मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

एमालेले गरेको उदाहरणीय कार्यलाई म बिर्सन सक्दिनँ : मुख्यमन्त्री कार्की

‘एमालेमात्रै होइन राप्रपालाई पनि सँगै जाऊँ भनेर वार्ता सुरु गरिरहेका छौँ’
शनिबार, १८ कात्तिक २०८०, १८ : २०
शनिबार, १८ कात्तिक २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित समर्थन गर्ने नेकपा एमालेको सहयोगलाई आफूले कहिल्यै पनि बिर्सन नसक्ने बताएका छन् । विराटनगरस्थित मुख्यमन्त्री निवासमा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले आफू सहमतिको सरकारको पक्षमा रहेको पटक–पटक दोहोर्‍याए । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट दुई जना मन्त्री नियुक्ति गरेर आफूले सहमतिको सरकारको स्वरूप दिने प्रयास गरेको उनको दाबी छ । 

‘सहमतिको सरकारको स्वरूप दिनकै लागि दुई पार्टीबाट मन्त्री बनाएका हौँ । सहमतिको बाटो अघिल्ला मुख्यमन्त्रीहरूकै एजेन्डा थियो । अहिले धारा १६८ (५)बाट मुख्यमन्त्री बन्दा एमालेबाट निर्वाचित माननीयहरूले सहयोग गर्नुभयो । त्यसैले त्यस बेला एमालेले नेतृत्व गरेको सरकारको सहमतिको सरकार बनाउने एजेन्डा थियो । त्यही एजेन्डालाई लागू गर्न मैले माओवादी र नेकपा एसलाई सरकारमा सहभागी गराएको हो,’ उनले भने, ‘मैले छलफल र कुरा गरेपछि माओवादी र नेकपा एकीकृत समाजवादी एमालेसहितको सरकारमा आउन तयार भएको हो ।’

उनले एमालेले आफूलाई गरेको सहयोग कहिले बिर्सन नसक्ने भन्दै पुनः सरकारमा सहभागी हुन आग्रह  गरे । ‘अहिले पनि म नेकपा एमालेलाई आग्रह गर्न चाहन्छु तपाईंहरुको सहयोगमा, तपाईंहरुले मध्यावधि निर्वाचन रोक्नका लागि गरेको उदाहरणीय कार्यलाई म बिर्सन सक्दिन । म तपाईंहरुलाई सँगै लिएर जान चाहन्छु । सहमतिको सरकारको बाटो बन्द हुँदैन । सँगै जाऊँ,’ कार्कीले भने, ‘यो प्रदेशमा पनि अब परिवर्तनकारी सबै शक्तिहरू (जसले विश्वासको मत दिएर सहयोग गर्नुभयो)सबैलाई मिलाएर अगाडि बढ्न म पछि हट्दिन । म कसैसँग दुर्भाव राखेर जाँदिन । त्यो अभियान हिजो सुरु भएको छ । हामीले कसैलाई पनि बाटो छेक्ने वा अप्ठ्यारो पार्ने अभियानमा छैन । प्रदेशको समृद्धिमा एमालेको साथ रहन्छ भन्ने मलाई विश्वास छ ।’

उनले संसदीय अभ्यासलाई जीवन्त राख्नका लागि प्रतिपक्षमा बसेको भन्दै राप्रपालाई पनि धन्यवाद दिए । ‘राप्रपालाई पनि यो प्रदेशको समृद्धिको यात्रामा सँगै जाऊँ भनेर वार्ता सुरु गरिरहेका छौँ । सहमतीय सरकारमा आउनका लागि राप्रपालाई पनि खुल्ला राखेको जानकारी दिन चाहन्छौँ,’ उनले भने । 

कार्कीले विश्वासको मत दिनेलाई मुख्यमन्त्रीले सरकारमा आउनु हुन्छ कि आउनु हुन्न भनेर सोध्नु राजनीतिक चरित्र भएको भन्दै सोध्दा आउँछु भनेपछि सरकारमा सहभागी गराएको बताए । उनले आफ्नो नेतृत्वको सरकार सत्ता टिकाउनका लागि क्याल्कुलेट गरेर सत्ता टिकाउन कसरत गर्नु नपर्ने खालको रहेको दाबी गरे । 

कार्तिक २० गतेबाटै बजेट प्रतिस्थापन विधेयक संसद्मा जाने बताउँदै त्यसपछि कर्मचारीसँग सम्बन्धित विधेयक अगाडि लिएर जाने पनि बताए । यस्तै यही अधिवेशनबाट संसदीय समितिहरू निर्माणको पहल सुरु गर्ने पनि उनले बताए । ‘अहिले चलिरहेको प्रदेशसभा सञ्चालन नियमावली अनुसार नै समिति बन्छन्, त्यसका लागि छलफलको पहल अगाडि बढिसकेको छ,’ कार्कीले भने । 

उनले सहमतिका लागि र चाडबाडको कारण सरकारलाई पूर्णता दिन ढिलाइ भएको बताउँदै छिट्टै सरकारले पूर्णता पाउने बताए । ‘अब विभागको जिम्मेवारीसहित छिट्टै सरकारलाई पूर्णता दिन्छौँ । तिहार पछिसम्म जाँदैन,’ उनले भने, ‘सरकारलाई नयाँ रूपले हामी अगाडि बढाउन चाहन्छौँ । भौतिक विकासमा सरकारले धेरै फड्को मारेको छ । अब मानवीय विकास स्वास्थ्य, शिक्षा, कृषिको क्षेत्रमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी बाटो पहिल्याउन खोज्दैछौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप