आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसमा सेलायो कोशी तरंग : शेखर–गगनबिच चिसोपन कायमै

शुक्रबार, १७ कात्तिक २०८०, ११ : १४
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसमा कोशी प्रदेशको सत्ता समीकरणले ल्याएको तरंग आकार ग्रहण नगरी सेलाएको छ । नेता शेखर कोइरालाको आडमा कोशी प्रदेशमा कांग्रेसका ८ सांसदले विद्रोह गरेपछि कांग्रेसवृत्तमा हलचल ल्याएको थियो । 

सत्ता गठबन्धनमा माओवादी केन्द्रलाई कोशी प्रदेशको नेतृत्व दिने सहमति भएपछि पार्टी निर्णय विपरीत नेकपा एमालेसँग मिलेर कांग्रेस सांसद केदार कार्की मुख्यमन्त्री बन्ने बाटो रोजे । 

नेता कोइरालाको समन्वयमा कार्की गठबन्धनको पनि मुख्यमन्त्री बन्न पुगेका छन् । मुख्यमन्त्री कार्कीलाई गठबन्धन र एमालेलाई मिलाएर लैजान सकस परेपनि पार्टीसँगको सम्बन्ध सहज भइसकेको छ ।

कोशी विद्रोहपछि सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालालाई महत्त्व दिएको देखिन्छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका क्रममा देउवालाई भेट्दा कोइरालाको पनि उपस्थिति थियो । 

तर, कोशी प्रकरणले कांग्रेसको संस्थापन इतर पक्ष भने खलबलिएको छ । साथै, संस्थापन इतर पक्षकै कार्की मुख्यमन्त्री बने पनि नेता शेखर कोइराला र महामन्त्री गगन थापाबिचको सम्बन्ध धुमिलो बन्यो । सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबिचको संवादबाट कोशीको विद्रोह व्यवस्थापन भएपनि इतर पक्षको एकताको भविष्य अन्योल छ ।

कांग्रेसको १४ औं महाधिवेशनमा बनेको शेखर–गगन समूहको जग कोशी प्रकरणले नराम्ररी हल्लाइ दिएको छ । करिब एक महिना हुनै लाग्दा पनि नेता कोइराला र महामन्त्री थापाको दुरी घट्ने कुनै संकेत देखिएको छैन ।

विगतदेखि चल्दै आएको कोइराला र थापाबिचको आशंका र अविश्वासपूर्ण सम्बन्धनको डोरी कसिन्छ कि चुँडिन्छ भन्ने कांग्रेसवृत्तमा चासो छ । 

२०७९ पुस ६ मा संसदीय दलको निर्वाचनबाट कोइराला र थापाबिचको सम्बन्ध लयमा थियो । इतर पक्षको नेताले समूह जोगाउन दबाब दिएपछि कोइराला दलको नेतामा बाध्य भएर थापाको प्रस्तावक बनेका थिए । सभापति देउवासँग दलको नेतामा भिड्दा कोइरालाबाट प्राप्त सहयोग नपाएको थापाको गुनासो थियो । 

कात्तिक २ मा प्रेस युनियन काठमाडौँको शुभकामना आदान–प्रदान कार्यक्रममा कोशी प्रकरणलाई सङ्केत गर्दै महामन्त्री थापाले देउवालाई भोट हालेर फोटो देखाउनेले नै अहिले विद्रोहको कुरा गरेको आरोप लगाएका थिए ।

संसदीय दलको निर्वाचनमा आफूले ३६ मत पाउने हिसाब भए पनि २५ मत मात्र पाएको भन्दै देउवाको विकल्प खोज्न खुट्टा कमाएकाहरूले नै अहिले विद्रोहको कुरा गरेको उनको भनाइ थियो । 

यस्तै, मन्त्री नियुक्ति लगायतका सन्दर्भमा कोइरालाले सभापति देउवासँग एकलौटी डिल गरेको थापाको गुनासो थियो । विपक्षी खेमाको नेतृत्वको रूपमा कोइराला दह्रो खुट्टा नटेक्दा सभापति देउवासँग संघर्ष फितलो हुन पुगेको थापाको बुझाइ छ । 

असोज १४ मा काठमाडौँको राष्ट्रियसभा गृहमा आयोजित कांग्रेस रूपान्तरण अभियानको कार्यक्रमले कोइराला र थापाबिचको अविश्वासको डोरी थप तन्काउने काम गरेको थियो । नेता कोइराला र महामन्त्री थापाको सहमतिमा कार्यक्रम तय भएको थियो । तर, अन्तिममा पार्टीको ब्यानर बाहिरको कार्यक्रममा सहभागी नहुने भन्दै कोइरालाले बहिष्कार गरिदिएका थिए । त्यसपछि कोइराला र थापाबिच संवादहीनताको अवस्था छ । 

कोशीमा एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउने कोइरालाले महामन्त्री थापासँग संवाद नै गरेका थिइनन् । उक्त कुरा नेता कोइरालाले पनि रातोपाटीसँग कुराकानीमा स्वीकार गरेका थिए । ‘सबै कुरा बाहिर ल्यायो भने काम हुँदैन । त्यो पनि बुझ्नुपर्छ । कतिपयलाई कुरा बताएँ, कतिपयलाई कुरा बताइनँ,’ कोइरालाको भनाइ थियो । 

नेता कोइराला र महामन्त्री थापाबिचको दुरी बढाउन मुख्यमन्त्री कार्कीको पनि भूमिका देखिन्छ । मुख्यमन्त्री बन्नुअघि र पछि पटक–पटक काठमाडौँ आए पनि कार्कीले पनि महामन्त्री थापालाई कहिल्यै भेटेनन् । काठमाडौँ आएर मुख्यमन्त्री कार्कीले सभापति देउवा, नेता कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको निवाससम्म पुगेर भेटेका थिए ।

महामन्त्री थापाले आफूलाई मुख्यमन्त्री हुनबाट रोक्न भूमिका खेलेको मुख्यमन्त्री कार्कीको बुझाइ छ । कांग्रेसले कोशीमा नयाँ सरकारबारे रणनीति बनाउन महामन्त्री थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई जिम्मा दिएको थियो ।

उनीहरुले नेता कोइरालासँग सल्लाह नगरेपनि एमालेसँग मिल्नेबारे थापालाई थाहा नदिएको नेताहरू बताउँछन् । 

सभापतिले माओवादीलाई मुख्यमन्त्री बुझाउन लाग्दा पनि महामन्त्री थापाले समर्थन जनाएको कोइराला निकट नेताहरू भनाइ छ । यद्यपि, महामन्त्री थापा र शर्माले भने कोशी प्रकरणमा सभापति देउवा र नेता कोइराला दुबैको कदम गलत भएको निष्कर्ष निकालेका थिए ।

कांग्रेस नेता प्रदीप पौडेलले कोशी प्रकरणपछि कांग्रेसमा संवादहीनता देखिएको बताए । ‘पार्टीको सांगठनिक कामबारे सभापति र महामन्त्रीहरुबिच पनि खासै छलफल भइरहेको छैन । कोशी प्रदेशपछि पार्टीमा भयंकर तरंग आउँछ भन्ने अनुमान थियो । त्यस्तो तरंग आउने गरी परिस्थिति अगाडि बढेन,’ उनी भन्छन् ।

नेता पौडेलका अनुसार कोशी प्रदेश प्रकरणले नेता कोइराला र महामन्त्री थापाबिचको दुरी बढाए पनि त्यसले कुनै आकार लिन अहिलेसम्म सकेको छैन । ‘उहाँहरूबिच कुराकानी भएको छैन । दुरी बढेकै छ । तर, भंयकर दरार बढेको पनि देखिँदैन । जोडिएको पनि छैन,’ उनले भने, ‘अहिले व्यक्तिगत रणनीति बनाइरहेका छन् । आ–आफ्नो ढंगले अगाडि बढिरहेका छन् ।’

आगामी मंसिर १३, १४ र १५ गते काठमाडौँमा हुने महासमिति बैठकपछि कांग्रेसभित्रको ध्रुवीकरणले आकार लिने कांग्रेस नेताहरू बताउँछन् । 

यस्तै, नेता मधु आचार्यले पनि पार्टी भित्रको ध्रुवीकरण तत्काल परिणाम ल्याउने गरी अगाडि नबढेको बताए । ‘महासमिति बैठकपछि नै एउटा चित्र देखिन्छ होला । अहिले गुणात्मक प्रभाव पार्ने किसिमको कुनै राजनीतिक परिणामको स्थिति छैन,’ उनी भन्छन्, ‘केही संवादहरु सुसुप्त छन् । ठोस चेन्जका लागि जाने ढंगको संवाद देखिएको छैन । आ–आफ्नो रफ्तारमा व्यस्त छन् ।’

कोशी प्रकरणपछि नेता कोइराला र महामन्त्री थापाबिच बढेको दुरी घटाउने कुनै प्रयत्न नभएको आचार्यको भनाइ छ । ‘उहाँहरू बीचको दुरी नबढेको छ, न त्यसले कुनै अर्को आकार लिन सकेको छ । थप बढाएर जान दुबै जना मानसिक रूपमा तयार पनि छैनन् । दुरी बढाएर जानुहुन्न भन्ने कुरामा दुबै जना सहमत पनि छन् । तर, दुरी कम गर्नका लागि दुबै पक्षबाट मूलभूत प्रयत्न पनि भएको छैन,’ उनले भने ।

आचार्यका अनुसार एक ठाउँमा उभिएर अगाडि बढ्नुको विकल्प नभएको दुबैजनाले बुझेका पनि छन् । ‘उहाँहरूबिच ग्याप बढेर जाने सम्भावना म देख्दिनँ । एक ठाउँमा आउनु र मिल्नुको विकल्प छैन,’ उनले भने ।

नेता कोइराला र महामन्त्री थापालाई एक ठाउँमा उभ्याउने विषयमा आफूहरूबिच छलफल भइरहेको उनले बताए । ‘शेखर कोइराला र गगन थापा सँगै राखेर कुराकानी गर्ने अभ्याससम्म पुगिसकेको छैन । त्यो अब चाँडै हुन्छ । त्यो गर्नु पनि पर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप