बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
खगेन्द्र लामिछानेलाई १५ प्रश्न

‘आगामी दिनमा अभिनयमै म आफूलाई केन्द्रित गर्नेछु’

म जीवनमा केही कुरामा पनि बिट मारेर बस्दिनँ : खगेन्द्र लामिछाने
बुधबार, २९ कात्तिक २०८०, १४ : ३४
बुधबार, २९ कात्तिक २०८०

काठमाडौँ । खगेन्द्र लामिछाने नेपाली फिल्म क्षेत्रमा  अभिनेता, लेखन, निर्माता तथा निर्देशकको बहु आयामिक व्यक्तिको रुपमा चिनिन्छन् । फिल्म ‘वधशाला’बाट अभिनयमा देखिएका लामिछाने त्यसपछि ‘टलकजङ भर्सेज टुल्के’मा देखिएका थिए । उनलाई सर्वत्र परिचित गराउने काम भने ‘पशुपति प्रसाद’ले गर्‍यो । 

त्यसपछि ‘धनपति’, ‘डम्बरुको डन्डीबियो’, ‘जय भोले’ लगायत फिल्म अभिनय गरेका उनले आफ्नै लेखन, निर्देशनमा ‘पानी फोटो’ बनाए, जसमा उनको अभिनयसमेत रहेको थियो । फिल्मले राम्रो चर्चा कमाएपनि व्यवसाय भने गर्न सकेन ।

केही साता अगाडि प्रदर्शित फिल्म ‘पशुपति प्रसाद २’: भष्मे डन’ निर्माण गरेका लामिछाने अभिनीत नयाँ फिल्म ‘दिमाग खराब’ गत शुक्रबारबाट प्रदर्शन भइरहेको छ । फिल्मले चर्चा र व्यवसायसमेत राम्रो गरिरहेको छ । प्रदर्शनरत फिल्म ‘दिमाग खराब’ र अभिनय करियरको विषयमा लामिछानेलाई यस्तो छ रातोपाटीको १५ प्रश्नः

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

–मेरो अभिनय रहेको पछिल्लो फिल्म ‘दिमाग खराब’ गत शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ । यो फिल्मको प्रचार प्रसार र दर्शक प्रतिक्रियामा बुझ्नमै व्यस्त छु । 

फिल्म र तपाईँको अभिनयका विषयमा के भन्छन् दर्शक ?

–फिल्म दर्शकले रुचाएका छन् । रिलिजको दिनदेखि नै फिल्मले राम्रो दर्शक पाउँदै आएको छ । फिल्म हेर्ने दर्शकले फिल्मको विषयवस्तु मनपराएका छन् । फिल्म र मेरो अभिनय दर्शकले राम्रो भनेका छन् ।

रिलिज अगाडि ‘दिमाग खराब’ चल्नुपर्ने प्रेसर कतिको थियो ?

कुनै पनि काम गर्दा म प्रेसर लिन्न । आफू इमानदार भएर काम गर्ने हो, अरु त हेर्ने होइन ।

‘दिमाग खराब’ मा कस्तो भूमिका निर्वाह गर्नु भएको छ ?

आम मान्छेको जीवनचर्यासँग सम्बन्धित सामाजिक कथा हो ‘दिमाग खराब’ । यही समाजको सामान्य मान्छेको रुपमा मलाई फिल्ममा देख्न सक्नुहुन्छ । जीवन अगाडि बढाउने क्रममा गर्ने संघर्ष फिल्मको विषयवस्तु हो ।

भनिन्छ, खगेन्द्रलाई सितिमिति भूमिकाले लोभ्याउन सक्दैन । यो फिल्मको के कुराले अभिनय गर्न प्रेरित गर्यो ?

व्यक्तिगत हिसाबले मलाई सामाजिक कथा मनपर्छ । समाजका भूइँमान्छेका कथा भन्न, सुन्न अनि त्यो माथि काम गर्न मनपर्छ । फिल्म ‘दिमाग खराब’ पनि भूइँमान्छेहरुको कथा हो, यसैले लोभ्यायो । 

फिल्ममा तपाईंको अभिनय दर्शकले रुचाइरहेको बेलामा किन फटाफट अभिनय गर्नुहुन्न ?

म जीवनमा जति पनि फिल्म अभिनय गर्छु, त्यो अर्थपूर्ण होस् भन्ने लाग्छ । फेरि म फिल्मको अभिनयमा मात्र सीमित छैन । फिल्म लेख्ने, निर्माण गर्ने र निर्देशन पनि गर्दै आएको छु । त्यसैले पनि समयभावका कारण अफर आएका फिल्म मनपरेर पनि छोड्नु परेको छ । 

फिल्मको धेरै विधामा क्रियाशील भएकोले मेरो अभिनयमा ग्याप हुने गरेको हो । आगामी दिनमा अभिनयमै म आफूलाई केन्द्रित गर्नेछु ।

निर्माता निर्देशकले जस्तो कथा देखाए पनि खगेन्द्रले रिजेक्ट गर्छ भन्छन् । खासमा तपाईँलाई अभिनयका लागि चाहिने भूमिका कस्तो हो ?

कलाकारको हिसाबले म त्यस्तो चुजी बन्न मिल्दैन र बनेको पनि छैन जस्तो लाग्छ । तर, फरक फरक भूमिकामा मेरो रुचि रहँदै आएको छ ।

अहिले सक्रिय विधामध्ये कुनमा तपाईँलाई बढी खुसी मिल्छ ?

लेखन, अभिनय, निर्देशनलगायतका विद्यामा म क्रियाशील छु । यी तीन विद्यामध्ये लेखनमा मलाई बढी सन्तुष्टि मिल्छ । 

तपाईँ आम दर्शकले अभिनेता, निर्देशक, लेखक वा अन्य के भनेर चिन्ने ?

जजसले जसरी चिन्नु हुन्छ, म त्यसमा खुसी छु ।

फिल्म निर्देशन पुग्यो कि अर्को तयारीमा हुनुहुन्छ ?

 म जीवनमा केही कुरामा पनि बिट मारेर बस्दिन । सधैँ खुला छु । निर्देशनमा फेरि पनि देखिन्छु ।

तपाईँको निर्देशन रहेको फिल्म ‘पानीफोटो’ सोचेजस्तो भएन नि ?

फिल्म मैले सोचेजस्तो भयो, दर्शकले सोचेजस्तो भएन । फरक यत्ति हो । म खुसी छु ।

कला क्षेत्रमा तपाईंले देखेको सपना के छ ?

सधैँभरि यही क्षेत्रमा काम गर्न पाऊँ ।

आगामी दिनको योजना ?

फरक फरक र उत्कृष्ट फिल्ममा काम गर्दै दर्शकको मन जितिरहने योजना छ ।

नेपाली फिल्मको सबैभन्दा कमजोर पाटो लेखन भनिन्छ । तपाईँ लेखक पनि हो, के भन्नु हुन्छ ?

– हाम्रो चलचित्र उद्योगको धेरै वर्ष बलिउडका फिल्म हुबहु कपी गरेर बित्यो, अहिले त्यो स्थिति छैन । त्यो भनेको हाम्रा कथाहरु हाम्रा फिल्ममा देखिन थालेका छन् । त्यो सकारात्मक कुरा हो । 

अनि फेरि लेखन त्यस्तो विधा होइन, जसलाई छु मन्तर गरेर आजको भोलि ठीक पार्न सकिन्छ । यो समयसँगै सुधारिँदै जान्छ र गइरहेको देखिरहेको छु ।

नेपाली फिल्मले ओस्कर जित्ने कहिले त ?

– राम्रा फिल्मले पुरस्कार जित्नैपर्छ भन्ने हुँदैन । तिनले पुरस्कार जिते पनि, नजिते पनि मान्छेको मनमा बसिरहन सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप