शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

३० वर्ष कटेपछि डेटिङ गर्दै हुनुहुन्छ ? यस्ता गल्तीबाट बच्नुहोस् !

बिहीबार, १६ कात्तिक २०८०, १४ : ४३
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । ३० वर्ष कटेपछिको डेटिङ अनुभव किशोर अवस्थाको भन्दा पक्कै पनि फरक हुन्छ । यो उमेरसम्म आइपुग्दा व्यक्तिको जीवनको अनेकौँ आरोह अवरोहबाट गुज्रिसकेको हुन्छ । 

धेरै खाले अनुभव बटुलिसकेको हुन्छ । अनि जीवनसाथी वा प्रेमीसँगको भावी सम्बन्धबाट आफूलाई के चाहिएको छ, कस्तो खालको सम्बन्ध बनोस् लगायत कुरा थाहै भइसकेको हुन्छ ।

तर यो जीवनको त्यस्तो क्षण पनि हो जहाँ हरेक व्यक्तिले अनेकौँ चुनौतीहरूको सामना गरिरहेका हुन्छन् । तपाई पनि जीवनको यही मोडमा हुनुहुन्छ अनि डेटिङ गरिरहनु भएको छ वा गर्ने सोचमा हुनुहुन्छ ? आफ्नो सम्बन्धलाई बलियो बनाउन तपाईँले गर्न नहुने केही गल्तीबारे आज हामी कुराकानी गर्न  गइरहेका छौँ ।

आफ्नो प्राथमिकता र मूल्यलाई बेवास्ता गर्ने

यो उमेरमा डेटिङ गर्दा अधिकांशले गर्ने गल्ती नै आफ्नो प्राथमिकता र मूल्य मान्यतालाई  बेवास्ता गर्ने हो । जीवनको यो चरणमा आइसक्दा आफूले पार्टनरमा के के खोजेको हो भन्ने चाँहि तपाईँले थाहा पाइसकेको हुनुहुन्छ । आफ्नो प्राथमिकता र मूल्य मान्यताको मामिलामा कुनै पनि सम्झौता नगर्नु होला । 

जीवनभरि एक्लै भइने वा सुहाउँदो जोडी नपाइने हो कि भन्ने डरले कहिलेकाहीँ मानिस यस्ता कुरामा मन मारेर बस्छन् । अनि पछि समस्या देखिन्छ । आफ्नो प्राथमिकता के हो ? आफ्नो मूल्य मान्यता कस्तो छ लगायत कुरामा सुरु मै स्पष्ट रुपमा कुरा गर्नु भयो भने सम्बन्धमा पछि कुनै समस्या आउँदैन ।

हतारमा कमिटमेन्ट

३० वर्षको उमेरसम्म पनि बिहे नभएकाहरूलाई घर परिवार र साथीभाइले मात्रै होइन समाजले समेत बिहे गरेर सेटल हुन दबाब दिन थाल्छन् । अरुको दबाब सहन नसकेर धेरैले आफ्नो पार्टनरबारे राम्रोसँग बुझ्दै नबुझी हतारमा कमिटमेन्ट दिन्छन् । यस्तो गर्नु ठुलो भूल साबित हुन सक्छ । 

नियमित भेटघाट गर्नुहोस् दुवैले एक अर्कालाई राम्रोसँग चिन्ने अनि जान्ने कोसिस गर्नुहोस् । एक अर्काको रुचि, राम्रो पक्ष नराम्रो पक्ष आदि केलाउनुहोस् । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु भन्दा सुरुमै केही समय लगाएर सम्बन्ध अगाडि बढाउनु वेश हुन्छ ।

अरुसँग तुलना गर्ने

३० वर्षको उमेरसम्म आइपुग्दा सम्बन्ध र पर्सनल लाइफमा मान्छे अर्कै चरणमा पुगिसकेको हुन्छ । आफू वा आफ्नो हैसियतलाई अरु कसैसँग तुलना गर्दा तनाव बढ्न सक्छ अनि तपाईँले गलत निर्णय गर्न सक्नु हुन्छ । आफ्नो कुरामा विशेष ध्यान दिने कोसिस गर्नुहोस् । सबैको आ–आफ्नै लक्ष्य हुन्छ । तपाई पनि आफूलाई के कसरी राम्रो बनाउन सकिन्छ त्यही कुराहरु गर्नुहोस् । आफ्नो लक्ष्यमा ध्यान दिनुहोस् ।

आफ्नो पनि ख्याल राख्नुहोस्

३० वर्षको उमेरमा अधिकांश जागिरे वा व्यापार व्यवसायमा आबद्ध भइसकेका हुन्छन् । रोजगारी र निजी जीवन तालमेल बनाउन भ्याइ नभ्याई हुँदा धेरैले आफैलाई बेवास्ता गर्छन् । तर हेल्दि डेटिङ चाहनु हुन्छ भने तपाईँले आफ्नो पनि ख्याल राख्न जरुरी छ । आफ्नो लागि अनि आफ्नो पार्टनरका लागि पर्याप्त समय निकाल्नुस् । एक अर्कासँग सकेसम्म धेरै समय बिताउनुहोस् ।

अतीतमा अल्झिएर बस्ने

हरेक व्यक्तिसँग केही न केही पुराना स्मृति हुन्छन् । तर पुराना सम्बन्ध र यादहरुमा अल्झिएर बस्दा नयाँ सम्बन्ध विकास हुन सक्दैन ।  भावी सम्बन्धमा नै नकारात्मक असर गर्छ । तपाई पनि अर्को व्यक्तिसँग नयाँ सम्बन्ध बनाउँदै हुनुहुन्छ भने पुराना स्मृतिहरुलाई आफूमा हाबी हुन नदिने कोसिस गर्नुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप