बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पटक–पटक किन हुन्छ नेपाली फिल्मको शो विवाद ?

निर्माता भन्छन्–हलवालाले हामीलाई हेपे, हलवाला भन्छन्– व्यावसायिक प्रतिस्पर्धा हो
शुक्रबार, ०१ मङ्सिर २०८०, २१ : ४५
शुक्रबार, ०१ मङ्सिर २०८०

काठमाडौँ । हलले शो कम दिएको र सेयर बाँडफाँडको विषयप्रति असहमति जनाउँदै फिल्म ‘दिमाग खराब’ युनिटले केही दिन अगाडि फिल्म रोक्ने घोषणा नै गर्‍यो । ‘दिमाग खराब’को शो घटाएर हिन्दी फिल्म ‘टाइगर ३’लाई दिएको आरोपसहित निर्माण युनिटले समान व्यवहारको माग समेत गरेको थियो ।

जबसम्म विदेशी फिल्म र नेपाली फिल्मलाई बराबरी शो प्रदान गरिँदैन तथा फिल्म प्रदर्शन हुन्जेल बराबरी सेयर बाँडफाँड हुँदैन तबसम्म नेपालमा दिमाग खराबको प्रदर्शन रोक्ने फिल्म युनिटले घोषणा गरेको थियो । ‘दिमाग खराब’को घोषणामा धेरै निर्माता निर्देशकले ऐक्यबद्धता जनाए ।

यसै विषयलाई लिएर नेपाल चलचित्र निर्माताहरूको छाता सङ्गठन चलचित्र निर्माता सङ्घले नेपाली फिल्मको प्रदर्शनमा असमान व्यवहार जारी रहे आन्दोलन गर्ने चेतावनी समेत दियो । सङ्घले नेपाली फिल्म निर्माताको अस्तित्व रक्षार्थ नेपाली र विदेशी लगायतको कुनै पनि भाषाका फिल्म चल्न नदिने चेतावनी समेत दिएको थियो ।

तर, बिहीबार साँझ फिल्म ‘दिमाग खराब’ निर्माण कम्पनी सिनेमा आर्ट्स र हलवालाहरूको साझा संस्था चलचित्र सङ्घबिचको छलफलले फिल्मको प्रदर्शन जारी राख्ने र शेयर बाँडफाँडको विषयमा आगामी मङ्गलवार छलफल गर्ने भन्दै विवाद समाधान गर्‍यो ।

गत वर्षको भदौमा पनि फिल्म ‘राधा’को ‘दिमाग खराब’ झैँ शो विवाद निम्तिएको थियो । ‘राधा’ युनिटले प्राइम टाइम र पर्याप्त शो उपलब्ध नगराएको भन्दै प्रदर्शन भएको केही दिनमै हलबाट फिल्म उतारेको थियो ।

यी केही उदाहरण मात्र हुन् । शो सङ्ख्या र शेयर बाँडफाँडको विषयमा निर्माता र हलवालाबिच पहिले देखिनै यस्ता लफडा चल्दै आएका छन् । विवादमा एकले अर्कोलाई दोष थुपार्ने प्रवृत्ति कायम छ । तर दीर्घकालीन समाधानको प्रभावकारी बाटो भने खोजिँदैन । उल्टै नेपाली फिल्मका निर्माता हिन्दी फिल्मका वितरक र हलवालाको टाउको सबै दोष थुपार्छन्, भने हलवाला र वितरक नेपाली फिल्मका निर्मातालाई । कतिपय अवस्थामा निर्माता आफ्नो फिल्म नचलेपछि पनि शो विवाद निकाल्ने समेत गरेका छन् । 

हिन्दी फिल्मका वितरकले हललाई थर्काउँछन् 

नबल खड्का, चलचित्र निर्माता नेपालका अध्यक्ष

nawal khadka (1)

नेपालमा हिन्दी फिल्म मोटो रकममा भित्रिँदै आएको छ । जसलाई भित्र्याउने काम हिन्दी फिल्मका वितरक र हलवालाले गर्ने गरेका छन् । यस्तो अवस्थामा हिन्दी फिल्म डुब्यो उनीहरूको लगानी डुब्छ । फिल्ममा परेको लगानी उठाउन उनीहरूले हललाई थर्काएर शो बढी निकाल्ने समेत गर्छन् । शो बढी भए लगानी उठ्छ र नाफा पनि हुन्छ ।

नेपाली निर्माताको फिल्म त हलवालाले कमिसनमा चलाउने हो । नेपाली निर्माता डुब्दा उनीहरूको कमिसन मात्र डुब्ने हो । नेपाली फिल्ममा उनीहरूको कुनै पनि प्रकारको आर्थिक भार हुँदैन ।

अर्का कुरो हिन्दी फिल्मका वितरकले हलवालाई यो फिल्मलाई शो राम्रो दिइनस् भने अर्को फिल्म दिन्न भनेर समेत थर्काउँदा रहेछन् । त्यही कारणले हलवालाले नेपाली फिल्मलाई कम शो दिने गरेका छन् । नेपाली फिल्मलाई कम शो दिएपछि फिल्म चल्दैन र निर्माताको लगानी डुब्छ । लगानी जोखिम भएपछि विवाद त निम्तिहाल्छ ।

नेपाली फिल्मबाटै फाइदा छ 

नरेन्द्र महर्जन, नेपाल चलचित्र संघका महासचिव

narandra marjan (1)

सधैँ हामीलाई हिन्दी फिल्मलाई पक्षपोषण गरेको र नेपाली फिल्मलाई हेला गरेको आरोप लाग्छ । त्यो गलत हो । हामीले जुन फिल्मले राम्रो व्यवसाय गर्छ । त्यो फिल्मलाई प्राथमिकता दिने गर्छौँ ।

हामी हलवालाई हिन्दी फिल्म भन्दा नेपाली फिल्म चलेको राम्रो हो । यो कुरो सबैले बुझ्नुपर्छ । किनभने हिन्दी भन्दा नेपाली फिल्म चल्दा साढे सात प्रतिशत फाइदा हामीलाई हुन्छ । नेपाली फिल्म चलाउँदा भन्दा हिन्दी फिल्म चलाउँदा हामीले साढे सात प्रतिशत कर तिर्नुपर्छ । त्यो हिसाबले पनि हामी नेपाली फिल्म चलोस् भन्ने सोच्छौँ । 

हामी नेपाली फिल्म चलोस् भनेर किन पनि चाहन्छौँ भने हिन्दी फिल्म किनेर ल्याउनुपर्‍यो । त्यसमा पैसा धेरै पर्छ । फिल्म फ्लप भयो घाटा आफैलाई हो ।

नेपाली फिल्म त किन्नु पर्दैन । व्यवसाय गरेको बाँड्ने हो । यस्ता धेरै कुरो छ । जसले गर्दा हामी नेपाली फिल्म चलोस् भन्छौँ । आजसम्मको समग्रमा व्यवसाय हेर्ने हो भने नेपाली फिल्मको व्यवसाय राम्रो छ । हिन्दी फिल्म पनि सबै चल्ने होइन । एक शोमा उत्रिएको हिन्दी फिल्म पनि छ ।

व्यवसायको प्रतिशत बाँडफाँटको विषयमा बेलाबेलामा छलफल र परिमार्जन हुँदै आएको छ । फिल्म निर्माण भएन भने हामी के काम र हामी भएनौ भने निर्माण भएको फिल्म के काम ? त्यसैले हामीलाई गाली गर्नु गलत हो ।  

हलको शोमा हाम्रो हात छैन

मनोज राठी, हिन्दी फिल्मका बितरक

manoj rathi (1)

हिन्दी र नेपाली फिल्मलाई यति शो भनेर हामी वितरकले कहिल्यै भन्ने गरेका छैनौँ, भन्न मिल्दैन पनि । शो धेरै दिने र कम दिने विषयमा हाम्रो कुनै हात छैन । फिल्मको व्यवसाय अनुसार हलले शो घटाउने र बढाउने गर्छ ।

फिल्म हल करोडौँ लगानी गरेर व्यवसाय गर्न खुलेको हो । त्यसैले उसले जुन फिल्मको व्यवसाय राम्रो हुन्छ । त्यसको शो बढाउदै जान्छन् । जुन नराम्रो हुन्छ  । त्यसको  घटाउँदै जान्छ । यो व्यावसायिक प्रतिस्पर्धा सामान्य प्रक्रिया हो । 

हलले शो दिनेका लागि कसैको कुरो सुन्दैन । नेपाली फिल्मका निर्माताहरू जहिले पनि हामीले गर्दा शो दिएन भन्ने गर्छन् । त्यो मानसिकता दिमागबाट अव हटाए हुन्छ । हलले कयौँ हिन्दी फिल्मलाई शो नदिएको अवस्था छ । विगतमा फर्किएर हेर्दा त्यो रेकर्ड देख्न सकिन्छ । 

‘कबड्डी’लाई एक सय बिस, पच्चिस शो क्युएफएक्सले दिएको थियो । कतिपय हिन्दी फिल्म लागेको दिनमै उत्रिएको पनि छ । नेपाली निर्माताहरू आफूलाई अप्ठ्यारो पर्दा कराउने र अरूलाई पर्दा आनन्द लिनेछन् । त्यसले गर्दा बेलाबेलामा यस्तो लफडा निम्तिने गरेको हो । नेपाली फिल्मले १० करोडसम्म हलबाट शेयर लगेको छ रेकर्ड छ । हिन्दी फिल्मले यति धेरै शेयर अहिलेसम्म कसले लगेको छ र ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप