आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
तिहारमा बिजुली

कुलमान भन्छन्–आपूर्तिमा समस्या छैन, चाहिएजति बिजुली बाल्नु

आन्तरिक माग धान्दै ४०० मेगावाट भारत निर्यात, कुलेखानी र तामाकोशी ‘ब्याकअप’मा
आइतबार, २६ कात्तिक २०८०, १५ : २७
आइतबार, २६ कात्तिक २०८०

काठमाडौँ । तिहारको समयमा बिजुलीको उच्च खपत १४ सय मेगावाटसम्म रहने नेपाल विद्युत प्राधिकरणले प्रक्षेपण गरेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार लक्ष्मीपूजामा उच्च माग नै जम्माजम्मी १४ सय मेगावाट आसपास हुने प्रक्षेपण प्राधिकरणको छ ।

उनले गत वर्षको तिहारदेखि लक्ष्मीपुजाको बिजुली माग धान्न समस्या नरहेको समेत स्मरण गरे । ‘गत वर्षदेखि स्वदेशी बिजुलीबाटै तिहारको माग धान्न सुरु भइसकेको छ,’ घिसिङले रातोपाटीसँग भने, ‘१४ सय मेगावाट माग भएमा थप ४००/५०० मेगावाट बिजुली भारत बेच्छौँ ।’

तिहारको समयमा सार्वजनिक बिदा रहेकाले उद्योगधन्दा तथा कलकारखाना बन्द हुनेछन् । यसबाहेक, ठूला व्यापारिक मललगायत समेत बन्द हुन्छन् । जसबाट बिजुलीको खपत स्वतः घट्छ । 

केही वर्ष अघिसम्म लक्ष्मीपूजा वर्षकै सबैभन्दा धेरै बिजुली खपत हुने समयका रूपमा रहन्थ्यो । तर, पछिल्लो समय आन्तरिक उत्पादनले माग धान्ने स्थिति बनिसकेको छ । यसबाहेक, नेपालको बिजुली खपतको ‘ट्रेन्ड’ नै बदलिइसकेको घिसिङको भनाई छ । 

‘अहिले गर्मी याममा सबैभन्दा धेरै बिजुली खपत हुन्छ । चैत, वैशाख र जेठ महिनामा सबैभन्दा उच्च माग हुन्छ,’ घिसिङ थप्छन्, ‘यो समयमा उच्च गर्मी हुने भएकाले तराई क्षेत्रमा एसी र पंखा चलाउँदा माग बढ्छ ।’

दुई÷तीन वर्ष अघिसम्म पनि चिसोयाम सबैभन्दा धेरै बिजुली खपत हुने समयका रूपमा थियो । यो समयमा एसी र हिटर चलाउँदा सबैभन्दा धेरै बिजुली खपत हुन्थ्यो । तर, पछिल्लो समय आन्तरिक उत्पादन बढेर बिजुली बढी हुन थालेसँगै बिजुली खपतको ट्रेन्ड नै बदलिएको घिसिङ बताउँछन् । 

यसको अर्थ चिसोयाममा बिजुली खपत भने घटेको होइन । चिसो याममा समेत खपत बढेपनि तुलनात्मक रूपमा गर्मी याममा बिजुलीको खपत बढी हुन थालेको हो ।

तिहारको समयमा हुने कूल बिजुली खपतमध्ये सबैभन्दा धेरै काठमाडौंमा नै हुने प्राधिकरण बताउँछ । लक्ष्मीपूजाको दिनमा मात्रै तिहारमा ३५० मेगावाटसम्म बिजुली खपत हुने आकलन प्राधिकरणको छ । सामान्य अवस्थामा २५० देखि ३०० मेगावाटसम्म मात्रै काठमाडौँको माग हो ।

समस्या समाधानमा ‘टास्क फोर्स’

तिहारको समयलाई उज्यालोको सहर भनिन्छ । कुलमान घिसिङ नै प्राधिकरणको नेतृत्वमा आएपछि पहिलोपटक २०७३ सालको लक्ष्मीपूजाबाट लोडसेडिङको अन्त्य भएको घोषणा भयो । 

त्यसयता निरन्तर बिजुलीमा सहजता थपिँदै जाँदा यतिबेला निर्यातको स्थितिमा पुगेको छ । घिसिङले तिहारको समयमा (विशेषगरी लक्ष्मीपूजा)मा बिजुलीमा कुनै समस्या आए समाधानका लागि ‘टास्क फोर्स’ नै तयारी अवस्थामा छ ।

यो टोलीले रुखका कारण वा बढी लोडका कारण हुने लोडसेडिङलाई तत्काल समाधान गर्नेछ । यसबाहेक, कुलमान घिसिङ आफै पनि आज दिनभर उपत्यका आसपासका सब्सटेसनमा पुग्दैछन् । 

‘तिहारको समयमा मुसा पस्यो भने समस्या हुन्छ,’ घिसिङले भने, ‘यही कारण म स्वयम् आज दिनभर आसपासका सबस्टेसनमा पुग्छु ।’

कुलेखानी बन्द, तामाकोशी न्यून क्षमतामा

प्राधिकरणले तिहारको १४ सय वा यो भन्दा बढी माग धान्दै भारततर्फ थप ४०० देखि ५०० मेगावाट बिजुली बेच्ने जनाइसकेको छ । यो व्यवस्थापनका लागि समेत प्राधिकरणले कुलेखानी र माथिल्लो तामाकोशीलाई पूर्ण क्षमतामा चलाउनुपर्ने घिसिङ बताउँछन् । उनका अनुसार माथिल्लो तामाकोशी आवश्यकता अनुसारको माग धान्ने गरी ‘स्ट्यान्डबाई’ बस्छ ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी अर्धजलाशययुक्त आयोजना हो । सोहीकारण, यो आयोजनालाई आवश्यक परेको समयमा मात्रै चलाउन सकिन्छ । 

प्राधिकरणले तिहारमा तामाकोशीबाट चाहिएको समयमा उत्पादन गर्ने गरी न्यूनतम क्षमता १०० मेगावाटमा चलाउने निर्णय गरेको छ । 

यसबाहेक, कुलेखानी आयोजनाबाट भने उत्पादन नै नगर्ने निर्णय गरेको छ । यद्यपि, माग उच्च रहेर बिजुली नपुगेमा भने यी दुवै आयोजनाबाट समेत उत्पादन थाल्ने गरी तम्तयार अवस्थामा रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप