आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
महासमिति बैठक

महासमिति सदस्य चयन र प्रतिवेदन लेखनको चटारोमा कांग्रेस

कात्तिक २४ सम्म प्रतिनिधि छनोट नगरे भाग लिन नपाउने
सोमबार, १३ कात्तिक २०८०, २३ : ०३
सोमबार, १३ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति सदस्य छनोट गर्न बाँकी ४३ क्षेत्रीय कार्यसमितिलाई कात्तिक २४ का लागि डेडलाइन दिएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले कात्तिक २४ भित्र महाधिवेशन प्रतिनिधि छनोट गर्न ताकेता पत्र पठाएको हो ।

निर्वाचित समितिले मङ्सिर १३ देखि १५ मा काठमाडौँमा हुने महासमिति बैठकका लागि अहिले प्रतिनिधि चयनमा जोड दिएको हो । कात्तिक २४ को समयावधि तोकेर महासमिति सदस्यको निर्वाचनतिर कांग्रेस केन्द्रित छ । निर्वाचित समितिका सदस्य सचिव श्रेष्ठका अनुसार अहिलेसम्म १२२ निर्वाचन क्षेत्रमा प्रतिनिधि छनोटको काम सकिएको छ ।

१६५ निर्वाचन क्षेत्र मध्ये ४३ स्थानमा अझै प्रतिनिधि छनोट हुन नसकेको श्रेष्ठले रातोपाटीलाई बताए । 'हामी निर्वाचन समितिको बैठक बसेर महासमिति सदस्यको निर्वाचन हुन बाँकी ४३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका कार्यसमितिलाई कात्तिक २४ गतेभित्र नाम पठाउन पत्र पठाएका छौं,' उनले भने ।

यसअघि निर्वाचन समितिले असोज २९ गतेको समयावधि तोकेर महासमिति सदस्यको निर्वाचन गर्न क्षेत्रीय समितिलाई ताकेता गरेको थियो । तर, ४३ निर्वाचन क्षेत्रमा असोज २९ गतेसम्म पनि प्रतिनिधि छनोटको काम नभएपछि आज निर्वाचन समितिले पुनः ताकेता पत्र पठाएको श्रेष्ठको भनाइ छ ।

शुक्रबार महामन्त्री गगन थापाले निर्वाचन समितिसँग महाधिवेशन प्रतिनिधि छनोटबारे छलफल गरेका थिए । महामन्त्री थापासँगको छलफलपछि निर्वाचन समितिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिलाई कात्तिक २४ को मिति तोकेको छ ।

महामन्त्री थापाले भने, 'कात्तिक २४ गतेभित्र महाधिवेशन प्रतिनिधिको नाम बुझाएन भने उनीहरू महासमिति बैठकमा सहभागी हुन पाउँदैनन् । त्यसपछि हाम्रो स्टिममा नै इन्ट्री हुँदैन ।'

कांग्रेसको विधान अनुसार क्षेत्रीय प्रतिनिधिले महाधिवेशन र महासमितिका प्रतिनिधि चयन गर्ने व्यवस्था छ । यसपटक कांग्रेसको महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी रहने छन् ।

कांग्रेस महासमिति बैठकमा ११ जना सदस्य प्रतिनिधिसभाबाट निर्वाचित क्षेत्रबाट निर्वाचित भएर आउने व्यवस्था छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई महिलासहित प्रत्यक्ष ७ जना, महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसङ्ख्याको बनोटको आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन् ।

१६५ वटा निर्वाचन क्षेत्रबाट मात्रै १८ सय १५ महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ । त्यसबाहेक केन्द्रीय कार्यसमितिका वर्तमान र निवर्तमान पदाधिकारी र सदस्य, एक कार्यकालका लागि निवर्तमान महासमिति सदस्य, भ्रातृ संस्था र जनसम्पर्क समितिबाट समेत महासमिति सदस्यको प्रतिनिधित्व हुन्छ ।

कांग्रेसका ३५ देशमा जनसम्पर्क समिति छन् । क्रियाशील सदस्यताका आधारमा एक जनादेखि बढीमा ६ जनासम्म महासमिति सदस्य चयन हुने छन् । भ्रातृ र शुभेच्छुक संस्थाको अधिवेशनबाट ३–३ जना महासमिति सदस्य चयन हुनेछन् । कांग्रेसका अहिले १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन् । यी सबै गरी २५ भन्दा बढी प्रतिनिधि महासमिति बैठकमा सहभागी हुने कांग्रेसले जनाएको छ ।

०७८ मङ्सिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनमा २५ जिल्लामा मात्र महासमिति सदस्यका लागि निर्वाचन भएको थियो । बाँकी जिल्लामा महाधिवेशन प्रतिनिधि मात्र चयन गरिएको थियो ।

महाधिवेशनताका महासमिति सदस्य चयन नभएपछि अहिले धमाधम निर्वाचन भइरहेको छ । कांग्रेसले केन्द्रमा पनि नीतिमाथि कुनै छलफल नगरी पदाधिकारी र सदस्यको निर्वाचनमात्रै गरेको थियो ।

६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले अहिले महासमिति बैठकमै आगामी नीति तय गर्न लागेको देखिन्छ ।

विधानले नीति महाधिवेशनको व्यवस्था नगरेको र सहभागी प्रतिनिधिको विषयमा जटिलता देखिएपछि कांग्रेसले महासमितिलाई नीति महाधिवेशनको विकल्पमा व्याख्या गरेको छ ।

कांग्रेसको विधानमा महाधिवेशन भएको वर्षमा बाहेक प्रत्येक वर्ष महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ । महासमितिमा समसामयिक राजनीतिक विषयमा विचार निर्माण गर्नुको साथै विधान र नियमावलीका विषयमा छलफल हुने कांग्रेसमा अभ्यास छ ।

आसन्न महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक मुद्दा समेटेर प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

महामन्त्री थापाका अनुसार राष्ट्रिय राजनीति, समाजवादीको विषय, परराष्ट्र, आर्थिक स्थिति, युवा विदेश पलायन लगायतका विषय नीतिगत प्रस्तावमा आउने छन् । दसैँको बिचमा पनि उपसभापति खड्काले नीतिगत प्रस्तावबारे पदाधिकारी तहमा दुई तीन पटक छलफल गरिसकेका छन् ।

महामन्त्री शर्माले वर्तमान राजनीतिक विषय वस्तु समेटेर राजनीतिक प्रतिवेदन तयार पार्ने छन् । गठबन्धन, सरकार, विपक्ष पार्टीको गतिविधि, मुलुकको राजनीतिक अवस्था लगायतका विषयले शर्माको प्रतिवेदनमा स्थान पाउने छन् । अहिले महामन्त्री शर्माले राजनीतिक प्रतिवेदन लेखकको काम गरिरहेका छन् ।

यस्तै महामन्त्री थापाको प्रतिवेदन पार्टीको सांगठनिक गतिविधिमा मात्र केन्द्रित हुने छ । सोही अनुसार आफू प्रतिवेदन लेखकको काम गरिरहेको महामन्त्री थापाले रातोपाटीलाई बताए ।

'हामीले प्रतिवेदनको ड्राफ्ट तयार पारिसकेपछि आन्तरिक छलफल हुन्छ । त्यसपछि पार्टीको केन्द्रीय समितिमा जान्छ । त्यसलाई केन्द्रीय समितिले पास गर्छ । महासमिति बैठकमा केन्द्रीय कार्यसमितिका तर्फबाट प्रतिवेदन पेस हुन्छ,'  महामन्त्री थापा भन्छन् ।

महासमिति बैठकमा सरकारको स्थिरताका लागि निर्वाचन प्रणाली संशोधन, क्रियाशील सदस्यताबाटै पार्टी सभापति निर्वाचित, प्रदेश र स्थानीय संरचनालाई अधिकारसम्पन्न बनाउनुपर्ने मुद्दा अघि सार्ने नेताहरूको तयारी छ ।

महामन्त्री थापाका अनुसार महासमिति बैठकबारे यही साताभित्र बैठक बस्ने तयारी छ । 'काठमाडौँमा महासमिति गर्ने भन्ने टुङ्गिए पनि कहाँ गर्ने ? कसरी गर्ने गर्ने भन्नेबारे टुङ्गो लगाउन यो साता बैठक बस्छ होला,' उनले भने ।

सभापति शेरबहादुर देउवाको नेतृत्वको मूल समारोह समितिले ठाउँको टुङ्गो लागिसकेपछि व्यवस्थापकीय तयारी थाल्ने छ ।

देउवा नेतृत्वको मूल समारोह समितिमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं उपत्यकाका तीनै (काठमाडौँ, ललितपुर र भक्तपुर) जिल्लाका पार्टी सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्ष सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप