आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित

बिहीबार, २३ कात्तिक २०८०, १२ : ०३
बिहीबार, २३ कात्तिक २०८०

पोखरा । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो । 

उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा भएका व्यापार व्यवसाय चौबीसै घण्टा खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको थियो ।

व्यापार, व्यवसाय गर्न रोक नलगाउन मागसहित स्थानिय देवीकुमारी बरालले दिएको रिट निवेदनउपर भएको बहसपछि न्यायाधिश भट्टराईले यस्तो आदेश दिएकी हुन् । आदेशमा  कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनू भनिएको छ । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले  लामो समयदेखि पर्यटन व्यवसायीले उठाएको आवाजको सम्बोधन भएको प्रतिक्रिया दिनुभयो । “हामी निकै आजित भइसकेका थियौँ, पटक पटक प्रहरी प्रशासन, राज्य संयन्त्रलाई यसबारे जानकारी गराउँदै आएका थियौँ । आज बल्ल माग सम्बोधन भएको छ । अब कार्यावन्यनको पर्खाइमा छौँ ।” प्रहरीले १० बज्न नपाउँदै सिठी लगाएर होटल रेष्टुराँ बन्द गर्न आउने गरेका कारण खाना खाँदै गरेका पाहुना मुखामुख गर्नुपर्ने स्थिति सिर्जना हुने गरेको थियो । 

“अदालतको आदेशले अब राहत मिलेको छ”, अध्यक्ष श्रेष्ठले भने । उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेसँगै यहाँको पूर्वाधार विकासलाई पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक सुरक्षासहित पर्यटनमैत्री वातावरणका लागि राज्यले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले उच्च अदालतको आदेश व्यवसायी र पर्यटकमैत्री भएको बताए । “यो आदेश स्वागतयोग्य छ, लेकसाइडमा आउने पर्यटक आनन्दले घुम्ने तथा मनोरञ्जन लिन चाहन्छन, यसअघि उनीहरुलाई बाधा पुगेको थियो”, उनले भने । अदालतको आदेशलाई प्रभावकारीरुपमा कार्यान्वयन गरेर पोखरालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तीनै तहका सरकारले चासो र प्राथमिकता दिनुपर्ने अध्यक्ष पौडेलले बताए ।

यसैगरी होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले  अदालतको आदेशले व्यवसायीको मनोबल बढाएको बताए । “व्यवसायीले जोखिम मोलेर पर्यटन क्षेत्रमा लगानी गरेका छौँ । तर राज्य पर्यटनमैत्री बन्न नसक्दा जोखिम बढिरहेको छ, यो आदेशले उत्साह थपिएको छ”, उनले भने । आदेशपछि तालको सुन्दरतासँगै लेकसाइड आसपासका रात्रीकालिन दृश्यसहित मनोरञ्जन लिनबाट अब पोखरा आउने पर्यटक वञ्चित हुनु नपर्ने अध्यक्ष सुवेदीको भनाइ छ । 

पर्यटन बहुआयामिक क्षेत्रसँग जोडिएको हुनाले हरेक पक्षबाट पर्यटकको सहजतासहितको आतिथ्यताको खाँचो हुने भएकाले सम्बन्धित निकाय जिम्मेवार भएर यो क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने उनले बताए । गृह प्रशासन सुधार कार्ययोजनामा ठमेल, दरबारमार्ग, पोखराको लेकसाइडजस्ता पर्यटकको अवागमन बढी हुने क्षेत्रमा २४ घन्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप