बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

महासचिव गुटरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

आइतबार, १२ कात्तिक २०८०, १६ : ४०
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो ।

सो अवसरमा महासचिव र अध्यक्षबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा राजन भट्टराईले जानकारी दिए ।

महासचिव गुटरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्तिकार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसङ्घका अन्य अधिकारीहरू सहभागी रहेका छन् ।  महासचिव गुटरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुगेका हुन् । उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए । 

साथै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् । प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप