शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनएको कार्यालयमा भएको घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान

बुधबार, १५ कात्तिक २०८०, ११ : ५२
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । बालुवाटारस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय कार्यालयमा भएको घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । मंगलबार असन्तुष्ट पक्षका अध्यक्ष आरके शर्मालगायतसँगै कार्यालयमा पुगेका पत्रकार ओम शर्मामाथि हातपात  भएको थियो । बेल्जियममा बसेर पत्रकारिता गर्दै आएका उनी  एनआरएनएमा समेत आबद्ध छन् । सोही घटनामा  आरके शर्मालगायतमाथि पनि दुर्व्यवहार  भएको बताइएको छ । 

पत्रकार शर्माले आफूलाई पूर्वमन्त्री महेश बस्नेत सहितको समूहले एनआरएनको कार्यालयमा आक्रमण गरेको दाबी गरेर प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका छन् । बस्नेत नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य हुन् । 

हुलदंगा हुँदा कार्यालयमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को  निर्वाचित अध्यक्ष बद्री केसी पनि थिए । उसो त यो घटनापछि आरके शर्माले पनि बद्री केसीलगायतमाथि कारबाहीको माग गर्दै मंगलबार नै उजुरी दिएपछि बद्री केसीले समेत बुधवार अर्को उजुरी दिएका छन् । 

उजुरीपछि प्रहरीले घटनाको अनुसन्धान गर्न घटनास्थलको सिसिटिभी फुटेज संकलन गरेको छ । ‘अनुसन्धानका लागि सिसिटिभी फुटेज संकलन गरिएको छ’ घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी वृत्त दरबारमार्गका एकजना अधिकृत भन्छन्–‘फुटेज विश्लेषण गरेर दोषीलाई कानुनी दायरामा ल्याउँछौं ।’ 

पत्रकार शर्मालाई हातपात गर्ने व्यक्ति पहिचान गर्नेगरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृत भन्छन्–‘एनआएरएनको कार्यालयमा कुटपिट गर्नेको पहिचान गर्दैछौं, त्यसपछि अरु प्रक्रिया अघि बढ्छ ।’

यसैबीच दोषीमाथि कारबाही गर्न प्रहरीले ढिलाइ गरेको आरके शर्मा पक्षले गुनासो गरेको छ । सो पक्षका उपाध्यक्ष गंगाधर गौतमले आफूहरुले प्रहरीमा उजुरी दिएपनि कारबाही गर्न आलटाल भएको बताए । यस्तै कार्यालयमा भएको घटनामा प्रहरी तत्काल आएपनि दोषीलाई पक्राउ नगरिएको भन्दै असन्तुष्टि जनाए । उनले एनआरएनए कार्यालयमा आफूहरू निरन्तर गइरहेको र बुधवार पनि जाने भन्दै कार्यालय सुचारु गर्न प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पत्राचार गरिने पनि बताए । 

गैरआवासीय नेपाली संघमा आधिकारिकताको विवाद हुँदै आएको छ । महाधिवेशनबाट निर्वाचित बद्री केसीलाई आरके शर्माले अवैध घोषणा गरेका छन् । यस्तै बद्रीले चाहिँ आफू नै आधिकारिक दाबी गर्दै आएका छन् । गत चुनावमा अध्यक्षमा बद्री केसी, आरके शर्मा र महेश श्रेष्ठ उम्मेदवार रहेकामा बद्री विजयी भए पनि धाँधली भएको आरोप उपविजेता दुई उम्मेदवारले लगाउँदै नतिजा अस्वीकार गरेपछि विवाद बढेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप