शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
उत्पादन

पानी हालेको दुध छ्यापप्छ्याप्ती, अनुगमन शून्य !

दुध उत्पादन नै बढी भएको हो कि खपत कम भएको हो ?
शुक्रबार, ०१ मङ्सिर २०८०, ०६ : १०
शुक्रबार, ०१ मङ्सिर २०८०

विराटनगर । देशभरि दुध तथा दुग्धजन्य वस्तुको बिक्री कम भएको उत्पादकहरू बताउँछन् । साना तथा ठुला डेरी उद्योगहरुमा दुग्धजन्य वस्तु घिउ, पाउडर, पनिर स्टकमा रहे पनि बिक्री हुन सकेको छैन । जसले गर्दा उद्योगीहरु समस्यामा छन् ।

तीजमा भन्दा दसैँ र तिहारमा घिउ बिक्री केही बढेको व्यवसायीहरु बताउँछन् । तर, स्टकमा रहेको मालको खपत भने २५ प्रतिशतमात्रै भयो । छठसम्ममा केही बिक्री हुने व्यवसायीको अपेक्षा भए पनि आफूहरू घाटामा पर्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

कोशी प्रदेशका दुग्ध व्यवसायीहरू बजार खोज्दै बंगलादेशसम्म पुगेका छन् । तर, उक्त कदमले पनि हालसम्म सार्थकता पाउन सकेको छैन । खासमा दुध बढेको हो कि खपत घटेको हो ? यस विषयमा किसान तथा डेरी उद्योगी व्यवसायी, साना सहकारीहरुमा चासो बढेको छ ।

भारतबाट आयात

२०७९ चैत महिनादेखि नेपालमा दुधको मूल्य बढ्यो । मूल्य बढेसँगै नेपालको सीमावर्ती क्षेत्रबाट भारत निर्यात हुने दुध ठप्प भयो । झापा, मोरङ र सुनसरीबाट दुध तथा दुग्धजन्य वस्तुहरु घिउ र पनिर भारतको सीमावर्ती बजारमा जाने गर्दथ्यो । त्यसरी भारतमा दैनिक सरदर ३ हजारदेखि ३ हजार ५ सय लिटरसम्म दुध निर्यात हुने गरेको व्यवसायी राजकुमार खनाल बताउँछन् ।

उनी आफैँ पनि भारततिर दुध निर्यात गर्दथे । तर, अहिले ठप्प भएको उनी सुनाउँछन् । दुध निर्यात ठप्पमात्रै भएन, बरु, त्यतिनै परिमाणको दुध नेपालका सीमाक्षेत्रका बजारमा भारतबाटै आउन थाल्यो । जसका कारण दैनिक ६ हजारदेखि ७ हजार लिटर दुध नेपाली बजारमा बढी भयो ।

एकातिर दुध उत्पादन बढ्नु, दुधको मूल्य बढ्नु र भारतबाटै सस्तोमा दुध आउन थाल्दा नेपालको दुध बढी हुनु स्वाभाविक थियो ।

milk2

बजारमा दुध बढ्नुको अर्को कारण पनि छ । बजारमा दुधको मूल्य बढ्नु अगाडि कोशी प्रदेशका डेरी उद्योगहरुले पर्याप्त दुध संकलन गरेर पाउडर बनाए । उनीहरुले त्यही बेला घिउ, पनिर पनि पर्याप्त बनाए । दुधको मूल्य बढेपछि पाउडर घोलेर बेच्ने तथा घिउ र पनिर बेच्ने उनीहरुको तयारी थियो । बजारमा उनीहरुले सोचे अनुसार जेठ, असारमा पनि दुध उत्पादन घटेन । त्यसपछि ठूला डेरी उद्योगहरुले सानातिना कलेक्सन सेन्टरहरुमा मिल्क होलिडे कामय गरे ।

साना कलेक्सन सेन्टरहरुले भने आफैँ मोटरसाइकलमा वा गाडीमा बोकेर ल्याएर विराटनगर, धरान, इटहरी, विर्तामोड, दमकजस्ता बजारमा दुध बिक्री गर्न थाले । उनीहरुले ल्याएको दुधमा केही पानीको मात्रा पनि बढ्यो । बजारमा दुधको मूल्य पनि प्याकेजिङ दुधभन्दा सस्तो भयो । अनुगमन भएन । जसका कारण दुध बढी भएको डेरी पसल सञ्चालकहरु बताउँछन् ।

‘त्यसरी बिक्री हुँदा न्यूनतम गुणस्तर कायम भएन । विराटनगर महानगरमै बिना दर्ता सयौँको संख्यामा दुधका गाडी कहाँबाट आउँछन्, कति कारोबार गर्छन्, अभिलेख राखेर करको दायरामा ल्याउने कुनै तयारी स्थानीय सरकारले पनि गरेन,’ एक डेरी सञ्चालक भन्छन्, ‘खुला दुधमा उपभोक्ताको रुचि छ । तर, यसलाई निश्चित मापदण्ड बनाई पसल सञ्चालन गर्ने वातावरण बनेको छैन ।’

अहिले कुनै पनि मापदण्डको पालना नभएको उनको भनाइ छ । अनुगमन नभएपछि बिक्री गर्नेले मनोमानी गरिरहेको र बालबालिका तथा बुढाबुढीले विषाक्त दुध खाइरहेको उनले बताए ।

तराईको दुध छुर्पीका लागि इलाम पठाइयो, छुर्पी विदेश

बिक्री हुन छोडेपछि मोरङका केही डेरी उद्योगले इलाममा छुर्पी बनाउन दुध पठाएको बताएका छन् । मोरङ कानेपोखरीको नवदुर्गा डेरी उद्योगका सञ्चालक राजकुमार खनालले केही दिनका लागि छुर्पी बनाउन दुध इलाम पठाएको बताए ।

यद्यपि त्यहाँका छुर्पी उद्योगले निरन्तर दुध लैजान नसकेको उनको भनाइ छ । नेपालको छुर्पी विदेश निर्यात हुने गरेको छ । छुर्पीको निर्यात भने बढ्दै गएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७९-०८० मा १७ लाख ८६ हजार ११२ किलोग्राम छुर्पी विदेश निर्यात भएको थियो । जसबाट नेपालमा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ भित्रिएको थियो ।

नेपालबाट क्यानडा, हङकङ, अमेरिका, बेलायत, सिंगापुरलगायतका मुलुकमा कुकुरको खानाको रुपमा छुर्पी निर्यात हुने गरेको छ ।

आर्थिक वर्ष २०७९-८० को असोज महिनासम्ममा ३ लाख १९ हजार ५१२ किलोग्राम छुर्पी निर्यात भएको छ । जसको मूल्य ५५ करोड ६८ लाख ३२ हजार हुन्छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा छुर्पीको निर्यात बढेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा छुर्पी ३ लाख ७४ हजार ५५३ किलोग्राम अर्थात् ७६ करोड ११ लाख ६ हजार रुपैयाँको निर्यात भएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा पनि २ अर्ब ९१ करोड १९ लाख ३९ हजार मूल्य बराबरको १७ लाख ५५ हजार ४५१ किलोग्राम छुर्पी निर्यात भएको थियो ।

नेपालबाट क्यानडा, हङकङ, अमेरिका, बेलायत, सिंगापुरलगायतका मुलुकमा कुकुरको खानाको रुपमा छुर्पी निर्यात हुने गरेको छ ।

मूल्य घटाउने निर्णयले खपत बढाउला ?

यसैबिच बजारमा दुध बिक्री हुन छाडेपछि कोशी प्रदेश डेरी उद्योग संघले दुधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै दही, पनिर र नौनी घिउको बिक्री मूल्य पनि घटाउने निर्णय गरेको हो ।

कोशी प्रदेशका ठुला विभिन्न ८ वटा डेरी उद्योग आबद्ध संघको बैठक कार्तिक २३ गते विराटनगरमा बसेको थियो । उक्त बैठकले किसानको दुधको बजार सुनिश्चितता गर्न तथा हाल दुधको उत्पादन बढी भएको समयमा उपभोक्तालाई समेत राहत प्रदान गर्ने उद्देश्यले कार्तिक २६ गतेदेखि लागू हुने गरी मूल्य घटाएको हो ।

घटाएको मूल्य अनुसार अब उपभोक्ताले स्ट्याण्डर दुध आधा लिटरको मूल्य ४५, लो फ्याट मिल्क आधा लिटरको ३५, दही २ सय मिलीलिटरको ३५, आधा लिटरको दही ८०, एक लिटर दहीको १५०, पनिरको प्रतिकेजी ७८० र नौनी घिउ प्रतिकेजी ८ सय रुपैयाँमा पाउने भएका छन् ।

कोशी प्रदेशमा दुध उत्पादन बढेर बजारमा बिक्री नहुँदा दुध उत्पादक किसानहरु ‘मिल्क होलिडे’को मारमा छन् । प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दुध उत्पादन हुने तथ्याङ्कमा उल्लेख छ ।

उक्त मूल्य अनुसार मंसिर १ गतेदेखि सबै डेरी उद्योगले बिक्री वितरण गर्ने जनाइएको छ । केहीले भने गत आइतबारबाटै उक्त मूल्यमा दुध तथा दुग्धजन्य वस्तुको बिक्री वितरण सुरु गरेका छन् ।

कोशी प्रदेशमा एनएमसी डेरी उद्योग, कामधेनु दुग्ध विकास संहकारी संस्था लि., रितिका डेरी उद्योग, सूर्योदय मिल्क एण्ड वेभरेज इ. प्रा.लि., गोरस डेरी प्रा.लि., जीवन विकास डेरी, मदानी मिल्क हाउस र शिवम डेरी एण्ड फुड इन्डष्ट्रिज प्रा.लि.लगायत ठुला डेरी उद्योग छन् ।

कोशी प्रदेशमा दुध उत्पादन बढेर बजारमा बिक्री नहुँदा दुध उत्पादक किसानहरु ‘मिल्क होलिडे’को मारमा छन् । अघिल्लो आर्थिक वर्षको तथ्याङ्क अनुसार कोशी प्रदेशमा दुध दिने गाईको संख्या ५ लाख १० हजार ३२ छ भने भैंसीको संख्या २ लाख ८७ हजार ९६८ छ । प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दुध उत्पादन हुने तथ्याङ्कमा उल्लेख छ ।

प्रतिव्यक्ति उपलब्धता वार्षिक ९२ लिटर छ भने आवश्यकता ७१ लिटरमात्रै हो । उक्त तथ्याङ्क अनुसार पनि कोशी प्रदेशमा दुध उत्पादन आवश्यकता भन्दा बढी छ । कोशी प्रदेशमा अहिलेको सिजनमा उत्पादन भएको दुधमध्ये १ लाख ५० हजार लिटर दुध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो । तर, अहिले औपचारिक क्षेत्रमा झण्डै २ लाख ५० हजार लिटरभन्दा बढी दुध संकलन भइरहेको डेरी उद्योगहरु बताउँछन् ।

कोशी प्रदेशमा दुध उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रतिलिटर २ रुपैयाँको दरले नगद अनुदान दिने नीति लिएका कारण पनि उत्पादन बढेको व्यवसायीहरुले बताएका छन् । यद्यपि मूल्य घटाएर दुध बिक्री गर्न थालेका कारण केही खपत बढ्ने उनीहरुको अपेक्षा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप