आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व समुदायबाट गाजा बन्धक सम्झौता र युद्धविरामको स्वागत

बुधबार, ०६ मङ्सिर २०८०, २१ : ५२
बुधबार, ०६ मङ्सिर २०८०

पेरिस । इजरायल र हमासले गाजामा जारी भीषण युद्ध र बमबारी रोक्न र बन्धकहरूलाई मुक्त गर्न बुधबार भएको सम्झौताको घोषणालाई अमेरिका, बेलायत, जर्मनी र चीनलगायतका विश्व समुदायले स्वागत गरेका छन् ।

इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा परी करिब एक हजार २०० जनाको ज्यान जाने गरी भएको आक्रमणमा नवजात शिशुदेखि वृद्धवृद्धासम्मका करिब २४० जनालाई बन्धक बनाइएको थियो ।

इजरायलले गाजामा बमबारी अभियान र स्थलआक्रमणको साथ जवाफी कारबाही सुरु गरेको थियो । हमासको प्रभाव रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली कारबाहीमा बुधबारसम्म हजारौं महिला तथा बच्चाहरूसहित १४ हजार १०० व्यक्तिको मृत्यु भएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले कतार र इजिप्टका नेताहरूलाई सम्झौतामा पुग्न ‘महत्त्वपूर्ण नेतृत्व’ का लागि धन्यवाद दिएका छन् । 

“म असाधारण रूपमा खुसी छु कि यी मध्ये केही बहादुर आत्माहरूको यो सम्झौता पूर्ण रूपमा लागू भएपछि उनीहरूका परिवारसँग पुनर्मिलन हुनेछ,” बाइडेनले बन्धकहरूलाई सङ्केत गर्दै भने ।

बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले यो सम्झौतालाई ‘बन्धक बनाइएका परिवारलाई राहत प्रदान गर्ने र गाजामा मानवीय सङ्कटलाई सम्बोधन गर्ने दिशामा महत्त्वपूर्ण कदम’ भनेका छन् । 

जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले सम्झौताको स्वागत गर्दै यो सम्झौतालाई गाजाका जनताका लागि महत्त्वपूर्ण सहयोगका लागि प्रयोग गर्नुपर्ने बताइन् । 

जी–२० शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायल र प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकु समूह (हमास) बिच भएको सम्झौताको स्वागत गरेको बताए । 

प्रधानमन्त्री मोदीले आफूले ‘इजरायली बन्धक छुटाउने र गाजामा युद्धविराम गर्ने सम्झौताको स्वागत’ गरेको बताए । उनले भने, “जहाँ भएपनि युद्धका कारण सर्वसाधारणको मृत्यु हुनु निन्दनीय घटना हो ।”

चीनले सम्झौता मानवीय सङ्कटको दुर्दशालाई कम गर्न महत्त्वपूर्ण कदम भएको जनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्,''यसले मानवीय सङ्कटको दुर्दशा, द्वन्द्व र तनाव कम गर्न मद्दत गर्नेछ भन्ने बेइजिङले आशा गरेको छ ।”

क्रेमलिनले यस सम्झौतालाई ‘धेरै लामो समयपछि गाजाबाट प्राप्त पहिलो शुभ समाचार’ भनेको छ र ‘यस प्रकारका यसद्धविरामहरूको आधारमा मात्र दिगो समाधानमा भविष्यका प्रयासहरूको केही रूपरेखा कोर्न सकिने’ बताएको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले सम्झौताको स्वागत गर्दै यस कदमले प्यालेस्टिनी जनताको वैध अधिकारको प्रत्याभूति गर्न अन्तिम र दिगो समाधानमा पुग्ने इजिप्टको प्रयासलाई निरन्तरता दिने बताए ।-(रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप