बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ओपनएआईका ५०५ कर्मचारीले दिए राजीनामाको धम्की

मङ्गलबार, ०५ मङ्सिर २०८०, १० : ४०
मङ्गलबार, ०५ मङ्सिर २०८०

क्यालिफोर्निया । गएका केही दिनयता ओपनएआई हेडलाइनमा छाइरहेको छ । कम्पनीको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकारी (सीईओ) स्याम अल्टम्यानलाई बर्खास्त गरेयता कम्पनीमा  व्यापक उथलपुथल भइरहेको छ । शीर्ष कर्मचारीहरूले राजीनामा दिए । 

अन्य सयौँ कर्मचारीहरूले पनि राजीनामा दिने धम्की दिइरहेका छन् । सप्ताहान्तमा अल्टम्यानलाई बर्खास्त गरिएको थियो । उनी कम्पनीमा फर्किने अड्कलबाजी चलिरहँदा माइक्रोसफ्ट अल्टम्यानलाई लग्यो ।

आफूले पाएको एक पत्रका अनुसार ओपनएआईका ५०० भन्दा धेरै कर्मचारीहरूले कम्पनीको सञ्चालक समितिले अल्टम्यानको बर्खास्तीलाई राम्रोसँग ह्यान्डल नगरेको आरोप लगाएको भन्दै सीएनएनले एउटा समाचार छापेको छ । समाचारका अनुसार उनीमाथि विश्वास गर्न नसकिने पर्याप्त आधारहरू देखाउन नसकेको र कम्पनीको कार्यकारी नेतृत्वको लागि अल्टम्यानको पुनरागमनसम्बन्धी वार्तामा पनि लापरबाही गरेको आरोप पनि पत्रमा छ । सञ्चालक समितिको व्यवहारले समितिका सदस्यहरू ओपनएआईको पर्यवेक्षणका लागि असमक्ष भएको स्पष्ट देखिएको आरोप पत्रमा लगाइएको छ ।

योग्यता नभएका, निर्णय क्षमता कमजोर रहेका अनि आफ्नो मिसन र कर्मचारीको ख्यालै नराख्ने मानिसहरूसँग आफूहरूले काम गर्न नसक्ने पत्रमा कर्मचारीहरूले भनेका छन् । सञ्चालक समितिले राजीनामा दिएर अल्टम्यान र कम्पनीका सह–संस्थापक ग्रेग ब्रोकम्यानलाई कम्पनीमा फिर्ता नल्याएमा आफूहरू पनि उनीहरूलाई पछ्याउँदै माइक्रोसफ्टमा जाने धम्की कर्मचारीहरूले दिएका छन् ।

पत्रमा हस्ताक्षर गर्नेमा ओपनएआईले अल्टम्यानलाई बर्खास्त गरेपछि कम्पनीको अन्तरिम सीईओमा नियुक्त गरेको मिरा मुराती, कम्पनीकी सह–संस्थापक, प्रमुख वैज्ञानिक र सञ्चालक समितिको सदस्य समेत रहेकी इल्या सुत्सकेभर पनि छिन् । अल्टम्यानको बर्खास्तीमा सुत्सकेभरको पनि भूमिका रहेको समाचारहरू आएका थिए । सोमबार एक्समा एउटा पोस्टमा  सुत्सकेभरले आफ्नो कारण कम्पनीमा देखिएको नेतृत्व संकटका लागि माफी समेत मागेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप