शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसी समुदायको प्रश्न– भाइटिकामा रानीपोखरी खोल्न मिल्ने, छठमा किन नमिल्ने ?

आइतबार, २६ कात्तिक २०८०, २० : ००
आइतबार, २६ कात्तिक २०८०

काठमाडौँ । दीपावलीसँग छठको तयारी पनि सुरु भएको छ । छठका लागि सामग्री किन्नेदेखि लिएर घाटको ठाउँ मिलाउने सम्मको काम सुरु भएको छ । 

काठमाडौँमा पनि विभिन्न संघ, संस्था छठको तयारीमा जुटेका छन् । काठमाडौँमा रानीपोखरी, कमलपोखरी, मनोहरा, बागमती, गुहेश्वरी, विष्णुमतीलगायतका स्थानमा छठ मनाइन्छ ।

तर, यसपटक काठमाडौँ महानगरपालिकाले छठका लागि रानीपोखरी खुल्ला नगर्ने भएको छ । स्मरण रहोस्, महापर्व छठ समारोह समितिले २०६३ सालदेखि नै त्यहाँ छठ मनाउँदै आएको थियो । त्यसो त भूकम्पपछि पुनः निर्माणको काम सुरु भएपछि त्यहाँ छठको अवसरमा सामान्य पूजापाठ मात्र हुन्थ्यो । 

गत वर्ष पुनःनिर्माण प्राधिकरणले हस्तान्तरण नगरेको कारण महानगरपालिकाले छठ मनाउन दिएको थिएन । यसपटक तयारी समितिले रानीपोखरीमा छठ मनाउनका लागि पहल गर्दा महानगरले नदिएको समितिका महासचिव आनन्द गुप्ताले बताए । 

समितिले रानीपोखरी छठका लागि उपलब्ध गराई दिनका लागि मेयर बालेन शाहसमक्ष निवेदन पनि दिएको थियो ।  

महासचिव गुप्ताले भने, ‘महानगरपालिकासँग पटक पटक रानीपोखरीका लागि आग्रह गर्‍यौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता साहले समेत महानगरपालिकाका मेयर बालेन शाहलाई फोन गर्दिनुभयो, तैपनि महानगरपालिका दिन तयार भएन ।’

मन्त्री साहले फोन गरेपछि मेयर शाहले आफूहरुलाई भेट्नका लागि बोलाएको तर त्यहाँ गएपछि भेट नभएको महासचिव गुप्ताले बताए । त्यहाँका प्रशासकीय अधिकृतले मेयर शाह छठका लागि रानीपोखरी खुल्ला गर्ने मुडमा नरहेको कारण त्यहाँको ठाउँ दिन नसकिने आफूहरुलाई भनेर पठाएको उनले बताए । 

आफूहरु अझै प्रयासरत रहेको बताउँदै यद्यपि, यसपटक रानीपोखरीमा छठ मनाउने सम्भावना निकै कम रहेको उनले बताए । मेयर शाहले मधेसीमाथि विभेद गरेको उनको भनाई छ । भाइटिकामा रानीपोखरी खोल्न मिल्ने, छठमा किन नमिल्ने भन्दै रानीपोखरी नपाए आफूहरुको समितिले अरु ठाउँमा आयोजना नगर्ने बताए । 

२०७२ को भूकम्पले रानीपोखरीमा क्षति पुर्‍याए पनि अनौपचारिक रुपमा छठको मान्यताअनुसार रानीपोखरी घाटमा पूजाआजा गरिँदै आएको थियो । समितिले २०७० र २०७१ मा काठमाडौँ महानगरपालिकाले नै छठ पूजाको आयोजना तथा व्यवस्थापन गर्न लाग्ने सम्पूर्ण खर्च बेहोर्ने भनिएको कुरा समितिले मेयर शाहलाई पठाएको पत्रमा उल्लेख छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप