शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
कुटपिट प्रकरण

एनआरएनएमा उजुरी हालाहाल : आरके शर्माविरुद्ध बद्री केसी पनि प्रहरीमा, कसरी हुँदैछ अनुसन्धान ?

बुधबार, १५ कात्तिक २०८०, २२ : ५१
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालयमा भएको कुटपिटको घटनापछि दुबै पक्ष प्रहरीमा पुगेको छ । समानान्तर समितिका अध्यक्ष आरके शर्माले संस्थापन पक्षका अध्यक्ष बद्री केसीलगायतविरुद्ध उजुरी दिएको भोलिपल्ट बुधबार केसी पनि उजुरी बोकेर प्रहरी वृत्त दरबारमार्ग पुगेका छन् । 

प्रहरी वृत्त दरबारमार्गमा आफूले छुट्टाछुट्टै तीन वटा विषयमा कारबाहीको माग गर्दै उजुरी दिएको केसीले रातोपाटीलाई बताए । केसीले जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा,  अभद्र व्यवहार र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरमा कारबाही गर्न माग गरेका छन् । 

केसीको निवेदनमा संघको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरू एवं संघमा कार्यरत कर्मचारीलाई दैनिक कार्य सम्पादन गर्न नदिने हेतुले उपविजेता भएका केही व्यक्तिहरुले दैनिक कार्यालयमा प्रवेश गरी अनधिकृत रूपमा जीउ, ज्यान र सम्पत्तिमा हानि नोक्सानी पुऱ्याउने हेतुले धम्की दिने लगायत कार्य गरी संघको दैनिका कार्य सम्पादनमा समेत असर गरेको उल्लेख छ ।  जसका कारण संघको दैनिका कार्य सम्पादन गर्न सकिने अवस्थानै नभएको जानकारी गराइएको छ । 

आफूहरूलाई कार्यालयमा पूर्वमन्त्री महेश बस्नेतलगायत बधाई दिन पुगेका बेला उपविजेता भएका आरके शर्माको नेतृत्वमा वुद्धि सागर सुवेदी, गंगाधर गौतम, ठाकुर प्रसाद ढुङ्गाना, बेल्जियम निवासी पत्रकार ओम शर्मा लगायत व्यक्तिहरु प्रवेश गरी बस्नेतलाई गाली गलौच गरी अनुमतिबिना फोटो खिच्ने, चरित्र हत्या गर्नेलगायतका कार्यमा संलग्न भएको केसीको आरोप छ । 

‘संघको कार्यालयमा हुलदङ्गा गर्ने कार्य गरेका हुँदा निजहरू र निजहरूसँग उपस्थित भई पहिचान हुन नसकेका व्यक्तिहरूलाई संघको र नेपाल राष्ट्र बैंकको सिसिटिभी क्यामेराको फुटेजबाट पहिचान गरी कानुनी कारबाही गरि पाउन समेत सादर अनुरोध गर्दछौं’, निवेदनमा भनिएको छ , ‘निजहरुलाई कुनै पनि कानुनी कारबाही नभएमा निजहरूले संघका पदाधिकारीहरुको जीउ ज्यान र सम्पत्ति एवं संघको सम्पत्तिको तोडफोड र हानि नोक्सानी पुऱ्याउने प्रवल सम्भावना भएको हुँदा निजहरुलाई जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा उपरको कसुर, अभद्र व्यवहारको कसुर र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्धको कसुर उपर कानुनी कारबाही गरी पाउन तहाँ समक्ष अनुरोध गर्दछौं ।’

065db907-56bc-423d-b497-18de4067e3e6

यसअघि आरके शर्मासहितले मंगलबार नै प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका थिए । आरके शर्मासहित समानान्तर समितिका उपाध्यक्ष गंगाधर गौतम, महासचिव बुद्धि सुवेदी र कोषाध्यक्ष ठाकुर ढुंगानाले दिएको उजुरीमा एनआरनए कार्यालयमा भएको कुटपिट सम्बन्धमा आवश्यक छानबिन गरी शान्ति सुरक्षाका साथै सीसी क्यामेरा फुटेज सुरक्षित गराउन निवेदनमार्फत आग्रह गरिएको छ । 

 निवेदनमा कार्यालयमा अफिसका सबै कर्मचारीहरु दिएर बद्री केसीले एमालेका नेता र युवा संघका कार्यकर्तालाई प्रवेश गराइ गोप्य कार्यक्रम गराएको उल्लेख छ ।  सोही क्रममा एनआरएनए बेल्जियमका पार्षद तथा पत्रकार ओम शर्मासहित आफूहरू पुगेर कार्यक्रमबारे सोधखोज गर्दा बिनाकारण आक्रमण भएको निवेदनमा उल्लेख छ । 

सो क्रममा आफूहरुमाथि ज्यान मार्नेसम्मको धम्की दिइएको र सबै घटना बद्री केसीको निर्देशनमा गराइएकाले उनीसहित दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरिएको छ । 

यस्तै सहज वातावरण नबनेसम्म एसआरएनएको कार्यालय बन्द गराई आवश्यक कारबाही गर्न पनि माग गरिएको छ । 

यस्तै कुटपिटमा संलग्न शर्माले एमाले नेता महेश बस्नेत र बद्री केसीमाथि कारबाहीको माग गर्दै अर्को छुट्टै निवेदन पनि प्रहरीमा दिएका छन् । घटना भएको कार्यक्रममा एमाले नेता महेश बस्नेतको पनि सहभागिता रहेको थियो । 

6c0f4e82-4ad1-41ba-b549-ebaf734c33ff

यसैबीच दोषीमाथि कारबाही गर्न प्रहरीले ढिलाइ गरेको आरके शर्मा पक्षले गुनासो गरेको छ । सो पक्षका उपाध्यक्ष गंगाधर गौतमले आफूहरुले प्रहरीमा उजुरी दिएपनि कारबाही गर्न आलटाल भएको बताए । यस्तै कार्यालयमा भएको घटनामा प्रहरी तत्काल आएपनि दोषीलाई पक्राउ नगरिएको भन्दै असन्तुष्टि जनाए । उनले एनआरएनए कार्यालयमा आफूहरू निरन्तर गइरहेको र बुधबार पनि जाने भन्दै कार्यालय सुचारु गर्न प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पत्राचार गरिने पनि बताए । 

गैरआवासीय नेपाली संघमा आधिकारिकताको विवाद हुँदै आएको छ । महाधिवेशनबाट निर्वाचित बद्री केसीलाई आरके शर्माले अवैध घोषणा गरेका छन् । यस्तै बद्रीले चाहिँ आफू नै आधिकारिक दाबी गर्दै आएका छन् । गत चुनावमा अध्यक्षमा बद्री केसी, आरके शर्मा र महेश श्रेष्ठ उम्मेदवार रहेकामा बद्री विजयी भए पनि धाँधली भएको आरोप उपविजेता दुई उम्मेदवारले लगाउँदै नतिजा अस्वीकार गरेपछि विवाद हुँदै आएको हो । 

प्रहरीद्वारा अनुसन्धान सुरु

एनआरएनए कार्यालयमा भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।  घटना अनुसन्धान गर्न प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज सङ्कलन गरेको छ । ‘अनुसन्धानका लागी सिसिटिभी फुटेज सङ्कलन गरिएको छ’ घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी वृत्त दरबारमार्गका एक जना अधिकृत भन्छन्–‘फुटेज विश्लेषण गरेर दोषीलाई कानुनी दायरामा ल्याउँछौँ ।’ 

पत्रकार शर्मालाई हातपात गर्ने व्यक्ति पहिचान गर्नेगरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृत भन्छन्–‘एनआरएनएको कार्यालयमा कुटपिट गर्नेको पहिचान गर्दैछौं, त्यसपछि अरु प्रक्रिया अघि बढ्छ ।’ आक्रमणमा शर्माको दाँतमा चोट लागेको थियो भने सो घटनामा एमाले निकट युवा संघको संलग्नता रहेको आरोप लागेको छ।  

यस्तै बद्री केसीको उजुरीको हकमा भने प्रहरीले सीडीओ कार्यालयमा अर्को निवेदन दिएर शान्ति सुरक्षासम्बन्धी पत्र ल्याउन भनेको छ । सीडीओ कार्यालयको पत्रपछि मात्रै प्रहरीले शान्तिसुरक्षाको प्रत्याभूति गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप