शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
जहाज खरिद प्रक्रिया

नेपाल एयरलाइन्स किन ‘ट्वीनअटर’ जहाज नै खरिद गर्न चाहन्छ ?

शुक्रबार, २४ कात्तिक २०८०, १४ : ५९
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स (वायु सेवा निगम) यतिखेर तीन वटा जहाज खरिद प्रक्रियामा छ । दुर्गम क्षेत्रमा डोमेस्टिक उडान भर्ने गरी निगमले तत्काल तीन वटा साना ट्वीनअटर जहाज गरिद गर्ने भएको हो ।

२२ अक्टूबर, २०२३ अर्थात् गत कात्तिक ५ गते ४५ दिने सार्वजनिक सूचना जारी गर्दै निगमले तीन वटा जहाज खरिदको अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेको थियो । इच्छुक निर्माता कम्पनीले आउँदो डिसेम्बर ५, २०२३ सम्ममा दरखास्त दिइसक्नु पर्नेछ । तर, टेन्डर आह्वान भएको २० दिन पुग्दा समेत एउटै कम्पनीको दरखास्त (प्रस्ताव) परेको छैन ।

टेन्टर समयावधि अझै आधाभन्दा बढी रहेकाले प्रस्ताव आउन समय रहेको निगमका प्रवक्ता रमेश पौडेल बताउँछन् । ‘जहाज खरिदको ४५ दिने सूचना हो । अझै २४–२५ दिन त बाँकी नै छ । पर्याप्त समय भएकाले आवेदकहरुले पर्खिएको हुनसक्छ,’ उनले भने, ‘टेन्डर पर्ने भनेको त अन्तिम–अन्तिम समयमै हो नि ।’

निगमले पहिलो पटक आफ्नै कमाई (आन्तरिक स्रोत) ले तीन वटा स्टोल एयरक्राफ्ट (ट्वीनअटर जहाज) खरिद गर्न लागेको हो । त्यो पनि कुनै एजेन्ट (दलाल) बिना सिधै निर्माता कम्पनीमार्फत निगमले जहाज खरिद गर्न लागेको हो । केही कठिनाइका बाबजुद खरिद पारदर्शी र सुलभ हुने विश्वास रहेको प्रवक्ता पौडेलको भनाइ छ ।

‘यहाँ त जहाज किन्ने भन्यो कि शंकाको दृष्टिले हेरिहाल्नुपर्ने चलन छ । न खायो कि ? निगमको जहाज प्रक्रियामा चलखेलको आशंका भन्नेजस्ता समाचार आउँछन् । आशंका त गर्न पाइयो, तर सत्यतथ्य के हो ? हो÷होइन त प्रमाणित हुनुप¥यो नि,’ उनले भने, ‘त्यसैले यसपटक निगमले कुनै एजेन्टमार्फत नभएर सिधै निर्माता कम्पनीसँगै जहाज खरिद गर्दैछ ।’

सम्भवतः यो आर्थिक वर्षभित्रै तीन वटा जहाज ल्याइसक्ने प्रवक्ता पौडेलले रातोपाटीलाई बताए ।

नेपाल एयरलाइन्स किन चाहन्छ ‘ट्वीनअटर’ जहाज नै ?

त्यसो त दुर्गम पहाडी तथा केही हिमाली क्षेत्रमा उडान भर्नेगरी निगमले खरिद गर्न लागेको तीन वटै जहाज साना ‘ट्वीनअटर एयरक्राफ्ट’ हुन् । पछिल्ला समय डोमेस्टिक उडानका लागि अन्य निजी हवाई कम्पनीहरु एटीआर जहाजमा आकर्षित भइरहे पनि निगम भने ट्वीनअटर जहाज नै खरिद गर्न लागेपछि स्वाभाविक रुपमा प्रश्न उठेका छन् । आधुनिक फिचरसहितका यस्ता थुप्रै एयरक्राफ्ट उपलब्ध भए पनि आखिर निगमले किन ट्वीनअटर जहाज नै खरिद गर्न खोज्दैछ त ?

‘हामीले आफ्नो क्षमता, व्यावसायिकता र सफलतालाई हेर्ने हो । न कि अरुको पछि लागेर बर्बादीतर्फ जाने हो । यसो गर्दा अनावश्यक दुःख र हैरानी भोगेको हामीसामु उदाहरण नै छन्,’ प्रवक्ता पौडेलले भने, ‘नयाँ जहाज खरिद गर्दा त्यसको पार्टपुर्जाको उपलब्धता, मेन्टेनेन्स मेकानिकल इन्जिनियरको उपलब्धता र पाइलटको समेत हामीले व्यवस्था गर्न सक्छौँ कि सक्दैनौँ ? यो महत्त्वपूर्ण प्रश्न हो ।’

एटीआर, एयर बस नै ल्याउन मन भए पनि त्यसको ‘अप्रेशनल कस्ट’ बेहोर्न सकिन्छ कि सकिँदैन भन्ने पनि विचार गर्नुपर्ने उनको भनाइ छ । ‘यसैले हाम्रो लामो अनुभव र सबैखाले सेवा सुविधालाई मध्यनजर गर्दै हाम्रा लागि ट्वीनअटर जहाज नै उपयुक्त हो भन्ने लाग्यो र यही खरिद गर्न लाग्यौँ,’ उनले भने ।

एउटा नयाँ जहाज भिन्न कम्पनीको खरिद गर्दा त्यसको पार्टपूर्जादेखि इन्जिनियर र पाइलटसमेत त्यही अनुसार व्यवस्था गर्नुपर्ने हुँदा ठलो खर्च आउने र निगमको व्यावसायिक आम्दानीले त्यसलाई धान्न नसक्ने पौडेलको भनाइ छ । अहिले ग्राउन्डेड भएका ६ वटा चिनियाँ जहाज यसैको उदाहरण भएको उनले जिकिर गरे ।

जहाज किन्ने योजना तीन वर्ष अघिकै

वायु सेवा निगमले तत्काल जहाज खरिद गर्ने भएपछि निगम र मन्त्री सुदन किरातीको आलोचना सुरु भएको छ । कमिसनको खेलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती जहाज खरिदमा लागिपरेको भन्दै आलोचना भएको छ । तर, निगमको जहाज खरिदको योजना तत्कालको होइन ।

तीन वर्षअघि २०७७ भदौमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले नै आन्तरिक उडानका लागि थप जहाज आवश्यक रहेको भन्दै जहाज खरिद गर्ने प्रक्रिया अघि बढाउन निगमको व्यवस्थापनलाई निर्देशन दिएका थिए । जतिबेला निगमको व्यवस्थापन समितिको कार्यकारी अध्यक्ष सुशील घिमिरे थिए भने निगमको महानिर्देशक डिमप्रकाश पौडेल थिए ।

त्यसपछि अध्यक्ष घिमिरेको नेतृत्वमा जहाज खरिद उपसमिति गठन गरिएको थियो । उक्त समितिले २ वटा एटीआर र ३ वटा साना ट्वीनअटर जहाज खरिद गर्न आवश्यक रहेको औँल्याएको थियो ।

सोही उपसमितिको सुझाव र आवश्यकतालाई मनन् गर्दै हाल पहिलो चरणमा निगमले तीन वटा ट्वीनअटर जहाज खरिद गर्न लागेको प्रवक्ता पौडेलको भनाइ छ ।

जहाज खरिद गरिछाड्ने मन्त्री किरातीको उद्घोष

पर्यटनमन्त्री किराती जसरी पनि जहाज खरिद गरिछाड्ने अठोटमा छन् । राम्रो काम गर्दा आलोचना र अवरोध गर्नु स्वाभाविक भएको भन्दै उनले बरु आफू जेल जान तयार हुने तर जहाज खरिद गरिछाड्ने उद्घोष गरिरहेका छन् ।

अहिलेको प्रतिस्पर्धी बजारमा निगमको क्षमतालाई बजबुत बनाउन र व्यावसायिक सफलताका लागि पनि निगमले थप जहाज किन्नैपर्ने मन्त्री किरातीको भनाइ छ । पछिल्लो समय निगमको व्यवस्थापनसँगै आर्थिक पाटो समेत सुधार भएकोले आफ्नै लगानीमा जहाज खरिद गर्न निगम सक्षम भएको उनले बताए । हाल निगमले दुई वटा ट्वीनअटर जहाजमार्फत दुर्गम क्षेत्रको उडान भरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप