरी आलुको बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको छ । यी आलुको बीउ २०४९ सालदेखि २०७६ सालको बिचमा सिफारिस गरिएको हो । 

यी आलुले १० देखि ४० मेट्रिक टन प्रतिहेक्टर उत्पादन दिने नार्कले उल्लेख गरेको छ । यस आलेखमा नार्कले सिफारिस गरेको आलुले दिने उत्पादन, रोप्ने समय, क्षेत्रलगायत विषयको चर्चा गरिएको छ । 

कुफ्री ज्योति / कुफ्री सिन्दुरी 

कुफ्री ज्योति आलु पहाडमा वर्षे बालीका रूपमा माघ, फागुन र चैत्रमा रोप्न सकिन्छ । हिउँदका लागि असोज र कार्तिक महिनामा यो आलु रोप्न सकिने नार्कले जनाएको छ । त्यस्तै, असार र साउनमा पश्चिमका उच्च पहाडी क्षेत्रमा कुफ्री ज्योति आलु सिफारिस गरिएको छ । 

तराईमा हिउँदे बालीको रूपमा र तल्लो पहाडी भेगका लागि कुफ्री सिन्दुरी आलु सिफारिस गरिएको छ । यी दुवै जातको आलु नार्कले २०४९ सालमा सिफारिस गरेको हो । यी दुवै आलुको उत्पादन क्षमता प्रतिहेक्टर २३ मेट्रिक टन छ । 

डेजिरे 

तराईमा हिउँदे बालीको रूपमा असोज र कार्तिक महिनामा डेजिरे जातको आलु रोप्न सकिन्छ । मध्य पहाड र तल्लो पहाडमा भदौ र असोज महिनामा खेती गरिन्छ । यस्तै, मध्य पहाडदेखि उच्च पहाडमा यो आलुको खेती वर्षे बालीको रूपमा माघ र फागुनमा रोपिने नार्कले जनाएको छ । 

डेजिरे आलु रोपिएको ९० देखि एक सय २० दिनमा तयार हुन्छ । यो आलुको उत्पादन क्षमता प्रतिहेक्टर १८ मेट्रिक टन छ । यो आलुको बीउ २०४९ सालमा नार्कले सिफारिस गरेको हो । 

जनकदेव 

मध्य तथा उच्च पहाडी क्षेत्रमा गृष्म ऋतु, उपत्यका तथा तराई क्षेत्रमा शरद ऋतु र कम पानी पर्ने उच्च पहाडी क्षेत्रमा वर्षा ऋतुमा जनकदेव आलु खेती गर्न सकिन्छ । 

यो आलु प्रतिहेक्टर ३९ दशमलव ४ मेट्रिक टन उत्पादन हुन्छ । रोपेको एक सय १० दिनमा यो आलु तयार हुन्छ । नार्कले जनकदेव आलुको बीउ २०५६ सालमा सिफारिस गरेको हो । 

खुमल सेतो १ 

मध्य तथा उच्च पहाडी क्षेत्रमा गृष्म ऋतु, कम पानी पर्ने उच्च पहाडी क्षेत्रमा र मध्यपहाडी क्षेत्रमा शरद ऋतुमा खुमल सेतो १ आलु रोप्न सकिन्छ । यसको उत्पादन प्रतिहेक्टर ३८ मेट्रिक टन छ । यो आलु रोपेको एक सय १० दिनमा तयार हुन्छ । नार्कले खुमल सेतो १ आलुको बीउ २०५६ सालमा सिफारिस गरेको हो ।  

खुमल रातो २ 

तराई, भित्री मधेस तथा खोंचहरुमा शरद ऋतुमा खुमल रातो २ आलु खेती गर्न सकिन्छ । यसको उत्पादन प्रतिहेक्टर ३६ मेट्रिक टन छ । यो आलु रोपेको एक सय १० दिनमा तयार हुन्छ । नार्कले यो आलुको बीउ २०५६ सालमा सिफारिस गरेको हो ।  

खुमल लक्ष्मी 

मध्य तथा उच्च पहाडी भेगमा वर्षे बालीको रूपमा, सुख्खा उच्च पहाडी भेगमा मनसुन बालीको रूपमा र तराई तथा भित्री मधेसमा शरद तथा हिउँदे बालीका रूपमा खुमल लक्ष्मी आलु लगाउन सकिन्छ । 

रोपेको एक सय २० देखि एक सय ४० दिनमा प्रतिहेक्टर २४ देखि २८ मेट्रिक टन यो आलु उत्पादन हुन्छ । खुमल लक्ष्मी आलुको बीउ २०६५ सालमा नार्कबाट सिफारिस भएको हो । 

आई पी वाई ८ 

आई पी वाई ८ आलु तराई तथा भित्री मधेसका लागि सिफारिस गरिएको हो । यो आलु प्रतिहेक्टर २५ देखि २७ मेट्रिक टन उत्पादन हुन्छ । 

रोपिएको एक सय १० देखि एक सय २० दिनमा यो आलु तयार हुन्छ । २०६५ सालमा आई पी वाई ८ आलुको बीउ सिफारिस गरिएको हो । 

खुमल उज्ज्वल 

मध्य पहाडदेखि उच्च पहाडी क्षेत्रका लागि खुमल उज्ज्वल आलु सिफारिस गरिएको हो । यो आलु प्रतिहेक्टर २५ मेट्रिक टन उत्पादन हुन्छ । 

एक सय १० देखि एक सय २० दिनमा यो आलुको उत्पादन लिन सकिन्छ । यो आलुको बीउ २०७१ सालमा सिफारिस गरिएको हो । 

खुमल उपहार 

खुमल उपहार आलु तराई र मध्य पहाड (१२ सय मिटर उचाइ ) मा रोप्न सकिन्छ । यो आलु प्रतिहेक्टर २४ मेट्रिक टन उत्पादन दिन्छ । 

रोपेको एक सय १० देखि एक सय २० दिनमा तयार हुने खुमल उपहार आलुको बीउ २०७१ सालमा सिफारिस गरिएको हो । 

टिपिएस–१ र २

टिपिएस–१ र २ आलु तराई र मध्य पहाडको सिञ्चित क्षेत्रका लागि सिफारिस गरिएको हो । यो आलुको उत्पादन क्षमता प्रतिहेक्टर ३० देखि ४० मेट्रिक टन छ । 

यो आलु रोपेको एक सय १० देखि एक सय २० दिनमा तयार हुन्छ । आलुको यी दुवै जातको बीउ २०७१ सालमा सिफारिस गरिएको हो ।

खुमल विकास 

मध्य पहाडदेखि उच्च पहाडी क्षेत्रको १२ सय मिटरदेखि तीन हजार मिटरसम्म खुमल विकास आलु खेती गर्न सकिन्छ । खुमल विकास आलु रोपेको एक सयदेखि एक सय १० दिनमा तयार हुन्छ । 

यो आलुको उत्पादन क्षमता २५ मेट्रिक टन छ । नार्कले २०७५ सालमा खुमल विकास आल आलुको बीउ सिफारिस गरिएको हो ।

कार्डिनल 

कार्डिनल आलु तराईदेखि करिब एक सय देखि ४ हजार मिटर उचाइसम्म खेती गर्न सकिन्छ । यो आलुले प्रतिहेक्टर १८ देखि ३० मेट्रिक टन उत्पादन दिन्छ । 

रोपेको ८० देखि एक सय १० दिनमा तयार हुने कार्डिनल आलुको बीउ २०७६ सालमा सिफारिस गरिएको हो ।

रोजिटा 

मध्य र पूर्व उच्च पहाडी क्षेत्रको करिब १६ सय देखि ३५ सय मिटर उचाइसम्म रोजिटा आलुको खेती गर्न सकिन्छ । यो आलु प्रतिहेक्टर १० देखि १४ मेट्रिक टन फल्छ । रोपेको एक सय २० देखि एक सय ४० दिनमा तयार हुने यो आलुको बीउ २०७६ सालमा सिफारिस गरिएको हो ।

एमएस ४२.३ 

तराईदेखि पहाडी उपत्यका तथा खोँचको करिब एक सय देखि १६ सय मिटर उचाइसम्म एमएस ४२.३ आलुको खेती गर्न सकिन्छ । यो आलु प्रतिहेक्टर १० देखि २४ मेट्रिक टन फल्छ । रोपेको एक सय देखि एक सय २० दिनमा तयार हुने यो आलुको बीउ २०७६ सालमा नार्कबाट सिफारिस गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप