कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहार
काठमाडौँ । यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।
तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज साँझ दीपावली गरिँदै छ ।
नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्ष शनिबारदेखि सुरु भएको हो । यमपञ्चकको पहिलो दिन शनिबार सन्देशवाहकका रुपमा काग तिहार र धन्वन्तरी जयन्ती मनाइएको थियो । आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो । त्यसै साँझदेखि यम दीपदान पनि सुरु भएको छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार पर्व समापन हुन्छ । भाइटिकाको साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे उत्तम रहेको समितिका अध्यक्ष अधिकारीले जानकारी दिए ।
गरियो नरक चतुर्दशी स्नान
प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान सूर्योदयअघि नदी, तलाउ वा धारामा स्नान गरी नरक चतुर्दशी पर्व आज बिहान मनाइएको छ ।
स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाइयो । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ ।
कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन पर्छ । बिहान सूर्योदयअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने भएकाले आज बिहान यो पर्व मनाइएको हो ।
यो वर्ष कात्तिक २५ गते शनिबारदेखि यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएको हो । पहिलो दिन शनिबार काग तिहार र धन्वन्तरी जयन्ती मनाइएको थियो । दोस्रो दिन आज नरक स्नान गरी कुकुरको पूजा गरी मीठो खान दिएर मनाइएको हो । तिहार बडादसैँपछि दोस्रो ठूलो चाड हो । यसलाई उज्यालोको चाड पनि भनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण