शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एकताको विषयमा नेसपामा दुई धार, पार्टी फुटको संघारमा

शनिबार, ०२ मङ्सिर २०८०, १३ : ४४
शनिबार, ०२ मङ्सिर २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले अब कम्युनिस्ट पार्टीसँग एकता नगर्ने स्पष्ट पारेका छन् । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार साँझ छलफल गर्ने क्रममा सो कुरा उनले स्पष्ट पारेका हुन् । 

भट्टराई साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यहाँबाट उनी करिब ६ बजे बाहिरिएका थिए । भट्टराईको सचिवालय अनुसार दुई नेताबिच जाजरकोट भूकम्प, समसामयिक राजनीतिक विषय र पार्टी एकताको विषयमा छलफल भएको थियो ।

यता बालुवाटार स्रोतका अनुसार मङ्सिर ७ गतेदेखि नेसपाको केन्द्रीय समितिको बैठक बस्न लागेकाले सो बैठकमा पार्टी एकताको बारेमा के हुन्छ भन्नेबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्डले अध्यक्ष भट्टराईलाई बोलाएर छलफल गरेका थिए । छलफलमा भट्टराईले कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीको आवश्यकता अब यो देशमा नरहेको कारणले आफ्नो पार्टीले माओवादी पार्टीसँग एकीकरण नगर्ने प्रस्ट पारेका थिए । स्रोतका अनुसार ‘कम्युनिस्ट पार्टीकै रूपमा पार्टी एकीकरण गर्ने भए नेकपा एमालेसहित सबै कम्युनिस्ट पार्टीलाई एक जुट बनाएर एकीकरण गरे भयो’ भन्ने कुरा प्रचण्डसमक्ष राखेका थिए ।

यसअघि कार्यकारिणी समितिको बैठकले नै माओवादीसँग पार्टी एकताको सम्भावना समाप्त भएको निर्णय भएको कुरा पनि अध्यक्ष भट्टराईले अध्यक्ष प्रचण्डसमक्ष राखेको स्रोतले जनाएको छ । 

यता माओवादी पार्टी एकीकरणका लागि माओवादी शब्द हटाउन पनि तयार भएको थियो । माओवादी केन्द्रको भदौ २५ गते बसेको पदाधिकारी बैठकले नेकपा साथमा कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिन सकिने कुराको जानकारी भदौ ३० गते नै नेसपालाई गराएको थियो ।

नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादवले माओवादी केन्द्र पार्टीको नाम परिवर्तन गर्न तयार भए पनि अध्यक्ष भट्टराई एकताको विपक्षमा गएको प्रति असन्तुष्टि व्यक्त गरे । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘हिजो बाबुरामजी र प्रचण्डजीको छलफल भएको थियो । सो छलफलमा बाबुरामजीले कम्युनिस्ट पार्टीसँग एकता नगर्ने भन्नु भएको कुरा मैले पनि सुनेको हुँ ।’

पार्टी एकताका लागि दुवैतर्फ वार्ता समिति गठन भएको र एकताको बारेमा ठोस निर्णय लिन मङ्सिर ७ गते केन्द्रीय समितिको बैठक बोलाएको हुँदा त्यसअघि नै एकताको बारेमा टुङ्गो लगाउन नहुने उनको जिकिर गरे । 

पार्टीको केन्द्रीय समितिको बैठकका माओवादी केन्द्रसँग एकताका लागि छलफल हुने बताउँदै उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले एकताका लागि इमान्दारीपूर्वक पहल गर्नुभएको छ, पार्टीको नाम परिवर्तन गर्न पनि तयार हुनुभएको छ । यो बेलामा हामी एकताबाट पछाडि हट्नु भनेको बेइमानी हुन्छ ।’

केन्द्रीय समितिको बहुमतबाट एकताका लागि निर्णय हुने र माओवादीसँग एकता हुने अध्यक्ष यादवले दाबी गरे । ‘नेसपामा अधिकांश नेता एकताका पक्षमा रहेका छन्,’ उनले भने । 

अध्यक्ष यादवको कुरालाई मान्ने हो भने नेसपा विभाजनको संघारमा पुगिसकेको छ । बाबुराम भट्टराई एकताको पक्षमा छैनन् भने महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठलगायतका नेताहरू एकताका लागि प्रयास गरिरहेका छन् । 

यता माओवादी केन्द्रका नेताहरू पनि नेसपासँग चाँडै एकता हुने दाबी गर्छन् । यस विषयमा भोलि नै वार्ता हुन सक्ने उनीहरूको जिकिर छ । तर, उनीहरूले समय भने स्पष्ट पारेनन् । 

यस विषयमा नेसपाकी नेतृ हिसिला यमीसँग सम्पर्क गर्दा उनले यस विषयमा अध्यक्ष भट्टराईसँग नै कुरा गर्न भनिन् । अध्यक्ष भट्टराईसँग भने सम्पर्क हुन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप