शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अहिलेको एनआरएनएले विदेशमा रहेका नेपालीको सही प्रतिनिधित्व नगर्ने जिकिर

एनआरएनएको प्रादुर्भाव नै अपारदर्शी र कतिपयको अवैध कर्मलाई वैधता दिलाउन भएको दाबी
आइतबार, १२ कात्तिक २०८०, २२ : ००
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । विभिन्न देशमा क्रियाशील केही आप्रवासी नेपालीको एक समूहले अहिलेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपालीको सही प्रतिनिधित्व नगर्ने जिकिर गरेका छन् ।  विगत केही वर्षदेखि गैरआवासीय नेपालीको वास्तविक प्रतिनिधित्वका बारेमा प्रश्न उठिरहेको पृष्ठभूमि र दुई दुई वर्षमा काठमाडौँमा हुने सम्मेलन,जमघट तथा त्यहाँबाट घोषणा गरिने सिण्डीकेटेड पदाधिकारी छनोटबाट विश्वभर छरिएका नेपाली आप्रवासीको प्रतिनिधित्व सही नहुने उनीहरूको भनाइ छ । 

उनीहरूले विश्वभरका देशहरूमा वर्षौँदेखि विभिन्न इलम, अध्ययन, पेसा र व्यवसायका सिलसिलामा रहेका लाखौँ नेपालीको मातृभूमिप्रतिको माया, सद्भाव र सहयोगलाई एनआरएनएहरुले दलीयकरण,  व्यापारीकरण र नगदीकरण गरेको भन्दै घोर आपत्ती समेत जनाएका छन् । 
                                                 
डा सुरेन्द्र राज देवकोटा (अमेरिका), राजेन्द्र बहादुर राउत (अमेरिका) डा रमेश पन्त (अमेरिका), डा सुमन पराजुली (अमेरिका) डा आमोद पोख्रेल (अमेरिका) डा महेश भण्डारी (अस्ट्रेलिया),  डा घनश्याम भट्ट (अमेरिका) र तरुण पौडेल ( अमेरिका) ले संयुक्त वक्तव्य निकाल्दै यस्तो धारणा राखेका हुन् । 

  ‘चाहे उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया, मध्यपूर्व, अफ्रिका वा एसियाली मुलुकमा रहेका नेपालीमूलका आप्रवासीहरू मध्य दुई प्रतिशतले पनि स्वेच्छाले सदस्यता नलिएको एनआरएनएको वास्तविकता हो । यसको सदस्य,  उम्मेदवार बन्ने,बनाउने, जित्ने वा जिताउने,  यावत कर्महरू अपारदर्शी मात्रै होइन कि निर्वाचनको प्रक्रिया नै खरिदबिक्री र लिलामी हुने गरेको सार्वजनिक भइरहन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘मुद्दा–मामिला,  घिनलाग्दा गतिविधिहरू निरन्तर चर्चाका विषय भइरहन्छन् । यस संस्थाको प्रादुर्भाव नै अपारदर्शी र कतिपयको अवैध कर्मलाई वैधता दिलाउन भएको देखिँदै आएको अहिले सरोकारवालाहरूलाई स्पष्ट हुँदै छ ।  त्यसकै चपेटामा गैरआवासीय नेपाली नागरिकता समेत परेको छ ।’ 
 

एनआरएनएका नाममा केहीले गर्ने चटक ,   नैतिकताविहीन र लाज लाग्ने गतिविधिहरूले अधिकांश आप्रवासी नेपालीको प्रतिष्ठा र साखमा धक्का पुग्ने काम भएको उनीहरूको भनाइ छ । 
‘विदेशमा नेपाली मूलका आप्रवासीका नाममा दलीय झन्डा,  दलीय भाषा,  दलीय भक्ति र व्यक्ति विशेषहरूको साथै केही व्यापारीको सेवा गर्ने,  नेपालीहरू बिचमै फाटो र झगडा गराउने यस्तो एनआरएनए, यस्तो संरचना र खेलोमेलो आप्रवासी नेपालीको चाहना होइन । विदेशमा रहेका नेपाली र नेपालका बिचको सम्बन्ध बारेमा जुन भाष्य निर्माण गर्न खोजिँदै छ, साथै देश भित्र र बाहिरका नेपाली नेपाली बिचको भ्रातृत्व र भावनामा खेलबाड गर्ने र आपसमा विभाजन गराउने किसिमका गतिविधिहरू प्रति चनाखो रहन सबै नेपालीलाई आग्रह गर्दछौँ ।’
 बलियो नेपाल,  एकीकृत नेपाली,  आप्रवासी नेपालीको परिष्कृत सहकार्यका लागि उनीहरूले आह्वान पनि गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप