सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा निर्माण विज्ञसहितको १३ टोली खटाउने

मङ्गलबार, ०५ मङ्सिर २०८०, १५ : ५०
मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा निर्माण विज्ञ, दक्ष मिस्त्री र सात जना स्वयंसेवकसहित १० जनाको टोली १३ समूहमा खटाउने भएको छ । 

मंगलबार कांग्रेस महामन्त्री गगनकुमार थापाको सभापतित्वमा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गर्न पार्टीको तर्फबाट श्रमदान गर्ने सम्बन्धी निर्णय गरेको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भूकम्प प्रभावित क्षेत्रका अति जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गरी सहयोग पुर्‍याउने उद्देश्यले श्रमदान गर्न यथाशीघ्र एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरी १०/१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय गरेको बताए । उक्त समूहहरुले एक हप्ता काम गरिसकेपछि क्रमिक रुपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिने विश्वकर्माको भनाइ छ । 

त्यस्तै कांग्रेसले श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सकहरु परिचालन गर्ने भएको छ ।

प्रभावित क्षेत्रमा पठन–पाठन सुचारु गर्न आवश्यक भौतिक तथा अन्य बन्दोबस्त मिलाउन नेपाल शिक्षक संघले सामूहिक रुपमा कार्य गर्नेछ  ।

प्रभावित क्षेत्रमा नेविसंघको आफ्नै खर्चमा हाल चार वटा अस्थायी विद्यालय र चाँडै दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने कांग्रेसले जनाएको छ । 

भूकम्प प्रभावित क्षेत्रका अस्थायी घर टहरा निर्माणमा श्रमदान गर्न जाने व्यक्ति र समूहले गर्ने काम कर्तव्य र कार्यक्षेत्रबारे आएका सुझावका आधारमा तयार गरिएको कार्यविधि पारित गरेको नेता विश्वकर्माले जनाएका छन् ।

cc1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप