पदयात्रामा प्रवेश शुल्क लगाएको माछापुच्छ्रेले मर्दीमा पर्यटक सूचना केन्द्र बनाउन थाल्यो
पोखरा । केही साताअघि पर्यटकलाई पदमार्ग प्रवेशमा शुल्क लिने निर्णय गरेपछि चर्चामा आएको कास्कीको माछापुच्छ्रे गाउँपालिकाले मर्दी हिमालमा पर्यटक सूचना केन्द्र निर्माणको काम थालनी गरेको छ । उपाध्यक्ष सीता अधिकारीले केन्द्र स्थापनाका लागि शिलान्यास गरेकी हुन् ।
पालिकाको ५५ प्रतिशत र जीविकोपार्जनको लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले ४५ प्रतिशत लगानी गर्नेछ । ३० लाख लागतमा केन्द्र निर्माण गर्न लागिएको उपाध्यक्ष अधिकारीले बताइन् । पर्यटकको तथ्यांक संकलन, सूचना प्रवाह तथा सुरक्षाका लागि यो केन्द्रले टेवा पुग्ने उनको भनाई छ ।
‘पालिकाले पर्यटकीय क्षेत्रको व्यवस्थापनकै लागि शुल्क लिने निर्णय गरेको हो । पर्यटकबाट उठाइएको रकम उनीहरुकै हितमा लगानी गर्नेछौँ,’ उनले भनिन्, ‘अहिले सूचना केन्द्र स्थापनाको काम सुरु भएको छ । अन्य ठाउँमा पनि यसरी नै व्यवस्थित गर्दै लगिनेछ ।’
प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले सूचना केन्द्र स्थापना पश्चात् पदमार्गमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज हुने बताए । उनले पदमार्गमा आउने पर्यटकहरुका लागि पर्यावरणीय सन्तुलन अनुकूलका गतिविधि अवलम्बनमा सुझाव दिने, पदमार्गमा रहेका जगंल तथा हिमाली क्षेत्रमा पाइने जनावर, वनस्पतीहरुको संरक्षण र प्रबद्र्धनमा सहयोग पुग्ने सुनाए ।
अर्थ विकास समिति संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष राम गुरुङले प्रख्यात मर्दी ट्रेकको थप सुधार र विकासका लागि पालिकाले लगानी गर्ने बताए । पालिकाले खुमै पदमार्ग र मर्दी हिमाल पदमार्गमा पुग्ने पर्यटकसँग कात्तिक १७ गतेदेखि शुल्क उठाउन थालेको छ ।
स्वदेशी पर्यटकसँग १ सय र विदेशी पर्यटकसँग ५ सय रुपैयाँका दरले संकलन गरिएको हो । अर्को वर्षदेखि पालिकाले डिजिटल ट्रेक कार्ड सेवा विस्तार गर्ने वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक नारायण पौडेलले बताए । पर्यटकबाट लिइएको शुल्कले पदमार्ग क्षेत्रमा सार्वजनिक शौचालय, प्रतीक्षालय, पिउने पानी, गोरेटो बाटो, फोहोर मैला व्यवस्थापन र प्रचार प्रसार गरिने पालिकाले जनाएको छ ।
मर्दी हिमाल व्यवसाय तथा व्यवस्थापन समिति उपाध्यक्ष खेम तामाङ पालिकाको अभियान सकारात्मक रहेको बताउँछन् । उनले पर्यटकका लागि पालिकाले पहिलो पटक व्यवस्थित कामको थालनी गरेकोमा धन्यवाद दिए । पालिकाले पर्यटकीय क्षेत्रमा रहेका होटल तथा रेष्टुरेण्टलाई पनि व्यवस्थित गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण