बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

वीरगन्ज भन्सारको राजस्व सङ्कलन सकारात्मक दिशामा

नयाँ आर्थिक वर्ष सुरु भएपछि ४ सय वटा नयाँ सवारी साधन आयात
शुक्रबार, ०१ मङ्सिर २०८०, ०८ : ४९
शुक्रबार, ०१ मङ्सिर २०८०

पर्सा । मुलुकको मुख्य भन्सार नाका वीरगन्ज भन्सार कार्यालयमा राजस्व सङ्कलनमा सुधार आएको छ । चालु आर्थिक वर्षको ४ महिनामा राजस्व सङ्कलन ७० प्रतिशत भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।  

चालु आर्थिक वर्षको साउन महिनामा वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलन लक्ष्य १५ अर्ब ६२ करोड रहेकोमा ११ अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ । भदौ महिनामा १९ अर्ब ३८ करोड राजस्व असुली गर्ने लक्ष्य रहेकोमा १२ अर्ब ७१ करोड राजस्व सङ्कलन भएको छ । असोज महिनामा २१ अर्ब ८४ करोड लक्ष्य रहेकोमा १४ अर्ब २७ करोड राजस्व सङ्कलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ  ।

गत आर्थिक वर्षको पहिलो ३ महिनामा ३९ अर्ब राजस्व असुली भएकोमा यस वर्ष कात्तिकको तेस्रो सातासम्म ४५ अर्ब राजस्व सङ्कलन भइसकेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म ७७ अर्ब राजस्व उठाउने लक्ष्य रहेकोमा करिब ७० प्रतिशत राजस्व सङ्कलन भइसकेको भन्सार प्रमुख डिलाराम पन्थीले जनाएका छन् । 

चालु आवको पहिलो महिनामा ७६ प्रतिशत, भदौ महिनामा ६६ प्रतिशत र असोज महिनामा ६६ प्रतिशत राजस्व सङ्कलन भएको छ भने कात्तिक महिनाको अन्तिम तथ्याकं भने आउन बाँकी रहेको भन्सार कार्यालयले जनाएको छ । 

वीरगन्ज भन्सार प्रमुख पन्थीले गत आर्थिक वर्षको पहिलो ३ महिनाको तुलनामा चालु आवमा राजस्व सङ्कलन सुधार हुँदै गएको बताएका छन् । ‘अव सुधारको सङ्केत देखिएको छ भन्ने हामी अनुमान गर्न सक्छौ, गत वर्ष भदौबाट सुरु भएर असोजमा राजस्व सङ्कलन नेगेटिभ भएको थियो,सवारी साधनको आयात घटेको थियो, अहिले राजस्व सङ्कलन पनि सकारात्मक दिशामा गएको छ,सवारी साधनको जाँच पास गर्ने क्रम बढेको छ’ भन्सार प्रमुख पन्थीले भने ‘चाडपर्वको कारण यस्तो भएको हो कि साँच्चै यस्तो हो भन्ने यकिन गर्नका लागि अझै एक महिना कुर्नुपर्ने हुन्छ’

bi4

वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनको मुख्य श्रोत सवारी साधनको जाँच पास, पेट्रोलियम पदार्थको आयात र उद्योगका लागि आवश्यक कच्चा पदार्थ नै हो । सवारी साधनमा सरकारले २ सय प्रतिशत सम्म मूल्य अभिवृद्धि कर लगाएको छ । पछिल्लो समय मुलुकमा देखिएको आर्थिक मन्दीका कारण गत वर्ष सवारी साधनको आयात ठप्प प्राय थियो भने चालु आर्थिकमा ४ सय सवारी साधनको जाँच पास भएको भन्सार प्रमुख पन्थीले जनाएका छन् । 

चालु आर्थिक वर्षको ४ महिनामा विकास निमार्णको काम सुरु नभएकोले पेट्रोलियम पदार्थको खपत भने सन्तोषजनक देखिएको छैन । 

bi2

राजस्व सङ्कलन तेस्रो मुख्य श्रोत उद्योगका लागि आवश्यक कच्चा पदार्थ हो जुन आधाले घटेको भन्सार कार्यालयले जनाएको छ । ‘उद्योगीहरूले ३ सिफ्टमा चल्ने उद्योग एक सिफ्टमा जेनतेन चलाएका छौ भन्नु भएको छ, केही उद्योगहरूले बैंकलाई देखाउन मात्रै पनि उद्योग सञ्चालन गरेको देखिएको छ’ पन्थीले भने ‘उद्योगका कच्चा पदार्थको आयात घट्नु भनेको हाम्रो बजारमा  समस्या छ, माग कमजोर भएको छ भन्ने देखिन्छ, यसले आर्थिक मन्दी छ भनेर देखाएको छ हामीले स्विकार्नु पर्छ ।’

मङ्सिर पछि विकास निमार्णका काम सुरु हुने र पेट्रोलियम पदार्थको खपत केही बढ्ने अपेक्षा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप