मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
पाटनमा लफडा

पाटन अस्पतालमा मृत्यु प्रकरणः प्रहरीसमक्ष बयान दिँदै चिकित्सक

ओपीडी सेवा कहिले खुल्छ ?
बुधबार, २२ कात्तिक २०८०, १५ : ०२
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । प्रहरीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले घटनाको सत्यतथ्य विवरण संकलन गरी अनुसन्धानको काम भइरहेकाले स्वास्थ्य सेवा ठप्प नपार्न अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई आग्रह गरेका हुन् ।

शनिबार पाटन अस्पतालमा उपचाररत दुई जना बिरामीको मृत्यु भएको थियो । ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी र ओखलढुंगाकी ९० वर्षीय जनमाया राईलाई मृत्यु हुनुभन्दा केही समयअगाडि लगाइएको सुईमार्फत दिइएको औषधिबाट ज्यान गएको आफन्तको दाबी छ ।

दुवै जनाको मृत्युपछि आफन्तले स्वास्थ्यकर्मीमाथि लापरबाही गरेको आरोप लगाउँदै ड्यूटीमा खटिएका चिकित्सक र नर्समाथि दुर्व्यवहार गरिएको भन्दै चिकित्सकहरूले सोमबारदेखि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

स्वास्थ्यकर्मीमाथि आक्रमण भएको ३ दिन बितिसक्दा पनि दोषीलाई कानुनी कारबाही नभएको भन्दै स्वास्थ्य सेवा चिकित्सकहरूले ठप्प पारेका हुन् ।

मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट, दुर्व्यवहार र ज्यान मार्ने धम्की दिई स्वास्थ्य सेवा प्रवाहमा दखल पुर्‍याउने गतिविधि गरिएको अस्पतालको दाबी छ ।

यस्तै, नेपाल चिकित्सक संघले पाटन अस्पतालमा ज्येष्ठ नागरिकहरूको मृत्युबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ । संघले ज्येष्ठ नागरिकको मृत्युपछि स्वास्थ्यकर्मीमाथि भएको कुटपिट,   ज्यान मार्ने धम्कीप्रति आपत्तिसमेत जनाएको छ ।

ज्येष्ठ नागरिकहरूको मृत्युबारे अनुसन्धान गरी त्रुटि भएको फेला परेमा कानुन अनुसार कारबाही माग गर्दै संघका महासचिव डा सञ्जीव तिवारीले डाक्टर तथा नर्समाथि आक्रमण र कुटपिट निन्दनीय भएको जनाएका छन् ।

अस्पताल के भन्छ ?

ललितपुरका ६८ वर्षीय नगरकोटी र ओखलढुंगाकी ९० वर्षीय राई निमोनियाको उपचार गर्न अस्पताल भर्ना भएका थिए । ज्येष्ठ नागरिक वार्डमा नगरकोटी कात्तिक १० मा र राई कात्तिक १६ मा निमोनियाको उपचारका लागि भर्ना भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए ।

दुवै जनालाई आवश्यक परीक्षणका आधारमा लेखिएको सेफिट्रयाक्सोन नामक औषधि र रगत पातलो गर्ने हेपारिन नामक औषधि चलाइएको उनको भनाइ छ ।

डा. शाक्यका अनुसार ती औषधि अन्य बिरामीलाई पनि चलाउने गरिएको थियो । तर इन्जेक्सनमार्फत औषधि चलाइएको केही समयपछि दुई जनाको मृत्यु भएको थियो । त्यस लगत्तै मृतकका आफन्तले औषधिमाथि शंका गरी उजुरी दिएका हुन् ।

यद्यपि मृतक दुवै जनामा निमोनियाको गम्भीर सङ्क्रमण हुनुका साथै अन्य स्वास्थ्य समस्यासमेत देखिएको डा. शाक्यले बताए । अस्पतालले ती ब्याचका औषधि प्रयोग नगर्न र परीक्षण गर्न भनेको छ ।

उजुरीको आधारमा उपचारमा संलग्न चिकित्सक नर्सहरूसँग प्रहरीले बयान लिइरहेको पनि उनले प्रस्ट पारेका छन् । उनले भने, ‘अब सत्यतथ्य अनुसन्धानपछि विज्ञ समूहले यदि अस्पतालको कमजोरीका कारण बिरामीको मृत्यु भएको प्रमाणित गरेमा अस्पताल कानुन अनुसार कारबाही भोग्न तयार छ ।’  

ओपीडी सेवा कहिले खुल्छ ?

डा. शाक्यका अनुसार जुनियर डाक्टरहरूले न्याय नपाएसम्म काममा नफर्कने अडान लिएका छन् । सिनियर डाक्टरहरू घटनाका सम्बन्धमा प्रहरीसँग सम्बन्धित अनुसन्धानको दायरामा पुगेकाले चाँडै काममा फर्किने आशा उनले व्यक्त गरे ।

डाक्टर शाक्यका अनुसार, अस्पतालमा नयाँ भर्ना बाहेक आकस्मिक र शल्यक्रिया जस्ता सेवा निरन्तर सञ्चालन भइरहेको छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारको क्रममा बिरामीको मृत्यु प्रकरणबारे पाटन अस्पतालसँग घटनाको सम्पूर्ण विवरण माग गरेको छ । यस अतिरिक्त नेपाल प्रहरीले बिरामी मृत्यु प्रकरणको घटनाबारे छानबिन तथा अनुसन्धान गरिरहेको मन्त्रालयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप