शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण

लुम्बिनीमा महासचिव गुटरेसको भ्रमण प्रधानमन्त्रीको उपस्थितिमा हुने

लुम्बिनीबाट शान्तिको सन्देश प्रवाह हुने विश्वास
सोमबार, १३ कात्तिक २०८०, १३ : ०५
सोमबार, १३ कात्तिक २०८०

बुटवल । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोरियो गुटरेसको लुम्बिनीमा हुने भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुने भएका छन् । प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा शनिबार राति नेपाल आएका गुटरेस मंगलबार बिहान लुम्बिनी आउने भएका हुन् ।

लुम्बिनी विकास कोषले महासचिव गुटरेसको लुम्बिनी भ्रमणको तयारी तीव्र पारेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले आवश्यक सुरक्षा प्रबन्धबारे छलफल गरेको हो । 

महासचिवको भ्रमणले बुद्ध र लुम्बिनीको विश्वव्यापी प्रचारको अवसर हुने र आगामी दिनमा लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसंघको योगदानको खोजी गर्न सकिने  उपाध्यक्ष डा लामाले जिकिर गरे । 

उनले महासचिव आउनु नै हाम्रो लागि गौरवको विषय भन्दै भ्रमणले विश्वव्यापी रूपमा बुद्ध र लुम्बिनीको प्रचार हुने दाबी गरे । 

उनले महासचिवलाई बुद्ध जन्मस्थलमा भव्यताका साथ स्वागत  गर्ने  गरी आफूहरूको तयारी रहेको खुलाएर । स्थानीयले फुल माला लगाइदिने छन् । अन्य आत्मीय स्वागतको सबै तयारी भएको  लुम्बिनी विकास कोष प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताई । 

उनले बृहत्तर लुम्बिनीको विकासमा कोरियाली प्रोफेसर क्वाक योंग हुमले तयार गरेको विश्व शान्ति सहरको परिकल्पनामा आधारित  गुरुयोजना समेतलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घको सहयोग र सद्भावका लागि महासचिवको भ्रमण फलदायी हुने उनले बताए ।  

यस्तो छ कार्यतालिका

विकास कोषलाई परराष्ट्र मन्त्रालयले पठाएको कार्यतालिका अनुसार मङ्गलवार महासचिव गुटरेसको भ्रमणलाई ऐतिहासिक बनाउने गरी तयारी भइरहेको सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनका अनुसार  महासचिव गुटरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, उपाध्यक्ष डा.ल्हारक्याल लामा सहित सरकारी उच्चस्तरीय अधिकारीहरूले स्वागत गर्नेछन् ।

महासचिव गुटरेस मङ्गलवार बिहान ८:३५ मा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने र त्यहाँबाट हेलिकप्टरमा बिहान ८: ५० बजे लुम्बिनीमा आइपुग्नेछन् । गुटरेसलाई हेलिप्याडबाट गाडीबाट चार नम्बर गेट हुँदै शान्ति दीपमा लगिनेछ ।

कोषका अनुसार गुटरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्ध धर्मका गुरु, भिक्षु भिक्षुणी सहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटेल व्यवसायीहरूले समेत शान्ति दीपदेखि मायादेवी मन्दिरको दुवै तर्फ बसेर स्वागत गर्नेछन् ।

गुटरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्प करणी पोखरी, अशोक स्तम्भहरूको निरीक्षणपछि पिपलको रुख मुनी छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको छ । 

लुम्बिनीमा डेढ घण्टा बिताएपछि १०: ३० बजे काठमाडौँ फर्कने गरी कार्यक्रम तालिका बनेको छ ।

कोषका तर्फबाट गुटरेसलाई मायाको चिनो र अतिथि पुस्तकमा हस्ताक्षरपछि मिडियासँग महासचिव गुटरेसले बिफ्रिङ गर्ने कार्यक्रम तय गरिएको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए । नेपालीसेनाले सुरक्षाको प्रबन्ध गरेको छ । 

उनले भ्रमण लुम्बिनीका लागि अवसर र गौरव भएकाले सबैको सहयोग आवश्यक रहेको बताए । यस अघि कोषले स्थानीय नगरपालिका सहित सरोकारवालाहरूसँग तयारी बैठक गरेर भ्रमणलाई ऐतिहासिक बनाउनेबारे छलफल गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप