सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
नेपाल-कतार

नेपाल र कतारबिच कस्तो छ आर्थिक सम्बन्ध ?

कतारका राजाको नेपाल भ्रमणको तयारी
सोमबार, १३ कात्तिक २०८०, १० : ०७
सोमबार, १३ कात्तिक २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका राजा शेख तामिम बिन हमद अल थानी नेपाल आउने तयारीमा रहेको खबर सार्वजनिक छन् । नेपाली कांग्रेसले शनिवार आयोजना गरेको दसैँ चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कतारी शेख नेपाल आउने पुष्टि गरेका हुन् ।

कतारी राजा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको भ्रमण लगत्तै नेपाल आउने विषय नेपालको कूटनीतिक सफलता भएको समेत प्रधानमन्त्रीको जिकिर छ । कतारका शेख नेपाल आउने तयारी तीव्रताका साथ अघि बढेपछि यही मेसोमा रातोपाटीले नेपाल–कतारबिचको आर्थिक सम्बन्धलाई केलाएको छ ।

नेपाल र कतारबिच वैदेशिक लगानी, आयात र निर्यात तथा श्रम गन्तव्यका रूपमा आर्थिक सम्बन्ध कायम छ । कतार नेपालीहरूको प्रमुख वैदेशिक रोजगारको मुख्य गन्तव्य मध्येको एकको रूपमा रहेको छ । 

२६ लाख हाराहारी जनसङ्ख्या भएको खाडीको सानो मुलुकका रूपमा रहेको कतारको कूल क्षेत्रफल ११ हजार ५७१ किलोमिटर मात्रै छ ।

भौगोलिक रूपमा सानो भए पनि प्राकृतिक ग्यासको अपार भण्डारण रहेको कतारको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) १७९ बिलियन अमेरिकी डलरभन्दा धेरै छ । जुन, विश्वको ५५औँ ठुलो अर्थतन्त्र हो । 

मित्रराष्ट्र भएर पनि कतारबाट नेपालले वैदेशिक रोजगारको मुख्य मध्येको एक गन्तव्य बाहेकको अन्य आर्थिक लाभ लिन नसकेको तथ्याङ्कले देखाउँछ । रोजगारतर्फ भने नेपालबाट करिब ३ लाख नेपाली कतार पुगेको अनुमानित तथ्याङ्क छ, जसबाट वर्षेनी अर्बौँ रेमिट्न्यास आप्रवाह भइरहेको छ ।

कतारका लागि नेपालका राजदूत डा. नरेशविक्रम ढकालले नेपालले कतारबाट ठुलो मात्रामा आर्थिक लाभ उठाउनै नसकेको बताउँछन् । वैदेशिक लगानीकर्ताका रूपमा विश्वमा अग्रणी स्थान हासिल गरे पनि नेपालमा कतारबाट सो अनुसारको लगानी आउन सकेको छैन । 

naresh bikram dhakal

‘नेपालमा लगानीको वातावरण न्यून रहेको कतारी लगानीकर्ताको बुझाई छ,’ राजदूत डा. ढकालले भने, ‘लगानी गरेपछि ‘एक्जिट मोडल’मा समस्या रहेको उनीहरूको आकलन छ ।’

कतारी लगानीकर्ताको यही बुझाइका कारण विश्वको ५५औँ ठुलो अर्थतन्त्र भएको मुलुकबाट नेपालमा लगानी आउन नसकेको राजदूत ढकाल बताउँछन् । कतारी लगानीकर्ताको यो बुझाई चिर्न नेपाल–कतारबिच अहिलेसम्म ठुलो कूटनीतिक भ्रमण भएको छैन । कतारी राजाको सम्भावित नेपाल भ्रमणले नेपालमा कतारको वैदेशिक लगानी भित्रिने सम्भावना बढ्ने उनको भनाई छ ।

‘कतारबाट नेपालले लिन सक्ने फाइदा भनेको तेल र ग्यासबाट हो,’ गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले भने, ‘यसबाहेक, कतारबाट सयौँ बिलियन डलरको ‘स्टार्टअप फण्ड’ स्थापना गरेको छ ।’ 

यस्तै, कतार एयरवेजले नेपालमा सबैभन्दा धेरै उडान भर्दै आइरहेको छ । एयरवेजसँग छलफल गरेर उडानको कार्गोमा ५० प्रतिशतसम्म सहुलियत लिँदै नेपालबाट कृषिजन्य वस्तु निर्यातमा पहल गर्नुपर्ने शर्माको भनाई छ ।

‘पोखरा र भैरहवाका विमानस्थलमा कतारी उडान भर्न सकिन्छ । नेपालमा सेवा क्षेत्रमा ठुलो लगानी ल्याउन सकिन्छ,’ शर्माले थपे, ‘ यसबाहेक, हाइड्रोजन र हाइड्रोपावरमा लगानीको ठुलो सम्भावना छ ।’ 

डाटा सेन्टरमा कतारले लगानी बढाइरहेको छ । नेपालमा यसको ठुलो सम्भावना छ । श्रम बजारतर्फ नर्स र चिकित्सकलगायत दक्ष जनशक्ति पठाउन सकिन्छ । हाल विश्वका धेरै देशमा कतारले कृषि क्षेत्रमा लगानी गरिरहेको छ । यसमा नेपालले फाइदा लिनुपर्ने समेत शर्माले बताए ।

न्यून वैदेशिक लगानी

उद्योग विभागका अनुसार कतारबाट नेपालमा न्यून मात्रामा वैदेशिक लगानी भित्रिएको छ । सन् १९९२ मा नेपालले वैदेशिक लगानी रणनीति अपनाए यतादेखि २०७९ पुस महिना सम्ममा कतारबाट उल्लेख्य मात्रामा लगानी भित्रिन सकेको छैन । 

तथ्याङ्कअनुसार कतारले विश्वका ४० भन्दा धेरै मुलुकमा ४०० बिलियन अमेरिकी डलरभन्दा धेरैको लगानी गरेको छ ।

जबकि, उद्योग विभागको तथ्याङ्कअनुसार नेपालमा जम्मा ४ वटा कम्पनीमा लगानीको प्रतिबद्धता आएको छ । विभागमा आएको यो लगानीको प्रतिबद्धता अनुसारको लगानी आए/नआएको तथ्याङ्क यकिन छैन । कतारले नेपालमा सूचना प्रविधि क्षेत्रमा एक लगानीको प्रस्ताव गरेको छ ।

यसबाहेक, सेवा क्षेत्रमा २ लगानीको प्रस्ताव आउँदा पर्यटन क्षेत्रमा लगानीको एउटा प्रस्ताव कतारबाट आएको छ । विभागको तथ्याङ्कअनुसार कूल ४४ करोड ६० लाख रुपैयाँको लगानी प्रतिबद्धता आउँदा जम्मा १६० जनाले मात्रै रोजगारी पाउनेछन् । जबकि छिमेकी भारतमा मात्रै सन् २०२० मा कतार लगानी कोषले १ बिलियन अमेरिकी डलर लगानीको घोषणा गरेको थियो ।

विश्वका अन्य मुलुकमा लगानी गर्नेको सूचीमा अग्रणी भूमिकामा रहेको कतारबाट भने नेपालमा सो अनुसारको लगानी आउन नसकेको विभागको तथ्याङ्कबाट पुष्टि हुन्छ ।

४७ करोडको आयात, ४ करोडको निर्यात

भन्सार विभागको तथ्याङ्कअनुसार नेपाल र कतार बिचको वैदेशिक व्यापारसमेत नेपालको पक्षमा छैन । तथ्याङ्कमा चालू आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको अवधिमा कतारबाट ४७ करोड १० लाख रुपैयाँको वस्तु आयात भएको छ । 

जबकि, सोही समयमा नेपालबाट जम्मा ४ करोड ७९ लाख रुपैयाँको निर्यात भएको छ । यसअनुसार चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा कतारसँगको व्यापारमा नेपाललाई ४२ करोड ३० लाख रुपैयाँ घाटा छ ।

गत आर्थिक वर्ष २०७९/८० मा नेपालले कतारबाट १३ अर्ब ३० करोड रुपैयाँको वस्तु आयात गरेको थियो । सोही अवधिमा नेपालबाट कतारतर्फ जम्मा ११ करोड रुपैयाँको निर्यात भएको थियो । यसअनुसार गत आर्थिक वर्षमा नेपालले कतारसँगको व्यापारमा १३ अर्ब १९ करोड रुपैयाँ घाटा बेहोरेको थियो ।

कतारबाट नेपालमा पेट्रोलियम बिटुमिन, रेयर ग्यास, युरिया, ब्यूटी सामग्री, प्लास्टिक, लत्ताकपडा, कच्चा सुन लगायतका वस्तु आयात हुन्छ । नेपालबाट भने तरकारी, फलफूल, पास्ता, दालमोट, चाउचाउ, पापड, लत्ताकपडा, गार्मेन्ट लगायतका वस्तु निर्यात हुने गरेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप