बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानीमा आर्सेनिकको समस्या

बिहीबार, ०७ मङ्सिर २०८०, १५ : ५१
बिहीबार, ०७ मङ्सिर २०८०

खजुरा । बाँकेमा हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगञ्जले केही समयअघि गरेको परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिष्ट गोपाल रेग्मीले जानकारी दिए ।

उनका अनुसार बाँकेको डुडुवा गाउँपालिकामा हाते पम्पबाट आउने खानेपानीमा बढी आर्सेनिक देखिएको हो । जिल्लाका केही स्थानका खानेपानीमा क्याल्सियमको मात्रा पनि बढी देखिएको रेग्मीले बताए ।

“खानेपानीमा चुनको मात्रा बढी हुनेलाई क्याल्सियम धेरै भएको मानिने र चुनको मात्रा बढी हुँदा खानेपानीको पाइपसमेत जाम हुनसक्छ”, उनले भने, “कोहलपुरमा खानेपानीमा क्याल्सियमको मात्रा बढी देखिएको छ ।”

पानी परीक्षणका क्रममा केही स्थानका खानेपानीमा कोलिफर्मको मात्रा पनि देखिएको भन्दै शौचालय, गाईगोठ नजिक रहेका हाते पम्पबाट आउने खानेपानीमा कोलिफर्म देखिएका प्रयोगशालाले जनाएको छ । 

प्रयोगशालाले स्थलगत रुपमा खानेपानीका नमुना सङ्कलन गरी परीक्षण गरिरहेको जनाएको छ । हुम्ला, जुम्ला, डोल्पा र जाजरकोट क्षेत्रका खानेपानीको नमुना सङ्कलन गरी प्रयोगशालाले गुणस्तर परीक्षण गर्दै आएको रेग्मीले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, खानेपानी उपभोक्ता समिति, गैरसरकारी संस्थालगायतले सङ्कलन गरी ल्याएका नमुना पनि परीक्षण गर्ने गरिएको उनको भनाइ थियो ।

खानेपानीको गुणस्तर परीक्षणका लागि विभिन्न सीमा तयार गरी पानीमा हुने अमिलो वा टर्रोपना, विद्युतीय संवाहक, पानीको घुलित अवस्था, अमोनियालगायतका विषयको परीक्षण हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप