सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
बीमाको व्यापार

११ बीमा कम्पनीको तीन महिनाको नाफा १ अर्ब ४८ करोड

कुन कम्पनीले कति कमाए ?
आइतबार, ०३ मङ्सिर २०८०, १७ : २१
आइतबार, ०३ मङ्सिर २०८०

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ११ जीवन बीमा कम्पनीले झन्डै साढे १ अर्ब रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् ।

 हिमालयन लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, सिटिजन्स् लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशनसहित ११ जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब ४८ करोड ५० लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । उक्त नाफा अघिल्लो वर्षको भन्दा ३०.५४ प्रतिशतले बढी हो । 

आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा कम्पनीहरूले १ अर्ब १३ करोड ७५ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । 

समीक्षा अवधिमा बीमा कम्पनीहरूको बीमा शुल्क, कर्जा लगानी र सो बापतको ब्याज आम्दानी, लगायत विविध शुल्कहरू वृद्धि भएसँगै यता मुनाफा बढ्न गएको हो । आर्थिक वर्षको तीन महिनाको तथ्याङ्क अनुसार सबै जीवन बीमा कम्पनीहरूको नाफा वृद्धि भएको छ । 

कुन कम्पनीको नाफा कति ?

तथ्याङ्क अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउने जीवन बीमा कम्पनीको शीर्ष स्थानमा हिमालयन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनी आर्थिक वर्षको असोज मसान्तसम्म ३५.३८ प्रतिशतले नाफा वृद्धि गर्दै २४ करोड १३ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ८३ लाख १६ हजार रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीले यस अवधिमा बीमा शुल्क आर्जन ११ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब २२ करोड ७२ लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ३ अर्ब ८० करोड ६० लाख ७४ हजार रुपैयाँ रहेको थियो । 

यसैगरी एसियन लाइफ इन्स्योरेन्सले १६ करोड ६१ लाख ६६ हजार रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थानमा एसियन लाइफ इन्स्योरेन्स रहन सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा यस वर्षको असोज मसान्तसम्मको आर्थिक कारोबारबाट १४.९६ प्रतिशत नाफा आर्जन गर्न सफल भएको हो । आर्थिक वर्ष २०७९/८० को असोज मसान्तसम्ममा कम्पनीले १४ करोड ४५ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

यस्तै, समीक्षा अवधिमा १६ करोड ५३ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ भने १५ करोड ७९ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गर्ने नेपाल लाइफ इन्स्योरेन्स चौथो र १३ करोड २१ लाख ३ हजार रुपैयाँ नाफा कमाउने सूर्यज्योति लाइफ इन्स्योरेन्स पाँचौँ स्थानमा रहेको छ । 

यस्तो छ कम्पनीहरुको नाफा नोक्सान तथ्याङ्क (अंक हजारमा)

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप