बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

‘विवाहको ‘गुड न्युज’ छिट्टै सुन्न पाउनु हुनेछ’

गायक गायिकाकालाई लिङ्गको आधारमा विभेद गरिन्छ : गायिका आस्था राउत
बुधबार, १५ कात्तिक २०८०, ०९ : ३९
बुधबार, १५ कात्तिक २०८०

‘सालको पात टपरी’ बोलको रिमिक्स गीतबाट गायन यात्रा सुरु गरेकी आस्था राउत नेपाली साङ्गीतिक क्षेत्रमा स्थापित नाम हो । उनले ‘चौबन्दीमा पटुकी’ बोलको गीतबाट आफूलाई स्थापित गरेकी थिइन् । 

‘झुक्ने बुलाकी’, ‘मलाई नेपाली माया चाहिन्छ’लगायत थुप्रै हिट गीत दिएकी आस्थाले फिल्ममा समेत थुप्रै गीत गाएकी छन् । 

फिल्म मायाज बारको ‘माया यो माया’, ढुवानीको ‘छलक छलक’, लाल्टिनको ‘म त चमेली’, छक्का पन्जा २ को ‘तिमी उता किनारमा’ लगायत उनले स्वर दिएको फिल्मको हिट गीत हुन् ।

उनले भर्खर मात्र नयाँ गीत ‘लै बरी लै’ ल्याएकी छन् । दसैँको छेको पारेर सार्वजनिक गीतमा उनी आफैले मोडलिङ गर्दै मज्जाले कम्मर मर्काएकी छिन् । यो उनको मोडलिङमा डेब्यु हो । 

उक्त गीतमा उनकी आमा सावित्री राउतको शब्द, सुरेश अधिकारीको संगीत रहेको छ । गीतको चर्चा चुलिँदो छ, गीतले छोटो जिन्दगीमा रमाइलो गर्नुपर्ने सन्देश दिन्छ । प्रस्तुत छ, भर्खर सार्वजनिक गीत र साङ्गीतिक करियरको विषयमा गायिका राउतसँग रातोपाटीले गरेको छोटो कुराकानी:

पछिल्लो समय के केमा व्यस्त ?

– नयाँ गीतसंगीत रेकर्ड, स्टेज कार्यक्रम लगायतमै व्यस्त छु । दसैँको टीकाको दिन फिदिममा एउटा भव्य मेला आयोजना भएको थियो, जसमा मैले मुख्य जिम्मेवारी पाएको थिएँ । त्यो सकाएर भर्खर फर्किएँ । अव तिहारअगाडि बुटवलमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुँदैछु । गीतसंगीत र कार्यक्रममा व्यस्त छु ।

भर्खर ‘लै बरी लै’ बोलको गीत ल्याउनु भयो, गीतको प्रतिक्रिया कस्तो छ ?

–राम्रो प्रतिक्रिया मिलिरहेको छ । म गायनको अलावा मोटिभेसनल स्पिच पनि दिन्छु । त्यसैले, मेरो गीतमा पहिलेदेखि नै मोटिभेसनल विषय रहँदै आएको छ । यो गीतमा पनि मैले जीवन अमूल्य छ । खुलेर र रमाएर जिउनु पर्छ भन्ने सन्देश दिएकी छु ।

गीत दसैँको मुखमा सार्वजनिक गरेको हो । यो समय मानिसहरू फेस्टिभलमा व्यस्त हुने भएकोले होला सोचेजस्तो भएको छैन । यो गीत पैसा कमाउन भन्दा पनि सबैमाझ पुगोस् भनेर ल्याएको हो । 

astha raut

धेरैपछि नयाँ गीत आयो नि ?

– हो, कोरोना र लकडाउनले धेरै मानिस सेलाए । म पनि सेलाएको थिए । अहिले नयाँ गीत दिनुपर्छ भन्ने लाग्यो ।

भिडियोमा पनि आफै अभिनय गर्नु भएको छ । अभिनयमा पनि रुचि हो ?

– म पहिलेदेखि नै अभिनयमा रुचि भएको मानिस हो । हिजोको दिनमा भिडियोमा देखिन नचाहेकोले गरिनँ । अहिलेको गीतमा धेरैले मलाई नै अभिनय गर्न सुझाए । मलाई पनि आफूलाई नै डिमान्ड गरेको जस्तो लाग्यो ।  आफै गर्न सक्ने भएपछि किन अरू लिनु भन्ने भयो । 

अभिनय गर्न गाह्रो भएन त ?

– म नृत्यकला सिकेको मानिस हो । स्टेजमा पनि गायन सँगसँगै नृत्य पनि गर्छु । त्यसैले, अभिनयका लागि खासै कठिन भएन । पहिलो चोटि भएकोले कतै बिगारेँ कि, राम्रो भएन कि भन्ने डर थियो । 

गीत छायाङ्कन समय पुरै दिन पानी परेको हामीले इन्डोर खिचेका छौ । यो भिडियोमा राम्रो प्रतिक्रिया आयो, आगामी दिनमा पनि अभिनय गर्छु ।

विभिन्न विवादका कारण आस्था हरायो भन्न थालेको समय गीत आयो । के संयोग मात्र हो र ?

– म हराएको छैन । बेला बेलामा मेरा गीतहरू आइरहेका छन् । मेरो भाइरल हुने खालका गीत आएन । त्यसैले, हराएको जस्तो देखियो । 

निर्वाचनको बेला मैले मोटिभेसनल गीत ‘कोसिस गर, अघि बढ, आशामा नै जीवन छ’ भन्ने ल्याएको थिएँ । अहिले मानिसले छिट्टै नोटिस गर्ने छाडा, अश्लील खालको गति म ल्याउँदिन । त्यसैले, कतिपयले थाहा पाउँदैनन् ।

अमेरिकाले फर्काएपछि विदेशमा कार्यक्रम कम भयो कि क्या हो । अहिले विदेश यात्रा भएजस्तो लाग्दैन त ?

– विदेशका कार्यक्रमका अफर कम भएका छैन, नगएको मात्र हो । कतिपय कार्यक्रममा मेरो नाममा नयाँ व्यक्ति लाने खेल हुन थाल्यो, त्यो मैले चाहिन । कतिपय कार्यक्रममा पैसा कम भनियो, रिजेक्ट गर्दिए । 

हामी गायक गायिका विदेश कार्यक्रमका लागि जाने भनेको कमाउन हो । त्यहाँ पैसा हुँदैन भने किन जाने ? अहिले पनि विदेश कार्यक्रमका अफर धेरै छन् । बाहिर के चर्चा चल्छ, त्यसको पछि म लाग्दिन ।

आस्थाले गायनको अलावा स्टेजबाटै मोटिभेसनल स्पिच पनि दिन्छ भनेर भनिन्छ नि ?

– त्यो सत्य हो । म गायनको अलावा स्टेजबाटै मोटिभेसनल स्पिच पनि दिन्छु । त्यसका लागि सानोतिनो कार्यक्रम भन्दा ठुल्ठुलो कार्यक्रम जहाँ मानिसहरू धेरै भेला हुन्छन्, जहाँ बच्चादेखि बूढासम्मले हेर्न सक्ने, रमाउन सक्ने कार्यक्रम हुन्छ । त्यो म रोज्छु ।

म कार्यक्रममा युवाहरुलाई आफ्नो देश, आमाबुबा प्रतिको कर्तव्य, आफ्नो करियरप्रति सजग रहन मोटिभेसन गर्छु । । युवा पुस्तालाई अध्ययन गर्न, कुलतमा नफस्न पनि मोटिभेट गर्छु ।

स्टेज कार्यक्रममा मोटिभेसन किन ?

– म सानैदेखि त्यस्तै वातावरणमा हुर्किएँ ।  ७/८ वर्षको हुँदा मैले क बाट कछुवा शैलीको गीत गाएँ । मेरो पहिलो रेकर्ड भएको गीत ‘छोरालाई पढ्ने पाठशाला, छोरीलाई पाखा भिर’ बोलको हो । यसमा छोरीलाई पनि छोरासरह अधिकार दिने कुरो थियो । 

astha-raut-2

बच्चादेखि नै ममा मोटिभेसन फिलिङ थियो । मेरो गीतहरू जति पनि आएका छन्, ती सबैमा पनि केही न केही सन्देश छ । म हरेक गीतले केही न केही सन्देश दिओस्, कसैलाई मोटिभेसन मिलोस् भन्ने हिसाबले गर्ने गरेकी छु ।

अहिले समाजमा डिप्रेसन, एन्जाइटीको लहर चलेको छ । फिजिकल हेल्थको अलावा मेन्टल हेल्थ पनि महत्त्वपूर्ण छ भनेर म बुझाउँछु । 

एक बारको जीवनलाई हामीले सक्दो सदुपयोग गर्नुपर्छ र यो कतिको महत्त्वपूर्ण छ भनेर गीतको बिच बिचमा मोटिभेसन गरिरहेको हुन्छु । यो एउटा गायिकाको सामाजिक दायित्व पनि हो, मैले त्यही निर्वाह गरेको हो ।

पछिल्लो समय गीत संगीतको अवस्था कस्तो छ ?

– पछिल्लो समय गीत संगीतको नाम राम्रो छ तर दाम छैन । त्यसैले, यसलाई पेसा भन्दा पनि रुचिको रूपमा राख्दा राम्रो हुन्छ भन्ने मैले पनि फिल गरेको कुरो हो । गायक गायिकाकालाई लिङ्गको आधारमा विभेद समेत गरिन्छ । कलाकारको पनि स्ट्याण्डर्ड पनि भएन ।

‘द भ्वाइस’को निर्णायकबाट पनि बाहिरिनुभयो । चर्चा त राम्रै थियो नि हैन र ?

– सबै कुरो चर्चाले मात्र हुँदैन । म त्यसै चर्चित छु । ‘द भ्वाइस’को दोस्रो सिजनमा म निर्णायक थिएँ । तेस्रो सिजनका लागि परिस्थिति, मनस्थिति मिलेको तर आर्थिक पाटोमा कुरो मिलेन । सिधै भन्नुपर्दा त्यहाँ मैले दिने समयअनुसार पारिश्रमिक भएन । त्यसैले छोडे ।

गीत संगीतमा अहिले गर्न मन लागेको कुरो के छ ?

– केही अगाडि मैले ल्याएको ‘को छ यहाँ घटी बढी’ भन्ने छ । त्यो गीत सबै धर्मलाई सम्मान गरेर बनेको छ । त्यो गीत अंग्रेजीमा बनाएर विश्वमा पुर्‍याउन पाए, त्यसले मानव समुदायमा राम्रो गर्न सक्थ्यो कि  भन्ने लागेको छ ।

 अब त विवाह गर्ने बेला भयो कि ?

–भयो, विचार गर्दैछु । म धनको धनी भन्दा पनि मनको धनी खोजिरहेको छु । म परिवारको एक्लो सन्तान हुँ । मसँग विवाह गर्ने मानिसले मेरो बुबाआमाको छोरा पनि बन्नुपर्छ । मेरो गीत संगीत र मलाई बुझ्ने हुनुपर्छ । त्यस्तो जीवन साथीको खोजीमा छु । 

बुबाआमाले पनि अव एउटा साथी चाहिन्छ भन्ने गरेको कारणले पनि विवाहको सोच गरिरहेको छु । तपाईँले विवाहको ‘गुड न्युज’ छिट्टै सुन्न पाउनु हुनेछ । म धूमधामसँग विवाह गर्दिन । सिम्पल बिहे गर्छु । बिहेमा गर्ने खर्च वृद्धाश्रमका लागि दिने सोच छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप