बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मधेसमा दुई महिनामै १० हजार जना जनमत पार्टीमा प्रवेश !

शुक्रबार, २४ कात्तिक २०८०, २३ : ३०
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । ‘मिसन ०८४’ अन्तर्गत जनमत पार्टीले पहिलो चरणको पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस प्रदेशका आठ वटै जिल्लामा चरणबद्ध पार्टी प्रवेश गराएका छन् । पहिलो चरणमा आठ वटा जिल्लामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको र दोस्रो चरणको कार्यक्रम छठपछि सुरु हुने जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले बताए ।

मधेस प्रवेशका आठ वटा जिल्लामा दुई महिनादेखि पार्टी प्रवेशको कार्यक्रम जारी थियो, दुई महिनामा करिब १० हजार जना जनमत पार्टीमा प्रवेश गरे,’ कुशवाहाले भने । उनका अनुसार पहिलो चरणमा जो पायो त्यसैलाई पार्टीमा प्रवेश गराइएको छैन । अन्य पार्टीका शीर्ष नेता, आफ्नो क्षेत्र तथा जिल्लामा पकड बनाएका नेतालाई मात्र प्रवेश गराइएको उनको भनाइ छ ।

जनमत पार्टीमा कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एमालेलगायतका दलबाट महत्त्वपूर्ण नेताहरु प्रवेश गरेको उनले बताए । महोत्तरीमा लोसपाका केन्द्रीय सदस्य सुरेश प्रसाद सिंह, सुनिल रोहित, कादिर अली, शंकर साह, जलेश्वरका पूर्व मेयर भागिरथ झा, लोसपाकै सन्जय ठाकुरलगायतका नेताहरु जनमतमा प्रवेश गरेका छन् ।

त्यस्तै, कांग्रेसबाट सिरहा मिर्चैयाका युवा नेता रामेश्वर यादव (मरर) पनि जनमत पार्टीमा प्रवेश गरेका छन् । सिरहामा लोसपा, जसपा, माओवादीका केही नेता जनमतमा प्रवेश गरेको उपाध्यक्ष कुशवाहाले बताए । ‘पर्सादेखि सप्तरीसम्म पहिलो चरणको पार्टी प्रवेश सकिएको छ, छठपछि कोशी प्रदेशको सुनसरी, मोरङ र झापामा पार्टी प्रवेश कार्यक्रमको तयारी भइरहेको छ,’ कुशवाहाले भने, ‘त्यसपछि लुम्बिनी प्रदेशमा पनि पार्टी प्रवेशको कार्यक्रम गर्ने तयारी छ ।’

जनमत पार्टीमा प्रवेश गर्नका लागि जिल्ला जिल्लाबाट खबर आइरहे पनि समय दिन नसकेको उनको भनाइ छ । आगामी चुनावमा मधेस प्रदेशमा जनमतले आफ्नै नेतृत्वमा पूर्ण बहुमतको सरकार बनाउने गरी तयारी थालिएको उनले बताए । ‘अहिलेको अवस्था हेर्दा त्यसमा जनमत पार्टी सफल हुन्छ,’ उनले भने, ‘जनमत पार्टी अब पूरै देशको पार्टीका रूपमा आउने संकेत देखेपछि गाउँगाउँमा सदस्यता वितरण र संगठन विस्तारको काम भइरहेको छ ।’

२०७९ को आम निर्वाचनबाट नयाँ वैकल्पिक शक्तिको रूपमा उदाएको जनमत पार्टी पहिलो प्रयासमा राष्ट्रिय पार्टी बन्न सफल भएको छ । निर्वाचन पश्चात् जनमत पार्टी ६ प्रतिनिधि सभा सदस्यसहित संघीय सरकार, १३ प्रदेश सभा सदस्यसहित मधेस सरकार र तीन प्रदेश सभा सदस्यसहित लुम्बिनी सरकारमा आफ्नो उपस्थिति जनाएको छ ।

उपाध्यक्ष कुशवाहका अनुसार संघीय सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भएकी अनिता साह कर्मचारी व्यवस्थापनमा भएको बेथिति सुधारमा लागेकी छन् । मन्त्रालयमा लाग्ने बिचौलियाको दैनिक भिडलाई उनले कम गरेको कुशवाहाको दाबी छ ।

सरुवामा हुने आर्थिक चलखेल पूर्णतः बन्द भएको दाबी गर्दै उनले आवश्यकता, समन्वय, सहजीकरण तथा नियमसंगत तरिकाले सरुवा सम्बन्धी कार्यको सुरुवात भएको बताए । आफू केही महिनामात्र भए पनि कृषि मन्त्री भएको बेला मधेसमा कृषि क्रान्तिका पहल गरेको विषय अहिले जन–जनमा चर्चाको विषय बनेको दाबीसमेत उनले गरे । महिनौँ किसान आन्दोलन गरेर किसानको पार्टीको रूपमा चर्चा कमाएको जनमत पार्टीले कृषि मन्त्रालय चलाएको बेला किसानको समस्या समाधानका लागि काम गरेको दाबी गर्दै उनले बजेट ल्याउने अन्तिम समयमा मन्त्रीलाई बिना विभागीय बनाएपछि कृषि लथालिङ्ग अवस्थामा पुगेको बताए ।

नयाँ बजेटमार्फत हरेक वडामा जैविक मल उद्योग खोल्ने, हरेक वडामा अनुदानमा आधारित बिउबिजनको एग्रोभेट खोल्ने, हरेक ४ बिघामा एक स्यालो ट्यूबवेल जड़ान गर्ने, हरेक पालिकामा २ वटा बजारस्थल व्यवस्थित गर्ने, हरेक निर्वाचन क्षेत्रमा कोल्ड स्टोर सहितका ठुला स्तरका बजार मण्डी निर्माण गर्ने, हरेक उत्पादनको समर्थन मूल्य निर्धारण गर्ने जस्ता आधारभूत योजना आफूले बनाएको तर योजना अनुसार बजेट निर्माण गर्न नपाएपछि सबै कार्य अलपत्र परेको उनको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप